‘सरकार चुनाव नगराउने षड्यन्त्रमा’

काठमाडौं, ८ वैशाख । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अन्तरिम चुनावी सरकार केही दलको उक्साहटमा लागेर चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । त्यही कारणले असारमा चुनाव हुन नसक्ने अवस्था आएको उनको दाबी छ ।

‘सरकारका केही मन्त्री आफूनिकट दलको उक्साहटमा लागेका छन् । त्यही कारण सरकारले असारमा गर्ने भनिएको संविधानसभा चुनाव मंसिरतिर सारेको देखिन्छ,’ पार्टी कार्यालय पेरिसडाँडामा शनिबार नियमिति पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले भने । खिलराज रेग्मी नेतृत्वको सरकारले आºनो लक्ष्य बिर्सिएको आरोप उनले लगाए ।
संविधानसभा चुनाव गराउने मुख्य जिम्मेवारी पाएको अन्तरिम चुनावी मन्त्रिपरिषद् शासन गर्नेतर्फ उन्मुख भएको सापकोटाको दाबी छ । ‘यतिबेला सरकारको ध्यान निर्वाचनमा भन्दा पनि कर्मचारी सरुवा–बढुवामा केन्द्रित भएको देखिन्छ, यो दु:खदायी कुरा हो,’ उनले भने ।
एमाओवादीका पक्षमा देशव्यापी जनलहर देखेपछि सरकारमा रहेका केही व्यक्ति आफूसँग आस्था मिल्ने दलको स्वार्थका आधारमा चलेकाले पनि निर्वाचन अनिश्चित बनेको प्रवक्ता सापकोटाका बुझाइ छ । ‘असारमा निर्वाचन गराउनकै लागि हतार–हतार प्रधानन्यायाधीशलाई सरकार प्रमुखको जिम्मेवारी दिइएको र अवकाशप्राप्त निर्वाचन आयुक्तहरूलाई पुनर्नियुक्ति गरिएको हो तर सरकारले त्यसतर्फ ध्यान दिएको देखिएन, सरकारकै कारण असारमा चुनाव नहुने भएको हो,’ सापकोटाले भने ।

प्रतिक्रिया