बुहारी करणीका आरोपी धरौटीमा रिहा

विराटनगर, ७ बैशाख । बुहारीलाई यौनशोषण गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मोरङ डाँगीहाटका एक वृद्ध धरौटीमा रिहा भएका छन । उनी धरौटीमा रिहा भएपछि केही महिलाले जिल्ला अदालत मोरङ परिसरमा प्रदर्शन गरे ।

चैत १५ गते कान्छी वुहारीलाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका डागीहाट–५ लक्ष्मीमार्गका ६० वर्षिय हेमराज कोइराला ३० हजार रुपैया धरौटी तिरेर रिहा भएका हुन । एकीकृत नेकपा माओवादी डागीहाट–५ का इन्चार्जसमेत रहेका कोइराला बिहीवार रिहा भएका हुन । न्यायधिस ऋषि अधिकारीको एकल इजलासमा भएको बहसपछि हाललाई पुर्पक्षका लागि कारागारमा राख्न नपर्ने र पछि संकलित प्रमाणका आधारमा कारवाही हुने गरि तत्काललाई ३० हजार रुपैया धरौटी लिएर छाड्ने आदेश दिइएको हो ।
छोरा वैदेशिक रोजगारीमा रहेका बेला कोइरालाले पटक पटक यौन शोषण गरेको भन्दै बुहारीले इलाका प्रहरी कार्यालय, बेलवारीमा उजुरी दिएकी थिइन । सोही उजुरीका आधारमा प्रहरीले कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । आफू निर्दोष रहेको जिकिर गर्दै आएका कोइरालाले अदालतको निर्णयपछि नेपालको कानुन सत्यका पक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।
अदालत परिसरमै प्रदर्शन
अदालतको निर्णय विरुद्ध स्थानिय महिला समूहले अदालत परिसरमै नारावाजी तथा प्रदर्शन गरे । अदालतको निर्णयबाट पिडितले न्याय नपाएको भन्दै उनीहरुले करिव आधाघण्टा नारावाजी तथा प्रदर्शन गरे । नारावाजीका कारण केहीबेर अदालत परिसर तनावग्रस्त भएको थियो । प्रदर्शनलाई रोक्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
डागीहाट र बेलवारीवाट आएका नेपाली कांग्रेस समर्थित महिलाहरुले बहस शुरु हुनभन्दा अगाडीदेखी नै धर्ना दिएका थिए । इजलासमै पस्न खोजेका उनीहरुलाई अदालतका कर्मचारीले रोकेका थिए । धरौटीमा छुटेका कोइरालाले भने मुद्दालाई राजनितिकरण गर्न खोजिएको आरोप लगाए । आफूलाई फसाउन कांग्रेसनिकट महिला प्रदर्शनमा उत्रिएको उनले बताए ।

प्रतिक्रिया