डाक्टर नहुँदा सेवा प्रभावित

राजविराज, ८ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गतका कुनै पनि प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सप्तरी जिल्लाभरीको स्वास्थ्य सेवा प्रभावित भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अभाव भएपछि सदरमुकाम बाहिरको स्वास्थ्य सेवा अहेवको भरमा चलिरहेको छ ।

०४७ सालमा स्वास्थ नीति लागू भए पछि स्थापित सप्तरीका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आउनै नमान्ने र बाध्यताले आउने परे सरुवा मिलाएर अन्यत्र गइहाल्ने परम्पराले जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएको हो । गाविस स्तरमा भएका उपस्वास्थ्य चौकीमार्फत दिन नसकिने सेवा प्रदान गर्न स्थापित सवै प्राथमिक सेवा केन्द्रहरू स्थापना कालदेखि नै डाक्टर अभावमै चलिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा हाल १ अञ्चल अस्पताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, २१ स्वास्थ्य चौकी र ८८ वटा उपस्वास्थ्य चौकी सञ्चालनमा रहेको जानकारी दिँदै कन्चनपुर, तोपा, कल्याणपुर र कडरवोना गरी चारवटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरवन्दी रहे पनि हाल डाक्टर नभएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य तथा सूचना अधिकृत डम्बरनारायण साहले बताए । सरकारले जिल्लाको स्वास्थ्य सेवा चुस्त बनाउन सवै प्राथमिक स्वास्थ्य केन्द्रमा १ मेडिकल अधिकृत, १ हेल्थ असिस्टेन्ट, १ स्टाफ नर्स, ३ अनमी, २ अहेब, १ ल्याब असिस्टेन्ट र अन्य सपोर्टिङ कर्मचारीको व्यवस्था गरे पनि डाक्टरहरू नआएपछि हेल्थअसिस्टेन्ट प्रशासनिक काममै व्यस्त हुने गरेको र अनमी तथा अहेबको भरमा बिरामीको उपचार सेवा सञ्चालन भइरहेको साहको भनाइ छ ।
डाक्टरहरू सुविधा भोगी र लाल्ची भएका कारण सप्तरीमा बस्न नचाहेको सूचना अधिकृत साहले बताए । ‘सप्तरीका स्वास्थ्य केन्द्रमा आउने डाक्टरले तलबबाहेक अन्य सुविधा पाउँदैन’ साहले भने, ‘तर अन्य मुख्य बजारमा गए अतिरिक्त कमाइ गर्न सकिने लोभमा सरुवा मिलाएर हिँड्ने चलन छ ।’ डाक्टरहरू मुख्य बजार तथा पहाडी जिल्लामा जान रुचाउने गरेको जानकारी दिँदै सूचना अधिकृत साहले भने, ‘सरकारले पहाडी जिल्लामा दिँदै आएको नन्प्राक्टिस भत्ता तराईका जिल्लामा समेत दिने व्यवस्था मिलाउन सके डाक्टरहरूलाई राख्न सकिन्छ ।’
कार्यक्रम सञ्चालन भएन
सिन्धुली : जिल्ला अस्पतालमा बच्चालाई भिटामिन र जुकाको औषधि खुवाउन पुगेकी धुरा बजारकी पूर्णिमा थिङले झन्डै तीन घन्टा जिल्ला अस्पतालमा स्वयंसेविका तथा कर्मचारीहरूलाई कुर्नुपर्‍यो । अन्त्यमा स्वयंसेविका तथा कर्मचारी कसैलाई नभेटेपछि उनी फर्किइन् । यसरी बच्चा लिएर आउन कैयाँै महिला खाली हात फर्किने गरेका छन् ।
गत शनिबार जिल्ला अस्पताल र कमलामाई नगरपालिका अगाडिको केन्द्रमा धेरै महिला बच्चालाई भिटामिन नख्वाई फर्किन बाध्य भए । अर्की सेवाग्राही कनपा–६ रातामाटाकी रोशनी लामाले भिटामिन र जुकाको औषधि ख्वाउने प्रचार गरेर केन्द्र बन्द गर्नु जिल्ला जनस्वास्थ्य कार्यालयको लापरबाही भएको बताइन् ।
सरकारले अभियानका रूपमा सञ्चालन गरेको भिटामिन–ए तथा जुकाको औषधि ख्वाउने कार्यक्रमको दोस्रो दिन सिन्धुलीका भिटामिन ख्वाउने केन्द्रमा जनस्वास्थ्यका कर्मचारी तथा स्वयंसेविका नभेटिएपछि सेवाग्राही निराश भएर फर्किएका थिए ।
सरकारले वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने र नजिकको खोप केन्द्रमा खुआउने भनी सञ्चारमाध्यममार्फत प्रचार गरेको भए पनि जिल्ला अस्पताल सिन्धुलीमा रहेको नियमित खोप केन्द्रमा समेत कोही नभेटिदा सेवा ग्राहीहरू मर्कामा परेका हुन् । जिल्लाको कमलामाई नगरपालिका भित्र हरेक वडामा स्वयम्सेविकाले भिटामिन खुवाउने भए पनि दिउँसो २ बजेसम्म कुनै केन्द्रमा कोही नभेटिएको सेवाग्राहीहरूको गुनासो रहेको छ ।
सदरमुकाम एरियामा रहेको सिन्धुलीमाढीका केन्द्र र जिल्ला अस्पतालमा रहेको केन्द्रमा समेत भिटामिन–ए कार्यक्रम सञ्चालन भए/नभएको आफूलाई जानकारी नभएको जिल्ला अस्पताल सिन्धुलीका छबिलाल थापाले बताए । (सौस)

प्रतिक्रिया