आठ महिनामा ४ सय ४१ अर्बको व्यापार

काठमाडौं, ८ वैशाख । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आव ०६९/७० को प्रथम आठ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव २ प्रतिशतले वृद्धि भई ४ सय ४१ अर्ब पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ११ दशमलव ४ प्रतिशत र ८८ दशमलव ६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २ दशमलव ६ प्रतिशतले वृद्धि भई ५० अर्ब २२ करोड तथा कुल पैठारीमा २४ प्रतिशतले वृद्धि भई ३ सय ९० अर्ब ८७ करोड रुपियाँ पुगेको छ । आव ०६८/६९ को प्रथम आठ महिनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १:६.४ भएकोमा आव ०६९/७० को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १:७.८ पुगेको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामानहरू, चाँदीका गरगहनाहरू, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १६ दशमलव ९ प्रतिशतले ह्रास आई ३ अर्ब ४४ करोड, तयारी पोसाकको निर्यातमा २२ दशमलव ५ प्रतिशतले ह्रास आई २ अर्ब ३५ करोड रुपियाँ हुन आएको छ ।
यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा ७ दशमलव २ प्रतिशतले वृद्धि भै ८ अर्ब, पोलिस्टर तथा अन्य धागोमा ८ दशमलव ९ प्रतिशतले ह्रास आई ३ करोड ७९ करोड, मुसुरोको दालमा ५४ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा ८० करोड २८ लाखको छाला, २ अर्ब ३४ करोडको अलैंची, सवा १ अर्बको चिया, ९१ करोडको अदुवा, ३७ करोड ८९ लाखको चाउचाउ, १ अर्बको जडीबुटी, ६० करोडको टुथपेस्ट, ३ अर्ब ५५ करोडको टेक्सटाइल, २८ करोडको हस्तकलाका सामानहरू, ३१ करोड ९५ लाखको नेपाली हातेकागज निकासी भएको देखिन्छ । समीक्षा अवधिमा १ करोड ७१ लाखको कफी, ९ करोड ३४ लाखको मैदा, ४५ करोड ८९ लाखको पीना तथा रु ५ करोड ६२ लाखको साबुन पनि निर्यात भएको देखिन्छ ।
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, बंगलादेश, जर्मनी, चीन, युके, फ्रान्स, टर्की, जापान, इटाली, अफगानिस्तान, थाइल्यान्ड, क्यानडा, भुटान आदि प्रमुुख रूपमा रहेका छन् ।
पैठारीतर्फ, आव ०६९/७० को प्रथम आठ महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा २१ दशमलव ७ प्रतिशतले वृद्धि भई ३९ दशमलव २८ अर्ब, पेट्रोलियम पदार्थमा १७ दशमलव १ प्रतिशतले वृद्धि भई ६९ अर्ब ७२ लाख, यातायातका साधन र तिनका पार्टपुर्जामा ४२ दशमलव ६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा १६ दशमलव २ प्रतिशतले वृद्धि भई १६ अर्ब २२ करोड, औषधिमा १५ दशमलव २ प्रतिशतले वृद्धि भई १० दशमलव १३ अर्ब, मेसिनरी तथा पार्टस्मा ३० दशमलव २ प्रतिशतले वृद्धि भई २१ दशमलव १२ अर्ब, पोलिथिन ग्रेन्युल्समा १० दशमलव २ प्रतिशतले वृद्धि भई ८ दशमलव २२ अर्ब, कच्चा पाम आयलमा ८ दशमलव ५ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड, दुरसञ्चारका सामाग्रीहरूमा ११ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ अर्ब ९२ करोड, रसायनमा १५ दशमलव ९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५४ करोड भएको छ । यसैगरी समीक्षा अवधिमा १७ अर्ब १५ करोड बराबरको सुन, १० करोड २१ लाख बराबरको रासायनिक मल तथा १ अर्ब ५८ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्टस् पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिंकर (३.७१ अर्ब), भटमासको कच्चातेल (८.४५ अर्ब ), तयारी पोसाक ( ६.०७ अर्ब), अन्न (१३.३८ अर्ब), ऊन (१.६७ अर्ब) पनि उल्लेख्य रूपमा पैठारी भएको देखिन्छ ।
नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइल्यान्ड, इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, जापान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, ब्राजिल, युक्रेन, साउदी अरब, जर्मनी आदि प्रमुुख रूपमा रहेका छन् ।
नेपालका परम्परागत निर्यातजन्य वस्तुहरू जस्तै ऊनी गलैंचा, तयारी पोसाक आदिको निर्यातमा ह्रास आएको छ भने परम्परागत कृषिजन्य वस्तुहरूको निर्यातमा केही सुधार देखिएको छ । समीक्षा अवधिमा अधिकांश प्रमुख वस्तुहरूको आयातमा उल्लेख्य वृद्धि भएका देखिन्छ । परिणामत: आर्थिक वर्ष ०६९/७० को प्रथम आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.० प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा ३ सय ४० अर्ब ६५ करोड रुपियाँ पुगेको छ ।

प्रतिक्रिया