रिलका स्टार अब रियल स्टार

Nepl-fot-ball-team-1काठमाडौं, ७ वैशाख । नेपाली युवाको लोकप्रिय खेल फुटबल । अनि, नेपालीकै लागि धेरै वर्षसम्म पनि असम्भवझैँ लाग्ने विश्वकप फुटबलमा सहभागिता । कल्पनामा रमाउँदा पनि धेरै कुरा सुखद हुन्छन् । युवाहरूको सुखद कल्पना र सपनालाई पर्दामा उतारिएको एउटा चलचित्र ‘वल्र्डकप इन नेपाल’ । यसै फिल्मका गीत ‘गो गो गोल’ र ‘म त सानो मान्छे’ अहिले नै लोकप्रिय भइसकेका छन् । टाइटल गीत ‘गो गो गोल’ रंगशाालामा कुनै पनि समय बज्ने गीत । धेरै दर्शकलाई समेत यो गीतको नेपाली फुटबलको आधाकारिक गीत नै भएको छ । सायद रंगशालामा हुने हरेक खेलको समयमा घन्कने यो गीत हो ।

नेपाली कला क्षेत्रमा विशिष्ट पहिचान बोकेको नेचुरल मुभी मेकर्सले नेपाली फुटबल प्रेमीको सपनालाई पर्दामा सार्थक रूपले उतार्ने क्रममा निर्देशक रामशरण पाठकले आफ्नो उत्कृष्टतालाई फेरि एकपटक पुष्टि गरे । डेढ दशक नेपाली कला क्षेत्रमा बिताएपछि भिन्न खालको हिम्मत गरेका प्रकाश थापाले यो लामो अनुभवलाई पूर्णरूपले प्रयोग गरेका छन् । त्यसो त यो फिल्म निर्माण कार्य सुरु भएको तीन वर्ष नाघिसकेको छ । फिल्मको निर्माण प्रक्रिया सुरु भइसकेपछि यो चलचित्र अहिले च्यारिटी प्रदर्शनमा व्यस्त छ । नेपालका विभिन्न भागका साथै इजरायलमा यो चलचित्रको च्यारिटी सो देखाइयो । बालमनोविज्ञानको विषय पनि भएका कारण यो चलचित्र विद्यालय तहका बालबालिकाले अत्यधिक मन पराएको निर्माता प्रकाश बताउँछन् ।
सुरुमा धापाखेल युथ क्लबबाट सुरु भएको च्यारिटी, बालविकास समाज, गोर्खा जेसिज र मकवानपुर जिमले च्यारिटी आयोजना गरेपछि शनिबार नै कञ्चनपुरको ‘प्ले फर चेन्ज’ले च्यारिटी सोको आयोजना गर्ने भएको छ ।
नेपाली यु–१७ टोलीका फुटबलरको बेजोड अभनय रहेको चलचित्रको छायांकन स्थल पनि फुटबलसँगै विशेष साइनो भएको स्थल छानियो । वर्षौं कलाको प्रशिक्षण लिएझै लाग्ने बाल खेलाडी बारपाकको नवनिर्मित मैदानमा एक महिना मस्त रमाए र प्रकाश थापाको यो चलचित्रलाई राम्रो बनाए ।
एकमहिने लामो सुटिङ अवधि सकेर थापाको टोली गोरखाको वारपाकबाट काठमाडौं फर्केको थुप्रै भयो । यसबीच फिल्ममा नायकीय भूमिकामा रहेका थुप्रै खेलाडी वास्तविक जीवनका पनि नायक हुने तरखरमा छन् । चलचित्रका प्रमुख खेलाडी उमेश थापा बौद्ध क्लबको तर्फबाट एनसेल कपमा त्यत्तिकै सफल थिए भने ऋषि थापा पुलिस क्लबबाट आगामी सिजन छाउने अपेक्षा गरिएको छ ।
‘फुटबलको सेन्टिमेन्टले धेरैलाई छोयो । यसकारण हामी नेपालमा मात्र सीमित हुने छैनौँ,’ थापाले भने ।
फुटबलसँग सम्बन्धित पहिलो नेपाली चलचित्र फिफा वल्र्ड कप इन नेपाल व्यावसायिक कुरामा पनि सफल हुने कुरामा निर्माता प्रकाश थापा विश्वस्त रहेका छन् । ‘फरक धारको भएका कारण यो चलचित्र सफल हुने कुरामा हामी विश्वस्त रहेका छौँ,’ थापा भन्छन् । गोरखाको वारपाक मुख्य क्षेत्र रहेको चलचित्रको सुटिङमा सबै कलाकारले उत्तिकै मिहेनत गरेका कारण पनि सफल हुने कुरामा पाठक विश्वस्त रहेका छन् । संयोगवश, पहिलो अन्तर्राष्ट्रिय गोल गरेका फुटबल यमबहादुर घले (वाइबी घले) कै गाउँमा चलचित्रको छांयाकन भएको छ ।
एन्फा एकेडेमीका खेलाडीको अभिनय जीवन्त रहेको यस चलचित्रमा अन्य खेलाडीले पनि उत्तिकै सशक्त अभिनय गरेका छन् । ‘स्टार फुटबलर बन्ने सपनाका साथमा एकेडेमीमा रहेका बाल खेलाडीको अभिनयले चलचित्रले राम्रो बजार पाउनेछ,’ थापाले भने ।
एन्फा एकेडेमीका उमेश थापा, सागर लामा, प्रवीण तामाङ, ऋषि थापा मगर, विपिन सापकोटा, राम फागु, विशाल र पर्वत सुब्बाले चलचित्रमा अभिनय गरेका छन् । यसका अलावा गिरीप्रसाद पुन:, सर्मिला शर्मा, कुलचन्द्र पुरी, गोपाल अर्याल, संगम राई र सोनु केसी पनि कलाकार रहेका छन् । नेचुरल मुभी मेकर्सको ब्यानरमा रहेका चलचित्रमा राम तामाङ पनि निर्माता रहेका छन् । यसअगाडि ठेगानाजस्तो फरक शैलीको चलचित्रका कारण चर्चामा आएका पाठक भने हरेक कलाकारले मिहिनेत गरेका कारण चलचित्र अत्यधिक सफल हुने कुरामा आशावादी रहेका छन् । ‘कलाकारको मिहिनेतका कारण मेरा विगतका चलचित्र पनि सफल भएका थिए । मलाई विश्वास छ, यो चलचित्र पनि सफल हुने छ,’ पाठकले भने ।
राजु भण्डारीको सम्पादन रहेको चलचित्रमा मनीष पन्त र रत्न कार्कीको छायांकन रहेको छ । जुगल श्रेष्ठको संगीत रहेको चलचित्रको नृत्यनिर्देशक कृष्ण भक्त महर्जन छन् । १ सय १० मिनेट लामो यो चलचित्रले नेपाली जनजीवनलाई चित्रण गर्न पनि सफल भएको छ । ‘यो चलचित्रले भिक्टोरिया क्रस पाउने गजे घले र फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने यमबहादुर घले जन्मेको ठाउँलाई पनि राम्रोसँग उजागर गरेको छ,’ थापाले भने । ‘साँच्चै राम्रो भूमिका पाइयो । यो फिल्म साँच्चै उत्कृष्ट छ,’ नेपाली यु–१६ फुटबल टोलीका फरवार्ड ऋषि थापा मगर भन्छन् ।

प्रतिक्रिया