खोजखबर

म मान्छे नमार्ने चट्याङ

सौर्य अनलाइन २०७० वैशाख ६ गते २:२७ मा प्रकाशित

Chatyangनेपाली नेताहरूमा व्यंग्य पचाउन सक्ने क्षमता निकै बलियो रहेछ । जतिसुकै व्यंग्यबाण हाने पनि टसमस गर्दैनन् । सहजै पचाइहाल्छन् । केही दिनअघि मात्रै एक नेतालाई व्यंग्य गरेर लेख लेखेँ । मेरो बारेमा कसैले त्यस्तो लेखेको भए म त आत्महत्या नै गर्थें होला । उनी त उल्टै हात मिलाउन आए । अनि यसो पो भने– ‘क्या गज्जब छ है तपाईंको लेख †’
समाजमा सबैको आआफ्नै भूमिका हुन्छ, मेरो पनि छ । समाजमा देखेका कुरीति र विकृतिहरूमाथि व्यंग्य लेख्नु मेरो काम हो । अरूले त्यसलाई पालना गर्लान्–नगर्लान्, त्यो अरूकै कुरा । विकृतिहरूमाथि सकेसम्म रमाइलो अनि सबैको मन छुने शैलीले व्यंग्य गर्ने प्रयास गर्छु । तर, सबैले त्यसलाई मनै पराउँछन् भन्ने पनि छैन ।
केही अघिको एउटा घटना । एक कार्यक्रममा मलाई पनि मन्तव्यका लागि बोलाइएको थियो । नेता माधव नेपाल पनि त्यो कार्यक्रममा अतिथिका रूपमा आउने सुनेको थिएँ । तर, उनलाई त्यहाँ देखिसकेको थिइनँ । म मञ्चमा गएर व्यंग्यमन्तव्य राख्न थालेँ– ‘एउटा नेता स्वर्गे भयो, एउटा जन्तु रुँदै थियो । मैले भनेँ– नरोऊ बाबु, ईश्वर–लीला यही रह्यो । उसले भन्यो– बुझेँ हजुर, तर थाम्नै गाह्रो भयो यो मन, जम्मा एउटा मर्‍यो भर्खर, हेर्नुस् त अरू कति बाँकी छन् †’ मन्तव्य सकेर आफ्नो स्थानमा गएर बसेँ । कार्यक्रम पनि सकियो । तर, मैले माधव नेपाल आएको थाहा पाइनँ । आयोजकलाई सोधेँ– ‘खोइ त, माधव नेपाल आउनुहुने भनेको होइन ?’ उनले जवाफ दिए– ‘तपाईंको व्यंग्य सुनेर बीचैमा उठेर हिँडे, मलाई यस्तै सुनाउन बोलाएको भन्दै रिसाए ।’
०००
चट्याङ मास्टर मेरो साहित्यिक नाम हो । त्यसअघि वज्रपाणि नामले चिनिन्थेँ । आइएस्सीको विद्यार्थी थिएँ । एक दिन साथीसँग पाटन म्युजियम घुम्न जाँदा वज्रपाणि नामको मूर्ति देखेँ । साह्रै मन पर्‍यो । साथीलाई सुनाएँ– ‘मेरो छोरा जन्मेपछि उसको नाम वज्रपाणि राखिदिन्छु ।’ बिहे भएकै थिएन, सम्झँदा हाँसो पो उठ्छ । पछि बिहे भयो, छोरा पनि जन्मियो । नाम जुराउने बेला पण्डितसँग सल्लाह गरेँ– ‘वज्रपाणि राखौँ ।’ उनले मानेनन्, जन्मसमयअनुसार त्यो जुर्दैन भने । एक मनले त झोक पनि चल्यो– छोरा पाउने म, हुर्काउने–बढाउने म, अनि उसैको नाम मेरो वशमा नहुने †
पहिल्यैदेखि मलाई पढ्न–लेख्न अनि व्यंग्य गर्न रमाइलो लाग्थ्यो । एक साथीलाई छोराको नाम आफूले योजना गरेअनुसार राख्न नपाएको गुनासो सुनाएँ । उसले मलाई त्यसैमाथि व्यंंग्य लेख्न सुझाव दियो । मेरो त्यो लेख देशान्तर पत्रिकाले छापिदिई पनि हाल्यो । आफ्नो लेख पत्रिकामा छापिएको देख्दा दंग परेँ । त्यो लेख कृष्णमुरारी गौतम नामबाट लखेको थिएँ । छोराको नाम वज्रपाणि राख्न नपाएको रन्को बाँकी नै थियो । त्यसलाई त्यत्तिकै बिर्सन मन लागेन । अनि त्यसपछिका आफ्ना लेख नै वज्रपाणि नामबाट लेख्न थालेँ, ०३४ सालबाट । त्यो नामलाई आफ्नो कलमपुत्र सम्झिएर चित्त बुझाएँ ।
पत्रिकामा नियमितजसो मेरा लेख आउन थाले । पञ्चायती व्यवस्था थियो । मौलिक हक र राजनीतिक स्वतन्त्रता प्रतिबन्धित थिए । ०४४ सालको एक साँझ सधैँझैँ अफिसबाट घर आइपुगेँ । सबैको मुहार निन्याउरो देखेँ । परिवारका अलावा अरू आफन्त पनि थिए । श्रीमतीका आँखा राताराता भइसकेका रहेछन् । मलाई देख्नेबित्तिकै ग्वाँ..ग्वाँ रुन थालिन्– ‘जान्ने भएर किन लेख्नुपरेको नि त्यस्तो ?’ अर्कोले थप्यो– ‘नलेखेको भए हुन्थ्यो ।’ आफू त व्यंग्य छापिएपछि सबैको वाहवाही बटुलेर दंग परिरहेको मान्छे, परिवारको यो हालत देख्दा छक्कै पो परेँ ।
त्यति बेलाको एउटा लेखमा सरकारी कर्मचारीप्रति व्यंग्य गरेको थिएँ । उनीहरूले विदेश जाँदा देखाउने हर्कत उदांगो पारिदिएको थिएँ । जस्तै– विदेश जान्छन्, हाजिर गरेपछि काममा भन्दा घुम्नमा र किनमेलमा बढी समय खर्चिन्छन् । रक्सीमा मस्त हुन्छन्, श्रीमती र सालीका लागि सारी पसल चहार्छन्..यस्तै यस्तै । यो आफैँले देखेको तीतो सत्य नै थियो । तर, मेरो व्यंग्य तत्कालीन सरकार र सरकारी कर्मचारीलाई अपाच्य भएछ । अञ्चलाधीश कार्यालयले भोलिपल्ट मलाई पक्राउ गर्ने गरी घरमा आदेशपत्र थमाइदिएछ । त्यस दिन अञ्चलाधीशको हस्ताक्षर गराउन सम्भव नभएकाले भोलिपल्टलाई पक्राउ मिति तोकिएको रहेछ ।
घोत्लिएँ– आखिर कुनचाहिँ व्यंग्य पचेनछ त यिनीहरूलाई ? तत्कालीन युवराज दीपेन्द्र युकेमा पढ्थे । युकेको एउटा पत्रिकाले उनका बारे समाचार लेखेछ– ‘नेपालका युवराज पलङमुनि बियर राख्छन् । अनि बिक्री पनि गर्छन् ।’ त्यसैको कपी नेपाल पनि आइपुगेछ । समाचारको फोटोकपी छ्यापछ्याप्ती भइसकेछ । मेरो लेखलाई सरकारी कर्मचारीले अनर्थ लगाएर व्याख्या गरेछन्– ‘यसले पनि घुमाइफिराई हाम्रा युवराजलाई नै व्यंग्य गरेको हो ।’ त्यो समाचारको फोटोकपी हातमा लिने जोसुकैलाई पनि पक्राउ गर्ने लहर चलेको थियो । त्यही मेसोमा म पनि परेछु । त्यसपछि परिवारले मलाई नलेख्न दबाब दिन थाले । हुन त मैले समाजका विकृति हटाउन लेखेको न थिएँ, जेल जान वा पिटाइ खान होइन । परिवारले साह्रै कचकच गरेपछि लेख्न छाडिदिएँ ।
दुई–तीन महिना त जसोतसो बिताएँ, लेख्न नपाएकोमा छटपटी हुन थालिहाल्यो । एउटा विषय दिमागमा उब्जिरहेको थियो । त्यसलाई कसरी व्यंग्यात्मक शब्दमा उतार्ने भन्नेमा चिन्तित हुन थालेँ । घरमा लेखुँ, परिवारले गाली गरिहाल्थे । अफिसमा अफिसकै काम भ्याइनभ्याइ । फेरि अफिसको काम पूरै अंग्रेजीमा लेख्नुपथ्र्यो । नेपालीको कामै थिएन । घरमा अंग्रेजी लेखे श्रीमती माया गरेर चिया दिन्थिन्, नेपाली अक्षरमा लेख्न थाल्यो कि ह्वाँ..ह्वाँ.. रुन थालिहाल्थिन् । व्यंग्य लेख्न नपाएको छटपटी झनझनै बढिरहेको थियो । श्रीमती सुतेपछि केही समय लेख्थेँ । अनि त्यसलाई कापीबाट छुट्याएर डस्टबिनमा हाल्थेँ । माथिबाट अंग्रेजी लेखिएका पानाहरूले ढाकिदिन्थेँ । यसो गर्दा पनि साह्रै सन्तुष्टि मिल्थ्यो ।
एक दिन साथीलाई पीडा सुनाएँ– ‘मलाई नलेखी चित्तै बुझ्दैन तर लेख्नै पाउँदिनँ ।’ उनले सुझाव दिए– ‘त्यसो भए वज्रपाणि फेरेर अर्कै नामबाट लेख न त ।’ मानिनँ, ‘अहँ, हुँदैन आफँैले जन्माएको नाम कसरी मारूँ ।’ उनले केही दिनपछि फोन गरे– ‘ल एउटा उपाय छ, नाम पनि मर्दैन, पुलिसको कुटाइ पनि भेटिँदैन । वज्र भनेको नेपालीमा चट्याङ । पाणि भनेको गुरु । गुरुको अंग्रेजी अर्थ मास्टर । यसरी जोड्दा वज्रपाणिको कुल अर्थ चट्याङ मास्टर हुन्छ । त्यसैले आफ्नो नाम चट्याङ मास्टर राख । कसैले थाहा पाउँदैन । थाहा पाउँदासम्म देशको अवस्था अर्कै भइसकेको हुनेछ ।’ मलाई ठीक लाग्यो । त्यसपछि म चट्याङ मास्टर भएँ ।
वज्रपाणिले लेख्दा दुई–तीन पाना लेख्थ्यो । अब उति धेरै लेखे श्रीमतीलाई थाहा पाउलिन् भन्ने डर । परिवारभित्रै सुरक्षा नहुने । त्यसपछि आफ्नो रचनालाई खँदिलो अनि छोटो बनाउने सोच बनाएँ । चट्याङ मास्टरले स्वाट्ट लेख्ने अनि लुकाइहाल्ने नीति अख्तियार गर्‍यो । गद्यबाट पद्य लेखन सुरु गर्‍यो । आउनुपर्ने गुदी छोटोमै निकाल्न थाल्यो ।
०००
मेरो नामको ‘चट्याङ’ शब्दप्रति सबैको आआफ्नै विश्लेषण छ । कसैले यसले अँध्यारोमा प्रकाश दिएको देख्छन् त कसैले मान्छे मारेको । प्राकृतिक चट्याङले जे गरे पनि मेरो चट्याङले चाहिँ आजसम्म कसैलाई मारेको छैन । बरु धेरै ठाउँमा उज्यालो छरेको छ । बहुदल आएपछि रेडियो–टिभीमा बोल्न थालेँ । सबैको वाहवाही पहिलेभन्दा बढी पाउन थालेँ । श्रीमती पनि दंग पर्न थालिन् । अब विगतका जस्ता समस्या रहेनन् । कसैलाई गाली नै गर्नुपरे पनि मीठो गरी भनिदिन्छु । शब्द राम्रो प्रयोग गर्छु ताकि गाली खानेलाई पनि रमाइलो लागोस् । फेरि मेरो उद्देश्य भनेको सुधार्नु हो, नाश गर्नु होइन । त्यसैले व्यंग्य खानेहरू पनि सरले कस्तो मज्जाले भन्नुभयो भन्दै हाँस्न थाल्छन् । सबैले माया नै गरेका छन् । नामकै कारण धेरै स्थानमा सहुलियत पनि पाएको छु ।
एकचोटि राष्ट्रिय प्रज्ञाप्रतिष्ठानको पुस्तकालयमा साह्रै भद्रगोल देखेँ । त्यसमाथि पनि व्यंग्य लेखिहालेँ । आशय थियो– प्राज्ञिक स्थानको त यो हालत छ भने झन् अन्त कति बिजोग होला ? पछि जाँदा त त्यहाँको रूपरंग नै परिवर्तन भएछ । खुसी लाग्यो– कम्तीमा मेरो सुझावले सुधार भएछ भनेर । आजसम्म जति पनि व्यंग्य लेखेँ, कुनैमा पछुतो लागेको छैन । फेरि मेरो व्यंग्यले कोही रिसाउला कि भनेर सोच्दिनँ । समाजमा देखेको सही कुरा लेख्ने न हो । लेखनबाट सबैभन्दा पहिला आफू सन्तुष्ट हुन सक्नुपर्छ । अरू कतिले ताली पिटे वा गाली गरे, त्यसमा मलाई सरोकार हुँदैन ।
चट्याङमास्टर नामले प्रशंसा त दिलाएकै छ, कहिलेकाहीँ आफैँलाई तनाब पनि बढाइदिएको छ । पाटनमा बस्थेँ । टोलका मान्छे आएर भने– ‘लौ अब तपाईं हाम्रा लिडर, जिविस जाऊँ न एकचोटि, टोलको बाटो बनाउनुपर्‍यो ।’ लौ त भनेर गएँ । हाकिम महिला रहिछन्, सुरुमा अलि बटारिएको कुरा गर्दै थिइन् । पछि मलाई चिनिछन्, वाहवाही गर्न थालिन्– ‘तपाईं चट्याङमास्टर होइन ? ओहो सरको कविता त… †’ लौ सरको काम त गरिहाल्नुपर्छ भन्दै तुरुन्तै अरू कर्मचारीलाई आदेश दिइन् । काम भयो, म पनि दंग परेँ ।
हाकिमले नै त्यसरी प्रशंसा गरिदिएपछि अब मेरा घरमा मान्छेको लाइन लाग्न थाल्यो । बिहान एक हुल आउँछ, बाटो बनाउन पर्‍यो भन्छ । बेलुका अर्को हुल आउँछ, ‘लौन हजुर छोराछोरीलाइ जागिर लागाइदिन पर्‍यो’ भन्छ । आउनेलाई चिया खुवाउनै पर्‍यो । नेताकै घरजस्तो पो हुन थाल्यो । चिया खुवाउनकै सास्तीले केही समयपछि त्यो घरै बेचेर बसाइँ सरेँ । किनकि मेरो चाहना नेता हुने थिएन । यस्तो अवस्थालाई म मीठो दर्द भन्न रुचाउँछु ।
कृष्णप्रसाद भट्टराईको सरकारमा ९ बजे कार्यालय जानुपर्ने नियम लागू भयो । सरकारले के–के न गर्‍यो भन्ने भयो । केही महिनापछि फेरि उस्तै गति । त्यसै विषयमा पत्रिकामा व्यंग्यकविता छपाएँ । आशय थियो– ‘नौ बजे नै अफिस खुल्छ, दश बजे त पुग्नै पर्‍यो । भलाकुसारीमा हाकिमलाई एकघन्टा दिनै पर्‍यो । हेलो हाई नमस्तै गर्दै एघार बज्छ । पत्रपत्रिका पढ्दै घडीले बाह्र हान्छ ।’ ती महिला हाकिमले मेरो यही कविताको जमेर प्रशंसा गरेकी थिइन् ।
मलाई अरू साहित्यकारले भन्छन्– ‘तपाईंको कवितामा छन्द हुँदैन ।’ हो पनि, म छन्दका नाममा लम्बाचौडा लेख्दिनँ, अनेक शब्दको फुलबुट्टा झुन्ड्याउन मन पर्दैन । कसरी अभिव्यक्त गर्ने भन्दा पनि के अभिव्यक्त गर्ने भन्नेतिर मेरो सरोकार रहन्छ । त्यसो त मान्छेलाई फुर्सद पनि कहाँ छ र लम्बाचौडा पढेर बस्न ? सुन्नुपर्ने कुरो भए हुन्छ । प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय