१२ वर्षमा ५० प्रतिशतले औलो नियन्त्रण

काठमाडौं, ८ वैशाख । नेपालले १२ वर्षको अवधिमा औलो रोग र यसबाट हुने मृत्युदर ५० प्रतिशतभन्दा बढी घटाउन सफल भएको छ । तराईका जिल्लामा औलोको प्रकोप देखिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार दक्षिण–पूर्वी एसियामा नेपालसहित पाँच देश १२ वर्षको अवधिमा ५० प्रतिशत औलो र यसको मृत्युदर घटाउन सफल भएका हुन् । नेपालसहित भुटान, दक्षिण कोरिया, श्रीलंका र थाइल्यान्ड औलो रोग र मृत्युदर घटाउन सफल भएका छन् । भारतमा भने यो अवधिमा जम्मा २१ प्रतिशत मात्रै औलो घटेको संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनमा दक्षिण पूर्वी एसियाका ११ राष्ट्र सदस्य छन् । यीमध्ये माल्दिभ्सले सन् १९८४ देखि नै आफूलाई औलो शून्य राष्ट्र बनाइसकेको छ । दश वर्षको अवधिमा नेपालले औलो नियन्त्रणमा धेरै प्रगति गरेको भए पनि बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डभन्दा केही कम देखिएको संगठनको प्रतिवेदनमा उल्लेख छ । संगठनका अनुसार ती राष्ट्रले ६५ प्रसितशतभन्दा बढी औलोको कारणले हुने मृत्युमा कमी ल्याएको छ ।
संगठनको प्रतिवेदनअनुसार दक्षिण–पूर्वी एसियाका देशले प्रतिहजार जनसंख्यामा २७ प्रतिशत औसतमा औलो रोग घटाएका छन् । सन् २००० मा प्रति एक हजारमा ३० वटामा औलो देखिने गरेकोमा सन् २०१० सम्ममा यो संख्या झरेर २२ मा आएको प्रतिवेदनमा उल्लेख छ । यो १२ वर्षको अवधिमा नेपालसहित भुटान, कोरिया, इन्डोनेसिया, श्रीलंका र थाइल्यान्डले औलो नियन्त्रणका लागि उल्लेख्य प्रगति गरेकाले निवारणको कार्यक्रम अगाडि गइसकेको संगठनले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संख्यालाई अझ कम गर्दै लैजाने कार्यक्रम बनाइरहेको जनाएको छ । मन्त्रालयका अनुसार सरकारले सन् २०१६ सम्ममा औलो रोगका प्रमुख सूचक मानिने वार्षिक परजीवी दरलाई प्रतिहजारमा एक भन्दा कमबाट बढ्न नदिने र स्थानीय औलो सर्ने दरलाई हालको अवस्थाबाट कम्तीमा ९० प्रतिशतले कम गर्ने लक्ष्य लिइएको छ । नेपालमा अहिले पनि वार्षिक ३ हजारभन्दा बढी नयाँ औलोरोगी फेला पर्ने गरेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरले नेपालले छोटो समयमै औलो नियन्त्रणमा राम्रो प्रगति गर्न सफल भएको बताए । औलोको समस्यालाई कम गर्न उच्च जाखिममा रहेका देशभरका ३१ जिल्लामा रोग फैलन नदिन गर्मी सुरु भएलगत्तै विशेष कार्यक्रम सुरु गरिसकेको उनले बताए । ती जिल्लामा झुल वितरण गर्नेदेखि कीटनासक औषधि छर्कनेसम्मका कार्यक्रम भइसकेको उनले बताए ।
सरकारले औलो रोग नियन्त्रणका लागि दुई वर्षदेखि ‘नेपाल औलो रणनीति योजना’ अनुसार कार्यक्रम सञ्चालन गरेको महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनले गरेको राष्ट्रिय औलो नियन्त्रण कार्यक्रमको सुझावअनुसार सन् २०११ देखि २०१६ सम्मको रणनीतिक योजना तयार पारी औलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया