केटीको ढाडको जुम्रो

Milan-Sangraulaभित्र पाइला राख्न पनि गाह्रो हुने ठाउँ लिएर लोसे पारामा आइपुग्यो नेपाल यातायात । उखानको …कान्छाबाबुको अनुहार जस्तै नियति बनिसकेको छ नेपाल यातायात मेरा लागि । सदाझैँ मान्छेको बीचमा जबर्जस्ती घुस्रेँ ।
‘ऐया †’ एउटा अधबैँसे करायो । मैले तल हेरेँ, चप्पल लगाएको उसको खुट्टा किल्चिएको रै’छु । ‘सरी’ म खिस्स हाँसेँ ।
यो सहर आईकन म यसरी धेरैचोटि हाँसेको छु । मलाई मान्छेहरूको नियति र यान्त्रिकता देखेर हाँसो उठिरहन्छ बहुला तालले, सधैँजसो । म हाँसेको देखेर उसले अनुहार झन् निचोरेको ज्यामिरजस्तो बनायो । म भने रत्नपार्कको हुन्डीमुन्डी सेल्समा ५५० रुपियाँ कममा किनेको जुत्तामा निकै दम रहेछ भन्ने सोच्दै पुलकित भएँ ।
दिनहुँ झन्झटिलो यात्रा गर्नुपर्ने बाध्यताका कारण मैले केही रणनीति बनाएको थिएँ । ढोकाबाट चढ्नेबित्तिकै म इन्जिनबक्सतिर अघि बढ्थेँ, मान्छेहरूलाई बिस्तारै विस्थापित गर्दै । मलाई थाहा भइसकेको थियो इन्जिनबक्सतिरका मान्छे नजिकै झर्नेवाला हुन्छन् । इन्जिनबक्सपछि बिस्तारै अगाडिको कुनै सिट आफ्नो भागमा पार्थेँ ।
नभन्दै एकजना महिला झोलाबाट पैसा झिक्न थालिन् । मैले बुझेँ उनी चाँडै झर्नेवाला छिन् । उनी उठिन् । एउटा मान्छे सिटतिर हेरेर जुमुर्राउँदै थियो, मैले तुरुन्तै कब्जा गरिहालेँ । मभन्दा अघि बस चढेर उभिरहेको त्यो मान्छे खिस्रिक्क पर्‍यो । म फेरि खिस्स हाँसेँ, विजयी हाँसो ।
अब ५० मिनेट कछुवागतिको बसमा पट्यारलाग्दो यात्रा गर्नु थियो । पहिले–पहिले उपन्यास पढ्ने चेष्टा गरेको थिएँ तर त्यो असम्भव प्रयत्न मात्र ठहरियो । मोइबाइलमा भरेका गीतहरू सुन्दासुन्दै अल्छीलाग्दा भइसकेका थिए । केही दिन पहिले गजबको उपाय फेला परेको थियो, श्रुतिसंवेग । अच्युत घिमिरे बुलबुलको आवाजमा वाचन भएका आख्यानहरू डाउनलोड गरेर मोइबाइलमा राख्ने र आउँदाजाँदा सुन्ने । त्यसक्रममा आज मात्रै नारायण ढकालको दुर्भिक्षका सम्पूर्ण भाग डाउनलोड गरेर मोबाइलमा हालिसकेको थिएँ । कानमा इयरफोन घुसारेँ, फूल भोल्युम पारेँ र निष्फिक्री उपन्यासको गतिमा आफूलाई अघि बढाउन थालेँ ।
अनामनगरमा तीनजना चढे : एउटी अधबैँसे महिला, साथमा एउटा फुच्चे र एउटी फुच्ची । फुच्चे त्यस्तै दसबाह्रको देखिन्थ्यो भने फुच्ची सात–आठ वर्षकी । किन हो मलाई तान्यो उनीहरूको संयोजनले । मैले उपन्यासलाई पज गरेँ । महिला माथिको बारमा समातिरहेकी थिइन् । केटो महिलाको सारीमा समाइरहेको थियो भने केटी केटाको जिउलाई समातिरहेकी थिई । निभर्रताको यो क्रम म चाख मानेर नियालिरहेको थिएँ । केटो मतिर एकटकले हेरिरहेको थियो । मेरो सेतो एयरफोनले हो कि चेकसर्टले उसलाई तानेको हो, खुट्याउन सकिरहेको थिइनँ । निकै दिनदेखि धुन नपाएझैँ कत्ला परेको अनुहार थियो उसको । उसको जिउमा भएको नीलो स्कुले सर्टले पनि मैलो र कत्लाका कारण आफ्नो वास्तविक रङ गुमाइसकेको थियो । कपाल लट्टा परेको थियो । नाकबाट चुहिन खोजिरहेको सिँगान रोक्न ऊ स्याँक्कस्याँक्क गरिरहेको थियो । म उसलाई नियालिरहेको थिएँ अनि उसले मलाई । तर, उसले के बिचार्दै नियालिरहेको हो थाहा थिएन ।
केही समयपछि इन्जिनबक्स माथिका दुईजना उठे । तीनहरूको ठाउँ यिनै तीनजनाले कब्जामा लिए । अब उनीहरू मेरै सामुन्ने परेका थिए । मैले उनीहरूलाई अध्ययन गर्न आफ्नो मुन्टो मोड्नुपर्ने स्थिति रहेन । त्यत्तिकैमा महिलाको फोन बज्यो । नोकियाको पुरानो १६०० मोडलको मोबाइल उठाइन् उनले । उठाउनका साथ उनको बिलौना सुनियो, ‘बर्बादै भयो । कति कुरा निकाल्नै पाइएन । उठ्न पनि नपाई एकाबिहानै आ’का थिए रन्डीका छोराहरू । हाम्रो त छेउमै परेकाले झिक्नै पाइएन । बीचमा पर्नेहरूले त धेरै जोगाए । आज त बासको पनि टुंगो छैन । अब बालुवाटार ग’र बस्नु पर्ला केही दिन …।’ यस्तै के–के आक्रोश पोख्दै थिइन् उनी । प्रस्टै बुझियो, यिनी घरटहरा भत्काइएको मारमा परेकी सुकुम्बासी थिइन् । ममा फेरि खिस्स हाँसो फुर्‍यो, बालुवाटारमा यिनको को होला ? कि मेरो उठिबास लगाइहाल्यौ, अब मलाई दुईचार दिन यहीँ पाल भनेर प्रधानमन्त्री निवासतिरै जान लागेकी त होइनन् ?
अनामनगर नकट्दै निकै जाम बढिसकेको थियो । घरटहरा भत्काउने क्रममा थापाथलीमा अवरोध भएपछि उताको सवारीको चाप पनि यतै थपिएकाले सवारीसाधन निकै सुस्तगतीमा जाम छिचोलिरहेका थिए । त्यही जाममा रोकिएकै बेला अचानक नाकमा एक किसिमको कडा बास्ना ठोकिन आयो । खासमा त्यो बास्ना नभएर गन्ध भनिन लायक थियो । यसो हेरेँ, राम्रै हाईफाई देखाउन खोज्ने त्यस्तै बीस–बाइसकी केटी चढेकी रहिछ । ऊ आँखा घुमाएर सिट हेर्दै थिई । उसले त्यही इन्जिनबक्समा अलिकित ठाउँ देखी र त्यहीँ आफ्नो चाक बिसाई ।
पुरुष स्वभावै हो, अलिअलि त आँखा उतै फयाँकिइहाल्थे । तर म आफ्नो मर्यादाभन्दा माथि गएरचाहिँ हेर्दैनथेँ । पुलुकपुलुक नजर हुत्तिँदा देखेँ– उसको जिउमै टयाम्मै मिलेको टाइट सेतो टिर्सट, स्ट्रेट पारेर छोडेको चम्किलो कपाल, सेतो गर्धन आदि । ऊ त्यो फुच्ची केटीसँग ढाड जुधाएर बसेकी थिई । केटीलाई हेर्दै त्यसबाट नछोए पनि हुन्थ्यो जस्तै गर्थी ऊ । तर, परिस्थितिको विवशता उसले नछोई धरै थिएन । उसले इयरफोन निकाली र कानमा घुसारी । मेरोजस्तै रहेछ । मैले हेरेको चाल पाएर उसले पनि मलाई पुलुक्क हेरी । म हाँसिदिएँ खिस्स । ऊ पनि हास्छे होला भनेको त केको हाँस्नु ? आँखा चिम्रा पारी र देखाई नखरा ।
ऊसँग मेरो लेनदेन थिएन । अरू कैयौँको नजर गढिएकै थियो नि उसमाथि । म एकको नजर नगढिँदा उसलाई के फरक र ? म त तिनै तीनजनाको अध्ययनमा मस्त थिएँ । तर, केटीचाहिँ उसैलाई हेरेको ठान्दिरहिछ । बेलाबेला मतिर पुलुक्क हेर्दै देखाउँथी फेरि उही नखरा ।
अब एउटा गजबको दृश्य देखापर्‍यो । फुच्ची केटीको कपाल लट्टा परेको कपालमा सयौँको संख्यामा लिखा र चम्कना बाहिरै चम्किरहेका थिए । यसमा खासै आश्चर्य त थिएन तर अचानक एउटा ढाडी बुरुक्क उफ्रियो र त्यो च्वाँक केटीको ढाडमा सफलतापूर्वक ल्यान्डिङ गर्‍यो । टिलिक्क परेको सेतो सर्टमा त्यो कालो ढाडी परैबाट स्पष्ट देखिन्थ्यो । ढाडी हेदै गर्भवती भन्ने थाहा हुन्थ्यो जसको पेटमा हजारौँ अन्डा छन् भनेर । धावनमार्गमा प्लेन दौडिएझैँ त्यो ढाडी सर्टमा दौडियो तर किन हो गर्धननेरी पुगेपछि टक्क अडियो ।
बालुवाटार आएपछि तीनजना पात्रहरू ओर्लिए र शरणार्थीको भावमा पाइला नाप्न थाले । अब मेरो छेउमा त्यो केटी मात्र थिई । त्यो ढाडी त्यहीँ दौडिरहेथ्यो । केटीको अनुहारमा भने अझै नखराको भाव थियो, मानूँ उसलाई कसैले हेर्नै नहुने हो ।
ढाडीका कारण मभित्र बेग्लै खाले छटपटी उत्पन्न भइरहेको थियो । केटीलाई जानकारी दिउँm कि नदिऊँको दोधारमा परेँ म । एकपटक त सोचेँ, चुपचाप उसको गर्धनसम्म हात बढाएर त्यो ढाडी टिपिदिऊँ ? तर, त्यो त झन् अकल्पनीय घटना हुने थियो । थाहा थिएन उसले त्यसको बदलामा के गर्ने हो † मुख खोलेर भन्नलाई मैले बोलीको मेसो पाइरहेको थिइनँ । नभनूँ, त्यो ढाडी उसको सुगन्धित केशभित्र पसेर केही क्षणमै लिखाहरूको सम्राज्य फैलाइदिनेवाला थियो । रातिसम्म लिखाहरू चम्कनामा परिणत हुन्थे । भोलिपल्ट उसले नुहाई भने पनि आधी चम्कना त कहाँ झर्नेवाला थिए र ? अनि चम्कनाबाट ढाडी, ढाडीबाट थप लिखा …।
अब चक्रपथ आउनै लागेको थियो । मैले यहीँ झर्नु थियो । ऊ पनि ब्याग मिलाउँदै उठ्ने तर्खर गरी । मभन्दा अघि ऊ झरी । ऊ अघिअघि हिँड्दै थिई । म पछिपछि । ढाडी अझै पनि चम्किरहेकै थियो ।
छुट्टिने बेला आउनै लागेपछि म अलि बढी छटपटाएँ । भित्र कताबाट हो, आँट र कर्तव्यबोध एक्कैचोटि पलाएर आयो । अनायास मुखबाट फुत्कियो– ‘एस्क्युज मि सिस ।’
त्यो केटी मतिर फर्किई । फर्किई हैन, फन्किई भन्न बढी उपयुक्त होला ।
उसले कारण सोध्नुभन्दा पहिल्यै मैले उसको गर्धनतिर हेर्दै भनेँ, ‘तपार्इँको नेकमा ढाडी मतलब जुम्रो छ ।’
सुन्नासाथ उसका लागि त ब्रह्माण्ड विस्फोट भयो । ऊ यसरी बम्किई कि वरपर हिँडिरहका मान्छेसमेत हामीतिर नजर लगाउन पुगे । ऊ भन्दै थिई, ‘ह्वाट द हेल यु आर सेइङ † ह्वाट एन इन्टेन्सन टु फ्लर्ट मी ? कस्ताकस्ता मान्छे हुन्छन् यार † अघि बसदेखि नै मलाई त यसको इन्टेनसन ठीक लागेको थिएन । यु नन्सेन्स । नाउ, डन्ट ट्राइ टु फलो मि …?’
ऊ बम्किँदै बाटो लागी । म किंकर्तव्यविमूढ भएर उभिइरहेको थिएँ । कतिपय बटुवाका घृणित नजरले मलाई पछ्याइरहेका थिए । सायद त्यो ढाडी पनि बम्काइदेखि तर्सिएर केटीको कालो केशभित्र आश्रय लिन पुगिसकेको थियो ।
बिचरीको ट्रिटमेन्ट गरेको कपालमा त्यस ढाडीले कत्रो सम्राज्य खडा गर्‍यो होला ?

(याम्बुरी बुक प्वाइन्टबाट प्रकाशोन्मुख कथासंग्रह ‘च्याट गर्ल’बाट)

प्रतिक्रिया