जुठान र बाचु सम्झेर

Bhanu-Bokhim-copyश्याम्नेको ओरालोमा एउटा किशोरले हामीलाई भेट्टायो ।
श्याम्ने हुम्ला सदरमुकाम सिमीकोटदेखि नजिकैको ठाउँ हो । अक्सर खच्चड हिँड्ने यो बाटोमा मान्छेलाई हिँडन गाह्रो हुन्थ्यो । स्थानीय पत्रकार जनक शाही र म ओरालोमा हुत्तिँदै झरिरहेका थियाँै । यत्तिकैमा बोरा बोकेर आइरहेको एक किशोरले हामीलाई भेट्टायो ।
‘घर कहाँ हो भाइ ?’ छेउमै आएपछि सोधँे ।
‘बारीगाउँ, कालिका’ हिँडाइको गति कम गर्दै उसले भन्यो ।
ओरोलो झर्दै कुराकानी गर्‍याँ । उसले आफ्नो नाम जुठान टमटा बतायो । कालो ज्याकेट, नीलो जिन्स र कालो चप्पलमा थियो ऊ । उसले लगाइरहेको कपडा धेरै दिनदेखि उसको शरीरमा झुन्डिरहेको संकेत उसका निक्कै फोहोर र पुरानो कपडाले गर्थे । हातमा छुट्टै पोको बोकेको थियो ।
‘योचाहिँ के हो ?’ पोको देखाउँदै सोधँे ।
‘चामल हो सर, बाटोमा खानलाई’
हुम्लाको दक्षिणी गाविस कालिकाको बारीगाउँ पुग्न उसलाई दुई दिन लाग्थ्यो । बिहानको आठ बजेतिर हाम्रो भेट भएको थियो । यो दुई माना चामलले आज दिउँसो, बेलुका र भोलि बिहान गरी तीन छाक पुर्‍याउनुपथ्र्याे उसलाई । १२ घन्टाको दरले हिँडे मात्र ऊ भोलि साँझ घर पुग्थ्यो ।
जुठानले तीन कक्षामै पढ्न छोडेको थियो । बाआमाले पढ्नको सट्टा गाईवस्तु हेर्ने सल्लाह दिए । त्यसपछि जिन्दगी घाँस दाउरा र कुटोकोदालोमै बितिरहेको छ । जुठानले सदरमुकाम यात्रा र दैनिकी बताउँदै गयो । उसको जीवनयात्रा, विरक्त लाग्दो थियो । यसैकारण कर्णालीलाई मैले लेख, समाचारमा पढेभन्दा पनि विकराल सोचिरहेको थिएँ ।
‘किन यस्तो दु:ख भएको होला ?’ जुठानले लगातार गरिबी र दु:खको कुरा गरेपछि सोध्यो ।
‘पैसा नभएर हो सर, पैसा भए अलि फुर्सद पाइँदो हो । खान नपुगे पनि पैसा हालेर खादा हौँ ।’
‘पैसा कसरी कमाउने त ?’ फेरि सोधँे ।
तर, उसलाई पैसा कमाउने कुनै ज्ञान थिएन । ऊ जस्तो छ आज, भोलि पनि त्यस्तै हो भन्नेमा ढुक्क थियो । दु:ख र पीडाप्रति जति वितृष्णा थियो, त्यति नै भोग्नुपर्ने बाध्यता पनि । दु:ख बुझ्न उसको सदरमुकाम यात्रा नै काफी थियो । उसमाथि सिफारिसका लागि धाउँदाको पीडा । अनुदानको नुन पाउन सरकारी कर्मचारीको सिफारिस चाहिन्थ्यो । तर, सिफारिस सजिलै मिलेन ।
‘सिफारिस पाउन धेरै गाह्रो भयो । बल्ल बल्ल हिजो बेलुका नुन निक्ल्यो । आज आठ दिन भयो,’ यसरी नुनको सिफारिस कुर्दै सात दिन बित्यो । तर, सिफारिस दिन ढिलाइ गर्ने कर्मचारीप्रति उसलाई कुनै गुनासो थिएन । ऊ सरकारी कर्मचारीको गैरजिम्मेवारीपनभन्दा आफ्नै भाग्यलाई बढी दोषी देख्थ्यो ।
‘गाउँमा नेता आउँछन् कि आउँदैनन् ?’ फेरि सोधँे ।
‘आउँछन् तर केही सेवा गर्दैनन् । यहाँ सिमीकोटमा आउँदा त केही गरिदिदैनन्, गाउँमा त झन् के गर्छन् र ?’ उसको आसय नेताले छिट्टै नुनको सिफारिस गरिदिए हुन्थ्यो भन्ने थियो ।
संविधानसभाको चुनाव ताका नेता सपना बाड्दै जुठानको गाउँ पुगेका थिए । उनीहरूले उधारो सपनाको कारोबार आफ्नो मत दिएर गरे । तर, कुनै नेताले उनीहरूको सपनाको सुनुवाइ गर्ने प्रयास गरेनन् । गाउँ अझै पनि पहिलेजस्तै अभावमै थियो ।
हामी कर्णालीको किनार हँुदै खर्पु पुग्यौँ । मैले छुट्टिने बेला उसलाई पाँच सय रुपियाँ र मेरो भिजिटिङ कार्ड दिएँ । ऊ अगाडि बढिरह्यो । हामी झोलुंगे पुलबाट पारी तर्‍यौँ र छिप्रामा लाग्यौँ ।
छिप्रामा सीता निम्नमाध्यमिक विद्यालयमै भेटिइन् बाचु उपाध्याय । हाम्रो समाज र संस्कारअनुसार बाचु उपल्लो जातकी थिइन् । जुठानको जस्तो दलित हैन । तर, अभावमा जातको भिन्नता नाम मात्रको हुँदोरहेछ । बाचु र जुठानबीच गरिबीको प्रभाव उस्तै थियो । वाचुले लगाएको गुन्युचोली जुठानको कपडा जस्तै मैलो र पुरानो थियो । १६ वर्ष अघि विवाह गरेकी बाँचु २७ की पुगिन् । चार सन्तानकी आमा बाचुको मुहार हेर्दा उमेरभन्दा चाँडै बुढी भए जस्तो लाग्थ्यो ।
दुई वर्ष जतिको बच्चा च्यापेर मसँग कुरा गर्दै थिइन् ।
‘यो कान्छो हो, अघि तपाईंले कुरा गर्नुभएको जेठो छोरो हो,’ उनले नरेन्द्र उपाध्यायको सम्झना गराइन् ।
११ वर्षे नरेन्द्रसँग १ घन्टाअघि कुरा गरेको थिएँ । सेतो कमिज र नीलो पेन्ट लगाएका नरेन्द्रले समाचारको शैलीमा विभिन्न देशविदेशका सूचना सुनाएको थियो । उसको त्यो क्रियाकलाप हेर्दा ऊ रेडियो निक्कै सुन्छ जस्तो लाग्थ्यो । तर, जुन कापीमा ती सूचना टिपेका थिए, त्यो कापीले पनि नरेन्द्रको गरिबी उजागर गरिरहेको थियो । वास्तवमा त्यो कापी थिएन । एकापट्टि लेखेर अर्काेपट्टि खाली छाडिएको कुनै सरकारी कागज थियो । पछाडिको खाली भाग लेख्नका लागि प्रयोग गरेको थियो नरेन्द्रले ।
‘बुबाआमाले पढाइदिनुभएन । आजभोलि रोई–रोई, यस्तै गरी जिन्दगी काट्नु पर्दै छ,’ वाचु उपाध्यायले अभिभावकसँग गुनासो गरिन् । साथै, आफू अभिभावक हुनुको चिन्ता पनि पोखिन्, ‘चार छोरा छन्, तिनीहरू पनि आफूजस्तै हुने हुन् कि ? पढाउन नसकिने हो कि भन्ने चिन्ता छ, राजाले वा कोहीले हेरिदिए छोरा पढ्लान्, नत्र गाह्रो छ ।’
बाचु पहिलेपहिले राजाबाट हुने निगाहबक्सको आशा गरिरहेकी थिइन् । उनलाई ज्ञानेन्द्र राजाबाट सर्वसाधरण भएको थाहा थिएन । त्यसैले राजाबाट आश गरेकी थिइन् । सँगै उभिएका उनका श्रीमान् हरिभक्त उपाध्याय पनि छोराको पढाइप्रति चिन्तित देखिन्थे ।
‘हामीसँग पैसा छैन तर शरीरको हड्डी बन्धक राखेर पनि बच्चालाई पढाउने चाहना छ तर भनेजस्तो हुँदैन ।’
म हरिभक्तको कुराले भावविह्वल भएँ । उनलाई निकैबेर नियालेँ । निकै बूढो र थकित देखिन्थे ।
कुराकानी सकेपछि उनीहरूलाई एक हजार रुपियाँ दिएँ । तर, यो मेरो गोजीको पैसा थिएन । अफिसले नै कोही असहाय, गरिवसँग कुराकानी गर्दा पाँच सयको दरले दिनु भनेर छुट्याएको थियो । उनीहरूको काम गर्ने समयमा बाधा पुर्‍याएबापतको क्षतिपूर्ति थियो । पैसा लिएपछि उनीहरूले एउटा कागजमा हस्ताक्षर गर्नुपथ्र्याे । तर, उनीहरूले यसको विकल्पमा ल्याप्चे लगाए ।
आधा घन्टापछि बाचु र हरिभक्त फेरि विद्यालयमा देखा परे ।
‘सरलाई काँक्रा ल्याइदिएको’ बाचुले मलाई कलिला काँक्रा दिइन् ।
मैले बाटोमा आउँदा पनि काँक्रा देखेको थिएँ । तर, हिउँद लाग्दै गएकाले राम्रा काक्रा थिएनन् । उनीहरूले घरमा गएर मेरा निम्ति राम्रा काँक्रा खोजेर ल्याएका थिए । उनीहरूको नजरमा म महान् थिएँ, अफिसको हजार रुपियाँ उनीहरूलाई दिएर ।
बाटोमा बाचु र हरिभक्तको आत्मीयता सम्झिरहँे । मैले त अफिसको पैसा दिएको थिएँ तर उनीहरूले मेरै पैसा सम्झे र मलाई पनि बदलामा केही दिन खोजे । उनीहरूसँग काँक्रा थियो । त्यही दिए ।
चौथो दिन नेपालगन्ज आइपुग्दा जुठानले मोबाइलमा फोन गरेको थियो । म खचाखच बसमा कोहलपुर जाँदै थिएँ, साथी भेट्न । भिडमा उभिएर कुरा गर्न अप्ठ्यारो भयो । पछि गर्छु भनेर फोन काटँे । तर, पछि धेरैचोटि प्रयास गर्दा पनि फोन सम्पर्क लागेन ।
जुठानको आफ्नै मोबाइल थिएन । मलाई सम्झेर अरूको नम्बरबाट फोन गरेको थियो । त्यो बेला असजिलो मानेर कुरा गरिनँ । तर, त्यो बसभित्रको असजिलोपना, पक्कै पनि जुठानको जिन्दगीजस्तो जटिल थिएन ।

प्रतिक्रिया