पेल्ट्रिकसेटबाट गाउँ नै झिलिमिली

इलाम, ८ वैशाख । इलामको इभाङ–८ सिम्ले गाउँका बासिन्दाले आफ्नै लगानी र सक्रियतामा ‘खोंगीखोला पेल्ट्रिकसेट आयोजना’ मार्फत बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाएका छन् ।

देशले लोडसेटिङको मार खेपिरहेको बेला त्यहाँका बासिन्दाहरूले यतिबेला चौबिसै घन्टा बिजुली बाल्न पाएका छन् । उनीहरूलाई अहिले न लोडसेटिङको चिन्ता छ, नत बिल तिर्न कै झन्झट भएको छ ।
गाउँलेको सक्रियतामा नजिकैको खोंगी खोलाबाट चार किलोवाट क्षमताको पेल्ट्रिकसेट जडान गरी विद्युत् उत्पादन गरिएको छ । पेल्ट्रिकसेटबाट उत्पादित बिजुलीले अहिले पुरै गाउँ उज्यालो भएको छ । आयोजनाबाट गाउँका ३९ घरधुरीका दुई सय बढी उपभोक्ता लाभान्वित भएका छन् ।
बिजुली बले पछि सधैँ टुकी र मैनबत्तीको धिपधिपमा बसिराखेका गाउँलेहरू निकै खुसी भएका छन् । पहिलेको मट्टितेल वा तेलबाट टुकी बाल्ुनपर्ने बाध्यता हटेको छ । ‘बिजुली बाल्न पाएकोमा साह्रै खुसी लागेको छ’ स्थानीय गृहिणी गीता बोहोराले भनिन् ‘खाना पकाउने बेला होस् वा केटाकेटीलाई पढाउने बेला बत्ती नभएर साह्रै दु:ख हुन्थ्यो तर अहिले ढुक्क भएको छ । राति पनि दिनजस्तै महसुस हुन थालेको छ ।’ बिजुली बलेपछि विशेष गरी भान्सामा काम गर्ने गृहिणी र विद्यार्थीहरू सबैभन्दा बढी लाभान्वित भएका छन् ।
आयोजनाबाट गाउँमा स–साना टिभी हेर्न र ल्यापटप चलाउनसमेत कार्य भइरहेको छ । उत्पादित विद्युत्ले गाउँमा मध्याह्न चार बजेदेखि बिहान आठ बजेसम्म बिजुली दिने गरेको छ । आकस्मिक कामबाहेक दिउँसो मेसिनलाई विश्राम दिने गरिएको उपभोक्ता प्रकाश बुढाथोकीले बताए । अन्य विशेष काम विवाह, भोज, व्रतबन्धलगायतका बेलामा भने चौबिसै घन्टा पनि बिजुली दिने गरिएको उनले बताए ।
दुई वर्षअघि निमार्ण प्रारम्भ भई हालै निर्माण सम्पन्न भएको सो आयोजना कुल १६ लाख ५० हजार रुपियाँको लागतमा निर्माण गरिएको आयोजना निर्माण तथा उपभोक्ता समितिका सचिव मनबहादुर थापाले जानकारी दिए । जसमध्ये नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) बाट तीन लाख ९८ हजार अनुदान र गाविसबाट १५ हजार रुपियाँ प्राप्त भएको थियो । अन्य ६ लाख नगद उपभोक्ताबाटै उठाइएको थियो भने ६ लाख ३७ हजार रुपियाँ बराबरको श्रमदानसमेत गरेका थिए ।
यसरी केन्द्रीय प्रसारण लाइनको उपभोग गर्न नपाएका त्यहाँका बासिन्दाहरूले अन्नपात, खसीबोका बिक्री एवं जसोतसो ऋणसमेत गरेर खेर गहिरहेको पानीबाट बिजुली उत्पादन गरी उदाहरणीय काम गरेका छन् । उनीहरूले प्रतिघर चार हजार पाँच सयदेखि ३१ हजार पाँच सय रुपिँयासम्म नगद संकलन गरेका थिए । ‘गाउँलेहरूको मन मिले समाजको विकास र परिवर्तन गर्न कुनै गाह्रो नहुने रहेछ’ आयोजना निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले प्रतिक्रिया दिए ।
काठमाडौंको मेटल इन्जिनियरिङ कम्पनी प्रविधिका सहयोगमा सिम्लेमा बिजुली उत्पादन गरिएको हो । उक्त पेल्ट्रिक सेट सञ्चालनका लागि एकजना अप्रेटरसमेत राखिएको छ । उनलाई अहिले मासिक एक हजार पाँच सय पारिश्रमिक दिइएको छ । त्यसका लागि उपभोक्ताबाट प्रतिबत्ती मासिक १५ रुपियाँका दरले महसुल असुल गरिँदै आएको छ । यदि, विद्युत् उत्पादनका क्रममा कुनै मेसिन बिग्रिए वा नयाँ मेसिन ल्याउनु परे सोही रकमबाट खर्च गर्न सकिने गरी रकम जम्मा गर्ने निर्णय गरिएको उपभोक्ता समितिका सचिव बुढाथोकीले बताए । यसअघि इभाङमा विभिन्न खोला र खोल्साबाट ११ वटा पेल्ट्रिक सेट योजना निर्माण गरी प्रयोगमा आइरहेको छ ।

प्रतिक्रिया