अस्पतालमा मौसमी इन्फ्लुएन्जाका बिरामीको चाप

काठमाडौं, ६ वैशाख । मौसम परिवर्तनसँगै देशभरका अस्पतालमा मौसमी इन्फ्लुएन्जाका बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै मानिसमा देखापर्ने रुघाखोकी तथा ज्वरोलाई मौसमी इन्ºलुएन्जा भनिन्छ ।

मौसम परिवर्तनसँगै धुलो–धुवाँका कारण धेरैलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार मौसमी इन्फ्लुएन्जाका कारण रुघाखोकी र ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेर गएको छ । अस्पतालका निर्देशक डा. इन्द्र प्रजापतिले अस्पताल आउने अधिकांश बिरामी मौसमी इन्फ्लुएन्जाका रहेको बताएका छन् ।
‘वातावरणमा आएको परिवर्तनसँगै बढेको धुलो र धुवाँका कारण स्वास्थ्यमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पर्ने भएकाले यस्तो बेला हरेकलाई रुघाखोकीसहित ज्वरो आउने गर्छ,’ निर्देशक डा. प्रजापतिले भने, ‘कुनै एउटा मौसममा रहिरहेको शरीर तुरुन्त अर्को मौसममा जान खोज्दा एकैपटक मौसमअनुरूप परिवर्तन हुन नसक्ने र रोग प्रतिरोधात्मक क्षमता पनि परिवर्तन हुन समय लाग्ने भएकाले अधिकांश व्यक्तिमा यस्ता समस्या देखिने गर्छ ।’ उनका अनुसार अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको चाप पहिलेको तुलनामा ३० देखि ४० प्रतिशतले बढेको छ ।
वीर अस्पतालमा पनि मौसमी इन्ºलुएन्जाका बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालका डा. ध्रुवप्रसाद सिंहका अनुसार भाइरसका कारण हुने मौसमी इन्ºलुएन्जा अति छिटो सर्ने रोग भएकाले बिरामीको संख्या बढिरहेको हो । ‘भाइरसबाट लाग्ने अरू रोगको तुलनामा यो रोगलाई साधारण रोगका रूपमा लिने गरिन्छ,’ डा. सिंहले भने, ‘मानिसलाई यो रोग वर्षको २ देखि ३ पटक प्राय: सबैलाई लाग्ने गरेको छ ।’
उनका अनुसार मौसम परिवर्तनको समयमा लाग्ने भएकाले यो रोगलाई मौसमी इन्ºलुयन्जा तथा मौसमी रुघा भन्ने गरिएको हो । यो रोगले नाक तथा घाँटीमा असर पार्छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा एकदम छिटो सर्छ ।
मौसमअनुसारको लुगाफाटा नलगाउनाले, सरसफाइ र खानेकुरामा ध्यान नदिनाले, जाँड–रक्सी तथा धूमपान गर्ने बानीका कारण पनि सबै उमेरकालाई यो रोग लाग्ने गरेको उनले बताए । उनका अनुसार यस्ता इन्फ्लुएन्जाका कारण हुने रुघाखोकी सामान्यत: आफैँ पनि निको हुन्छ । कहिलेकाहीँ जटिलता पनि आउने हुँदा यसकै कारण विश्वमा हजारौँको मृत्यु हुने गरेको उनले उल्लेख गरे ।
स्वास्थ्य सेवा विभागको रोग नियन्त्रण महाशाखाका अनुसार मौसम परिवर्तनलगत्तै देशभरका स्वास्थ्य संस्थाबाट यसप्रकारका बिरामीको संख्या बढिरहेको प्रतिवेदन आइरहेको छ । महाशाखा प्रमुख डा. जिडी ठाकुरले मौसमी इन्ºलुयन्जा भाइरसका ए, बी र सी तीनमध्ये ‘ए’ समूहका कारण हुने श्वासप्रश्वाससम्बन्धी सरुवा रोग धेरै देखिएको खबर जिल्लाबाट आइरहेको जानकारी दिए ।
चिकित्सकका अनुसार यो इन्फ्लुएन्जाको मुख्य लक्षण रुघा लाग्नु हो । सामान्य ज्वरो आउने, जिउ दुख्ने, नाक सनसनाउने, घाँटी खसखसाउने, सास फेर्न अप्ठ्यारो हुने, पातलो सिँगान आउने, अल्छी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, टाउको दुख्ने तथा खान मन नलाग्नेजस्ता लक्षण पनि देखा पर्छन् । रुघाखोकीमा सय डिग्री फरेनहाइटसम्म ज्वरो आउने नाकबाट पानीजस्तो तरल पदार्थ बग्ने, जिउ भारी हुने, घाँटी दुख्ने समस्या देखिने डा. सिंहले जानकारी दिए । उनका अनुसार पर्याप्त मात्रामा झोलिलो खानेकुरा खाने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा, भिटामिन ‘सी’युक्त फलफूल खाने, उचित आराम गर्ने यो रोगबाट जोगिने मुख्य उपाय हुन् । यसका साथै यी रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छ्यँु गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ ।

प्रतिक्रिया