जितेन्द्रलाई सिटीजन्स बैंक टेनिस उपाधि

Jitendra-Pariyar----Tennisकाठमाडौं, ८ वैशाख । लनटेनिसका नेपाल नम्बर एक खेलाडी जितेन्द्र परियारले सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित लनटेनिस कोर्टमा भएको पुरुष एकलतर्फको फाइनलमा परियारले सन्तोष खत्रीलाई सोझो सेटमा पराजित गरे । पहिलो सेट ६–० ले जितेका परियारले दोस्रो ६–२ ले हात पारे । उपाधिसँगै जितेन्द्रले नगद २० हजार रुपियाँ पनि जिते भने उपविजेता सन्तोषलाई १० हजार रुपियाँ प्राप्त भयो ।
३५ वर्षभन्दा माथिको एकल स्पर्धामा श्रीराम थापा पहिलो भए । उनले फाइनलमा राजेश क्षत्रीलाई २–६, ६–४ र १०–७ ले हराए । सुरुका दुई सेट दुवैले बाँडेपछि टाइब्रेकरमा पुगेको खेलमा विजयी हुँदै श्रीरामले १० हजार रुपियाँ हात पारे । सोही उमेर समूहको युगलतर्फ मनोज राणासँग मिलेर श्रीरामले उपाधि जिते । मनोज र श्रीरामको जोडीले कमल भन्डारी र महेश श्रेष्ठको जोडीलाई सोझो सेटमा ६–४ र ६– ४ ले पराजित गर्‍यो । विजेता जोडीले १० हजार र उपविजेता जोडीले ६ हजार रुपियाँ प्राप्त गरे । ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ कृष्णराज घले पहिलो भए । फाइनलमा उनले प्रताप मोक्तानलाई ६–२ र ६–१ ले हराएका हुन् । सोही समूहको युगलतर्फ कृष्णराज घलेले सूवर्ण धाख्वासँग मिलेर उपाधि जिते । कृष्णराज र सुवर्णको जोडीले चन्द्र शाही र दिनेश तुलाधरको जोडीलाई ६–४ र ६–४ ले हरायो ।
५५ वर्षमाथि उमेर समूहको एकलतर्फ दार्जिलिङका देउनघ लामा, फाइनलमा दिवस श्रेष्ठलाई ६–२ र ६–२ ले हराउँदै विजेता भए । विजेता खेलाडीलाई सिटिजन्स बैंकका अध्यक्ष प्रदीपजंग पान्डे, प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारी, कुमार मोहनबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दोर्जकुमाार राई, सिंहबहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । दशरथ रंगशाला टेनिस कम्लेक्स व्यवस्थापक समिति तथा अखिल नेपाल लनटेनिस संघको आयोजनामा प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिताको प्रायोजन सिटिजन्स बैंकले गरेको थियो ।

प्रतिक्रिया