महिलावादी संस्थाबाटै हिंसापीडित महिला उपेक्षित

भैरहवा, ९ वैशाख । आधा आकाश ढाकेका महिला यो वा त्यो बहानामा हिंसाको सिकार भए भनेर महिलाहरूकै सहयोगका लागि तथा हिंसा पीडित महिलाको हकहितका लागि भनेर मुलुकमा थुप्रै संघसंस्था खुलेका छन् । दर्जनाँै सरकारी तथा गैर सरकारी संस्था विशेषत: महिलाहरूकै सामाजिक तथा व्यक्तिगत स्वतन्त्रताका लागि लडिरहेका छौँ भन्छन् तर त्यो केबल कागजमै सीमित भएको देखिएको छ ।

महिलाहरूको सहयोग लागि खोलिएका संघ संस्थामा धाउँदा रूपन्देहीकी एक महिला थप समस्यामा परेकी छन् । सिद्धार्थनगर नगरपालिका–४, उद्योगपुरी  बस्ने ३४ वर्षीया सीमा गुरूङले स्थानीय माइती नेपाल र जिल्ला प्रहरी कार्यालयस्थित महिला सेलमा सहयोग माग्न जाँदा उपेक्षित हुनुपरेको छ ।
उपेक्षित मात्रै होइन उल्टै धम्की खेप्नु परेको पीडित महिला गुरुङले पत्रकार सम्मेलन गरी बताइन् । उनले भनिन्, ‘मलगायत मेरा सहयोगी दिदीबहिनी प्रहरीको महिला सेलमा गयौँ । त्यहाँ हाम्रो निवेदन दर्ता त के हेर्ने कामसमेत भएन । उल्टै धम्काएर पठाउने काम भयो ।’ प्रहरीले निवेदन दर्ता नगरेपछि महिलाको सहयोगका लागि खोलिएका संस्था छन् भनेर आशा बोकेर भैरहवास्थित माइती नेपालमा जाँदा उनले ठूलो अपमान खेप्नु पर्‍यो ।
गहभरी आँसु पार्दै उनले भनिन्, ‘माइती नेपालमा आलटाल मात्रै भयो । धेरैचोटि धाएँ, तर त्यहाँ काम गर्नेहरूले ‘नियम कानुनको पछि नलाग्नुस्, कसरी हुन्छ यता उता गरेर मिल्नुस्’ भनेर टार्नु खोजे । माइती नेपाल हुनेखानेको मात्रै माइती रहेछ । हामी जस्ता गरिबका लागि होइनरहेछ ।’
सीमाले आफूलाई ललाइफकाई झुक्काई प्रेमजाल रची दाङ घरभई भैरहवामै ठेक्कापट्टा व्यवसाय गर्ने थिरबहादुर लामाले शारीरिक, मानासिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै लामा विरुद्ध जिप्रका रूपन्देहीमा निवेदन दिन गएकी थिइन् । तर, जिप्रका रूपन्देहीले निवेदन दर्ता गरी सहयोग गर्नुको साटो उपेक्षा गरेको सीमाको आरोप छ  । गत ०६९ माघ २ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीको महिला सेलमा आफू हिंसामा परेको भन्दै गुरुङले उजुरी दर्ता गर्न गएकी थिइन् । तर, उजुरी दर्ता भएन । यसरी उजुरी दर्ता नभएपछि पछिल्लोपटक चैत्रमा स्थानीय आमा समूह र स्थानीय महिलाको सहयोगमा जाँदा पनि प्रहरीले उनको उजुरी दर्ता गर्न नमानेको उनले बताइन् ।
दाङ जिल्ला चौलाही गाविस १ शान्तिनगर स्थायी घर भई रूपन्देहीको विभिन्न स्थानमा ठेक्कापट्टा गर्दै आएका वीरबहादुर भन्ने थिरबहादुर लामाले ०६६ सालमा आफूलाई विवाह गरी, पटकपटकको यौन सम्पर्कबाट गर्भाधारणसमेत गराएको, पटकपटक गरी दुई लाखसमेत लगेको तर समाजका अगाडि श्रीमती बनाएर घर लैजाउभन्दा मराणसन्न हुनेगरी कुटपिट गरी अलपत्र पारी भागेको भन्दै मुद्दा दर्ता गर्न जाँदा प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नमानेको बताइन् ।
उनले भनिन्, ‘मैले न्यायका लागि स्थानीय प्रहरी चौकी गल्लामन्डी र जिप्रका रूपन्देहीसम्म पुग्दा पनि न्याय पाइनँ । प्रहरी उल्टै लामाको पक्षमा बोल्छ, लामालाई नियन्त्रणमा लिए पनि छोडीदिए ।’ स्थानीय आमा समूहले समेत प्रहरीले सहयोग नगरेको बताएको छ । आमा समूहकी सदस्य रूपा मल्लले प्रहरीले मुद्दा दर्ता गर्न र लामालाई पक्राउ गर्न नमानेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया