जबरजस्ती यौनधन्दामा लगाउनेलाई मात्र सार्वजनिक मुद्दा

काठमाडौं, ९ वैशाख । युवतीलाई जबरजस्ती यौनधन्दामा लगाउने गेस्टहाउस सञ्चालकविरुद्ध उजुरी नहालेपछि प्रहरीले सार्वजनिक मुद्दाअन्तर्गत कारबाही अघि बढाएको छ । यौनधन्दामा लगाइएका युवतीले उजुरी दिएको भए चेलीबेटी बेचबिखन तथा ज्यान मास्ने/बेच्नेविरुद्धको मुद्दा लाग्थ्यो । यसअन्तर्गत आरोपीलाई १० वर्षभन्दा धेरै कैद सजाय हुनसक्छ ।

प्रहरीले बिहीबार ठमेलको ज्याठास्थित होम गेस्ट हाउसका सञ्चालक कुपन्डोल लगन–२१ का ५५ वर्षीय तिराज खड्गी भनिने राज श्रेष्ठलाई पक्राउ गरेको थियो । गेस्ट हाउसबाट नौ युवतीसहित १० पुरुष पनि प्रहरीको फन्दामा परेका थिए । पक्राउ पर्नेमध्ये एक अस्कल कलेजका स्ववियु सभापित कमल बस्नेत पनि थिए । प्रहरीका अनुसार यौनक्रीडा गरिरहेका २१ देखि ६० वर्षका पुरुषलाई पक्राउ गरिएको थियो । युवतीहरू २१ देखि ३७ वर्ष उमेरका थिए ।
प्रहरीका अनुसार श्रेष्ठले ती युवतीलाई डेढ वर्षदेखि जबरजस्ती यौनधन्दामा लगाउँदै आएका थिए । धन्दामा लागेकामध्ये अधिकांशको पारिवारिक अवस्था नाजुक रहेको पाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थका अनुसार पक्राउ परेकामध्ये अधिकांश युवतीको पारिवारिक अवस्था बिग्रिएको छ । उनले भने, ‘पक्राउ परेका युवतीमध्ये कसैलाई श्रीमान्ले छाडेको भेटियो भने कसैको कोठामा सानो बच्चा छ । कसैलाई घरबाट निकालिएको भेटियो ।’ उनीहरूको यही मजबुरीलाई हतियार बनाएर श्रेष्ठले यौनधन्दा चलाउँदै आएको पाइएको उनले बताए ।
कायस्थका अनुसार श्रेष्ठले मजबुरीमा परेका युवतीको खोजी गर्छन्, त्यसैको फाइदा उठाउँदै जबरजस्ती यौनधन्दामा लगाउँछन् । धन्दामा प्रयोग गरिएका युवतीको अवस्थाबारे जानकारी भएपछि प्रहरीले उनीहरूलाई उजुरी हाल्न भनेको थियो । त्यसका लागि उनीहरूलाई हिरासतमै तीन दिनसम्म राखेर काउन्सिलिङसमेत गरिएको थियो । उनीहरूले उजुरी हाल्न नमानेपछि श्रेष्ठविरुद्ध सार्वजनिक मुद्दा मात्रै दर्ता गरियो । पक्राउ परेका युवती र पुरुषलाई त्यत्तिकै छाडियो । एसएपी कायस्थले भने, ‘धन्दामा जबरजस्ती नै लगाइएको भन्ने पीडित युवतीको बयानबाट प्रस्टै बुझियो । उजुरी हालन त भन्याँै, उनीहरू डराए । पछि उनीहरूले राजीखुसीसाथ धन्दामा संलग्न भएको पो भने । यसो भएपछि हामी के गर्न सक्छौँ । पीडित त सधँै पीडित नै हुने भए नि †’
एसएसपी कायस्थले गेस्ट हाउस सञ्चालक श्रेष्ठले वेश्यावृत्ति सञ्चालनका लागि गजबको काइदा अपनाएको पाइएको समेत बताए । भने, ‘युवती पहिल्यै कोठामा पुगरे बस्ने रहिछ । ग्राहक काउन्टरमा जाने रहेछन् । काउन्टरवालाले कोठाको चाबी दिएर सिधै माथि पठाउँदो रहेछ । ग्राहक कोठाभित्र प्रवेश गर्नासाथै बाहिरबाट चाबी लगाइँदो रहेछ । कोठामा चाबी मारेको देखिएपछि प्रहरीले थाहा नपाउने भयो नि । हामीले अधिकांशलाई त्यस्तै अवस्थाको कोठाबाट पक्राउ गर्‍यौँ ।’

प्रतिक्रिया