वधशाला रिलिज, नोटबुक र हमेसा दोस्रो हप्तामा

Neeta-Dhunganaकाठमाडौ : सधैँजसो फ्राइडे रिलिजअन्तर्गत दुई वा सोभन्दा बढी संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका भए पनि आज शुक्रबार भने एक मात्र चलचित्र वधशाला प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको सुरुआतमा प्रदर्शनमा आएका चलचित्र ‘नोटबुक’ र ‘हमेसा’ पहिलो हप्ताको सफल व्यवसाय गर्दै दोस्रो हप्तामा प्रवेश गर्न सफल भएपछि यो साता एक मात्र चलचित्र सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । आज शुक्रबारबाटै प्रदर्शनमा आउने भनिएका दुई चलचित्र ‘दृष्टिकोण’ र ‘हिम्मत–२’ भने केही समयका लागि पछि सारिएपछि यससाता एक मात्र चलचित्र प्रदर्शनमा आउने भएको हो । दुई चलचित्र पछि सरे पनि वधशालाले यो सिंगल रिलिज पाए पनि दोस्रो सातामा प्रवेश गरेका चलचित्र ‘नोटबुक’ र ‘हमेसा’सँग व्यावसायिक प्रतिस्प्रर्धा गर्नेछ.। ‘वधशाला’ मनोज पण्डितको निर्देशनमा तयार भएको चलचित्र हो भने ‘नोटबुक’का निर्देशक योगेश घिमिरे हुन् । त्यस्तै ‘हमेसा’लाई सवीर श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र हो । यी तीनै चलचित्र देशभर व्यावसायिक प्रतिस्प्रर्धाका लागि भिड्न लागेका हुन् ।
‘वधशाला’ उपत्यकाकै एफक्युब, क्युब, बिग सिनेमा र केही मल्टिल्पेक्स र मोफसल चलचित्र भवनबाट प्रदर्शनमा आउन लागेको हो । केही समय पहिले शान्ति प्रक्रिया भाँडिने कारण देखाउँदै नेपाली सेनाले प्रदर्शनमा रोक लगाएको थियो । चलचित्र सेनाले आपत्ती जनाएका दृश्यहरू काँटछाँट पछि प्रदर्शनमा आउन लागेको हो । सौगात मल्ल, दयाह्याङ राई, अनुप बराल, अर्पण थापा, खगेन्द्र लामिछाने, सरित गिरी र समुना केसी आदि कलाकारका चलचित्रमा अभिनय छ । शैलेन्द्रध्वज कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व यसमा समेटिएको छ ।
‘नोटबुक’ यसवर्षको सबैभन्दा बढी चर्चामा रहेको चलचित्र हो । यसले गीतका कारण चर्चा पाएको हो । गीतले सांगीतिक बजार तताउन सफल यो अघिल्लो हप्ता रिलिजमा आएको मध्ये सबैभन्दा बढी व्यवसाय गर्ने चलचित्र भएको छ । गीतहरू हिट भएकाले दर्शकलाई पनि चलचित्र हेर्ने हलसम्म तानेको निर्देशक योगेश घिमिरेले बताए भने नेपाली चलचित्र राम्रो बन्दैन भन्नेलाई नोटबुकले गतिलो जवाफ फर्काएको छ ।
चलचित्रलाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । तीन चलचित्र निर्माण अनुभव भएकी जोशीका सबै मध्ये यसले व्यवसाय राम्रो गरेको छ । प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्र १९१८ तिरको यथार्थमा आधारित रहेर भविष्यमा हुने नेपालको कल्पना कथामा गरिएको छ । जीवन लुइँटेल, नीत ढुंगाना, सेन सापकोटा, सुनील थापालगायत कलाकारको यसमा अभिनय छ । चलचित्रका छायांकार सञ्जय लामा हुन् । वसन्त सापकोटाको संगीत र रोशन श्रेष्ठको द्वन्द्व चलचित्रमा समेटिएको छ ।
त्यस्तै ‘हमेसा’ छविराज ओझाको कार्यकारी निर्माणमा तयार भएको चलचित्र हो । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा सबिन श्रेष्ठ, नरेन खड्कालगायतका कलाकारको मुख्य भूमिका छ । सुवास सिंह बस्न्यातको लेखन र मदन घिमिरेको छायांकन रहेको यस चलचित्रमा रेखा पौडेलले संगीत भरेकी हुन् । चलचित्रका गीत–संगीतले बजार तताउन नसके पनि चलचित्रको व्यवसाय भने आशालाग्दो गरेका कारण पनि यो दोस्रो हप्तामा पुग्न सफल भएको हो ।
आजै शुक्रबार प्रदर्शनमा आउन लामो एक्सर्साइज गरिएको चलचित्र ‘हिम्मत–२’ एकहप्ता अर्थात् आगामी १३ गते शुक्रबारसम्म पछि सरेको छ । मोफसलका सहरमा यो एक वर्ष पहिले रिलिजमा आएको थियो । तर त्यहाँ सन्तोषजनक व्यवसाय यसले गर्न सकेन । चलचित्र ‘हिम्मत–२’ निर्देशक दीपक श्रेष्ठकै लगानीमा निर्माण भएको छ ।
विराज भट्ट र युना उप्रेती, दिनेश डिसी, वसुन्धरा भुसाल, विजया गिरी, सुशील पोखरेललगायतका कलाकारको यसमा अभिनय छ । एक्सन प्रधान विषयवस्तु रहेको यस चलचित्रमा आलोकश्रीका संगीत छन् ।
थुप्रै सफल चलचित्र दिएका निर्देशक तुलसी घिमिरेले तयार पारेको ‘दृष्टिकोण’ पनि आजबाटै प्रदर्शनमा आउने भनिए पनि अनिश्चित कालका लागि पछि सारिएको छ । लगातार दुई वा सोभन्दा माथिका संख्याका चलचित्र प्रदर्शनमा आएकाले यसलाई पर सारिएको निर्माण पक्षले जनाएको छ । मूलधार भित्रै रहेर तर फरक कथा, फरक तवरले निर्माण गरिएको भनिने यसचलचित्र दर्शकका चाहना अनुरूप निर्माण गरिएको दाबी निर्माण पक्षको छ । मान्छेले हेर्ने दृिष्टकोण व्यक्ति पिच्छे फरकफरक हुन्छ भन्ने कथा चलचित्रमा छ । मञ्जुमिता फिल्मस्को ब्यानरका लागि एल. लामा, ममता गजमेर र राजु धामीले संयुक्त रूपमा चलचित्र निर्माण गरेका हुन् । कुनाल, हिमानी, ममता गजमेर, भारती घिमिरे, मदन भुजेल, प्रतिमा, ललिता गोलेलगायत कलाकारका चलचित्रमा अभिनय छ । धेरै नयाँ अनुहार भित्र्याउन सफल निर्देशक घिमिरेकै लेखनमा चलचित्र तयार भएको हो । (सौस)

प्रतिक्रिया