प्रारम्भिक शिक्षाका लागि एकीकृत कार्यक्रम ल्याइने

काठमाडौं : बालबालिकाको सर्वांगीण विकासका लागि शिक्षा विभागले एकीकृत तथा बालविकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । अझै केही बालबालिका प्रारम्भिक शिक्षाबाट वञ्चित रहेकाले विभागले एकीकृत कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।
विभागका निर्देशक कमल पोखरेलले छुटेका बालबालिकालाई प्रारम्भिक शिक्षामा समेट्न क्षेत्रको नक्सांकन गरी एकीकृत कार्यक्रम सञ्चालन हुने बताएका छन् । ‘प्रारम्भिक कक्षामा सबै बालबालिका लागि शिक्षा पुर्‍याउने उद्देश्यले एकीकृत कार्यक्रम सञ्चालन गर्ने तयारी भएको हो,’ निर्देशक पोखरेलले भने, ‘यसबाट सबै बालबालिकाले शिक्षा पाउनुका साथै उनीहरूको सर्वांगीण विकास पनि हुन्छ ।’
विभागले स्थानीय विकास, स्वास्थ्य र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतसँग समन्वय गरी एकीकृत कार्यक्रम लागू गर्ने जनाएको छ । पोखरेलका अनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशिका बनाउने काम भइरहेको छ । प्रारम्भिक बालविकास शिक्षा सञ्चालन भए पनि २६ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित छन् । विभागले ३ देखि ४ वर्ष उमेरका बालबालिकालाई कक्षा १ मा भर्ना हुनुअघि प्रारम्भिक कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक कक्षा लिएका ७३.७ प्रतिशतमध्ये ५५.६ प्रतिशत बालबालिका मात्र कक्षा १ मा भर्ना हुने गरेको पाइएको पोखरेलले बताए । ‘यस शैक्षिक सत्रमा ८७ प्रतिशत बालबालिकालाई प्रारम्भिक शिक्षा दिइनेछ,’ उनले भने, ‘विद्यालय भर्नादर पनि ६४ प्रतिशत पुर्‍याइनेछ ।’
परीक्षणका लागि विभागले पाँच जिल्लामा एकीकृत कार्यक्रम सञ्चालनसमेत गरेको छ । (सौस)

प्रतिक्रिया