“मंसिरमा चुनाव पक्का”

Rambaranजनकपुर, १० वैशाख । राष्ट्रपति डा. रामवरण यादवले मुलुकका लागि संविधानसभा चुनाव अपरिहार्य भएको बताएका छन् । आगामी मंसिरमा चुनाव हुने पक्का भएको राष्ट्रपति डा. यादवको भनाइ छ ।

चुनावको मिति घोषणामा अन्योल भइरहेका बेला केही दिनका लागि सोमबार गृहनगर धनुषाको सपही पुगेका राष्ट्रपति डा. यादवले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा यस्तो बताएका हुन् । राष्ट्रपति डा. यादवले संविधानसभाबाट नयाँ संविधान बनेपछि मात्र देशमा अमनचयन कायम भई जनाधिकार सुनिश्चित हुने स्पष्ट पारे ।
उनले अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनलगायत विषयमा असन्तुष्ट नेकपा–माओवादीसहित राजनीतिक दललाई चुनावमा सहभागिताको वातावरण सरकारले बनाउनुपर्ने धारणा व्यक्त गरे । राष्ट्रपतिले भने, ‘असन्तुष्ट दलहरूसँग वार्ता सरकारले नै गर्नुपर्छ, मैले त समन्वयको काम मात्र गर्ने हो ।’ उनले चुनावको विकल्प नरहेकाले सबै दललाई समेटेर चुनाव गराउनुपर्ने बताए ।
चारदिने बसाइका लागि सपही आइपुगेका राष्ट्रपति डा. यादव सपही चोकबाट पैदल हिँडी सपही–९ स्थित आफ्नो घर गएका थिए । सपही चोकमा राष्ट्रपतिलाई गाउँलेले अबिर, माला, बाजागाजाले स्वागत गरेका थिए । निर्धारित समयभन्दा करिब पाँच घन्टा ढिलो आइपुगेका राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट महेन्द्रनगरस्थित सैनिक क्याम्पमा अवतरण गराएको थियो । राजधानीमा मौसम खराब भएका कारण उनको उडानमा ढिलाइ भएको थियो ।
१२ वैशाखसम्म उनी सपहीमा बस्ने कार्यक्रम छ । यस अवधिमा राष्ट्रपतिले सर्वसाधारणाई भेट दिने बताइएको छ । उहाँ बसेको सपही गाउँमा सशस्त्र, जनपद प्रहरी र सेनाद्वारा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
यसैबीच, राष्ट्रपति कार्यालयले राष्ट्रपति सोमबार गृहजिल्ला धनुषा प्रस्थान गरेको जनाएको छ । राष्ट्रपति सपही गाविसस्थित आºनो निवासमा केही दिन रहने उपसचिव हरिप्रसाद ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया