चुनढुंगा उत्खननमा अझै अवरोध

Ghorahi-Cimentदाङ, ८ वैशाख । घोराही सिमेन्ट प्रालिको चुन ढुंगा उत्खननमा स्थानीय वासिन्दाले गरेको अवरोधका कारण रोकिएको उत्खनन कार्य अझै सुचारु हुन सकेको छैन ।

खानीसम्म पुग्ने ३५ किलोमिटर कच्ची बाटो कालोपत्रेको माग राख्दै एक सातादेखि कच्चा पदार्थ उत्खननमा लगाइएको रोक अझै खुल्न सकेको छैन । दैनिक एक सय ५० ट्रिपर ओहोरदोहोर गर्ने सो सडक छेउ आसपासका स्थानीय बासिन्दा बाटोमा उड्ने धुलोका कारण समस्यामा परेपछी कालोपत्रेको माग राख्दै आन्दोलित भएका हुन् । अहिले काभ्रे–५ तापाका वासिन्दालाई खानी उत्खननले प्रत्यक्ष असर गर्न थालेको छ । पानीको मुहान सुक्दै जान थालेको छ भने वातावरण प्रतुकूल बन्दै गएको छ ।
काभ्रे–५ तापाकी लक्ष्मी थापाले छोरा–छोरीलाई विद्यालय पठाउँदा वा घाँस दाउराका लागि जंगल जाँदा, घरमा रहँदा भित्र बाहिर गर्न पनि समस्या भएको बताइन् । घर छेउको करेसा बारीमा तरकारी टिप्न जाँदा पनि धुलाम्मे हुनुपर्ने अवस्था रहेकोमा उनले जोड दिइन् । यी सबै समस्याको गाउँमा खुलेको सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्खननस्थल रहेको पनि उनले बताइन् । ‘दैनिक डेढ सय ट्रिपर हिँड्छन्, जसले गर्दा धूलो बढ्यो, हामीलाई प्रत्यक्ष समस्या पर्‍यो’ लक्ष्मीले भनिन्, ‘धूलो नियन्त्रण नहँुदासम्म हामीले उद्योगका लागि कच्चा पदार्थ उत्खननमा रोक लगाइरहन्छौँ ।’ तापावासीले चार दिन देखि विभिन्न माग राखेर सडकमा ट्रिपर हिँड्न दिएका छैनन् भने कच्चा पदार्थको उत्खननसमेत रोकेका छन् । सिमेन्ट उद्योग खुल्ने भयो भनेर तीन वर्ष अघि हौसिएका स्थानीय अहिले उद्योग खुलेर काम सञ्चालन हुन थालेपछी चौतर्फी मारमा परेका छन् । बस्ती नजिकै उत्खनन स्थलहँुदा उनीहरूलाई बसोबासको समस्या उत्पन्न भएको छ । ‘माथी ढुंगा खानीराखेको छ, तल हाम्रो घर छ’ तापाकी मतीले भनिन्– ‘हाम्रो त उठीबास नै हुनेभयो ।’
तापावासीलाई पहिले खानेपानीका लागि कुनै दु:ख थिएन । त्यसका साथै रोगब्याधको पनि खासै असर थिएन तर अहिले यी तापावासीमा खानेपानीको समस्यासँगै धूलो, धुवाँ र ध्वनी प्रदूषणको चपेटमा परेका छन् । ‘उद्योग खुलेपछी स्वास्थ्यमा प्रतिकूल समस्या देखिन थाल्यो, रुघाखोकी सामान्य जस्तै हुन थाल्यो’ तापाकी विमला विकले भनिन्– ‘हामीलाई एम्बुलेन्ससम्म दिन्छौँ भने, खै अहिलेसम्म केही भएको छैन्, नयाँ–नयाँ रोगको सामना गर्नु परेको छ ।’ दैनिक डेढ सय ट्रिपर लोड लिएर कच्ची बाटो हँुदै ओहोरदोहोर गर्छन् । दिनहँु ड्रेस धुनुपर्ने समस्या अनि छोराछोरी सहजै विद्यालय पुगे, पुगेनन् भन्ने चिन्तामा स्थानीयवासी रहन थालेको पनि उनको भनाइ छ ।
तापा गाउँमा गठन गरिएका बिभिन्न तीन समूहले धूलो नियन्त्रण, स्थानीयलाई रोजगारी, खानेपानीको सहज व्यवस्थापन लगायतको माग राख्दै कच्चा पदार्थको उत्खननमै रोक लगाएका छन् । उनीहरूले दिनहँु मन्द्रानीमा रहेको घोराही सिमेन्टको क्रसर उद्योगमा धर्ना दिइराखेका छन् । उनीहरूले आफ्ना माग पूरा नहँुदासम्म कच्चा पदार्थको उत्खनन हुन नदिने बताएका छन् । ‘हाम्रो माग जबसम्म पूरा हँुदैन्, तबसम्म हामीले काम हुन दिँदैनौँ’ रुकप्रसाद पुलामीले भने, ‘हामी जहिले पनि आश्वासनमा परिराख्यौँ तर अब काम भए मात्र आन्दोलन स्थगित हुन्छ ।’
यता घोराही सिमेन्ट प्रालीले भने तापामा कुनै समस्या नरहेको दाबी गरेको छ । तापाका वासिन्दालाई लिखित सम्झौताअनुसारको सेवा सुविधा पुर्‍याइएको दाबी उद्योगले गरेको छ । उद्योगले धूलो नियन्त्रणका लागि सडकमा आफ्नै लगानीमा ग्राबेल र पानीका ट्रायांकरबाट सडकमा धूलो कम गर्ने काम गरिरहेकै बेला केहीको उक्साहटमा ट्रिपर सञ्चालनमा रोक लगाएको उद्योगका कोर्डिनेटर अम्मर सुवेदीले बताए । ‘तापामा कुनै समस्या होइन्, हामीले धूलो नियन्त्रणको प्रयास गरिरहेको बेला स्थानीयले आवागमनमा रोक लगाए’ सुवेदीले भने ।

प्रतिक्रिया