सावित्रीको आर्तनाद खोइ हत्यारालाई कारबाही ?

Sabitriअपराधी होइनन् सावित्री श्रेष्ठ । तैपनि, राजधानीका ताता सडकमा पसिनाका धारा चुहाउँदै पैताला सेकाउन विवश छिन् उनी । घोक्रो सुकुन्जेल कराएर न्यायको भीख माग्छिन् प्रधानमन्त्रीसँग । तर, राज्यले टेरपुच्छर लाउँदैन । मानौँ, मनमनै यसो पो भनिरहेछ– ‘तँजस्ती कुनै राजनीतिक पावर नभएकीलाई पनि के को न्याय ?’ अपराधी अरू नै कोही छ । तर, पलपल आफूले चाहिँ सजाय भोग्नुपरेजस्तो विषम अनुभूतिले गाँजिरहेछ सावित्रीलाई हिजोआज । सार्वभौम कानुनी राज्यभित्रै न्यायविहीनताको अनुभूति बोकेर बाँच्नु साँच्चै कहालीलाग्दो छ ।

बेतुकको अभियोगमा परिवारका तीन सदस्यको हत्या हुनु अनि उनीहरूको वियोग सहेर बस्नु आपैँmमा एउटा सजाय । हत्या अभियोगमा अदालतले जन्मकैदको फैसला गरेका ‘अभियुक्त’ जेलमा हुनुको साटो मुलुकका प्रधानमन्त्रीसँगै कुम जोडेर हिँडेको देखिरहन पर्नु अर्को सजाय । अनि हत्यारालाई राज्य आपैँmले कारबाही गरिदिनुपर्नेमा आफू दिनहुँ मुलुकका कार्यकारी प्रमुखको ढोकामा पुगेर त्यसका लागि घचघच्याइरहँदा पनि न्याय नपाउनु थप सजाय । यी र यस्तै शारीरिक अनि मानसिक प्रताडनाको घेराबन्दीभित्र न्यायविहीनताको रापले नराम्ररी डढिरहेको छ, सावित्रीको ‘द्वन्द्वपीडित’ मन । अनि आर्तनाद सुनाइरहेछ– ‘हामीजस्ता सर्वसाधारण नागरिकले न्याय पाउन कति जनाको बलिदानी गर्नुपर्ने हो ?’
दिनहुँ बालुवाटार पुग्नु अनि हातमा तीन जनाको तस्बिर अंकित ब्यानर बोकेर प्रधानमन्त्रीनिवासतर्फ याचनापूर्ण दृष्टि फ्याँकिरहनु सावित्रीको दैनिकी बनेको छ । ब्यानरमा उनका भाइ उज्जनकुमार, दाइ गणेश श्रेष्ठ र भदै (गणेशकी छोरी) अञ्जनाको तस्बिर छ । आफन्तहरू पनि साथै लागेर न्यायका लागि अपिल गरिरहेछन् । प्रधानमन्त्रीनिवास अघिल्तिर यसरी नै बसेर सय दिन बिताइन् उनले । न्यायका लागि थालिएको ‘अकुपाई बालुवाटार’ अभियान अहिले स्थगित भइसक्यो तैपनि हत्यारामाथिको कारबाही अझै निश्चित छैन । ‘उज्जनकुमार श्रेष्ठको हत्यारा बालकृष्ण ढुंगेललाई कारबाही गर, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर’, सडकमा निस्किएर कारबाहीको माग गर्ने उनको अभियान पनि कमजोर भने भएको छैन ।
०५५ असार १० गते एकाबिहानै घरबाट हाट हिँडेका भाइ उज्जनकुमारको निर्मम हत्या भयो । भाइको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दा परिवारका अरू दुई सदस्यको पनि ज्यान गइसकेको छ । सर्वोच्च अदालतले उज्जनको हत्यामा संलग्न भएको ठहर गरी बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैद सुनाएको तीन वर्ष भयो । अर्का अभियोगी पुस्कर गौतमलाई गत चैतमा जन्मकैदको फैसला गरिसकेको छ । तर, दुबैलाई कारबाही भएको छैन । बालकृष्ण ढुंगेललाई त पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो । यद्यपि, सर्वोच्चले आममाफी नदिई अहिलेकै अवस्था कार्यान्वयन गर्नू भन्ने आदेश जारी गरिदियो । तैपनि, उनी अझै पक्राउ परेका छैनन् ।
‘हेरौँ, राज्यले कति दिनसम्म अपराधी लुकाएर राख्न सक्दो रहेछ ?’, पटकपटकको अपिल सुनुवाइ नहुँदा पनि एक दिन अवश्य न्याय पाउँछु भन्नेमा दृढ छिन् सावित्री, ‘मैले न्याय अवश्य पाउनेछु ।’ डा. भट्टराई प्रधानमन्त्री हुँदादेखि थालिएको थियो, अकुपाइ बालुवाटार अभियान । सोही क्रममा ढुंगेलमाथि सर्वस्वसहित जन्म कैदको फैसला सुनाउने प्रधानन्यायाधीश खिलराज रेग्मी अहिले नेपालको कार्यपालिका सम्हाल्न आइपुगेका छन् । ‘रेग्मी अहिले आपैँm सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गराउने ठाउँमा पुग्नुभएको छ । हेर्छु, उहाँले आफ्नो फैसला र न्यायालयको इज्जत बचाउनुहुन्छ कि हुन्न †’, सावित्री भन्छिन्, ‘हत्यारालाई सजाय सुनाउने न्यायमूर्ति फैसला कार्यान्वयन गराउने निकायको प्रमुख हुनुहुन्छ, उहाँको कार्यकालमै मेरो परिवारले न्याय पाउँछ भन्नेमा ढुक्क छु ।’
०००
०५५ असार १० गतेको त्यो दिन सम्झिँदा भाइ उज्जनसँगका स्मृति सावित्रीका आँखामा टिलपिलाइरहेका देखिन्थे । उनी भक्कानिइन्, आँखाका चेप रसाए । एकैछिनमा फेरि सम्हालिइन् । पटकपटक दाजुभाइ र भदैको स्मृति बल्झिनु अनि बौरिनु त उनका लागि सामान्य भइसकेको छ । वेदना, वियोग र अपमानको पीडा खात लागेर उनीभित्र जमिरहेको छ । घरीघरी त्यो रोष बनेर बाहिर निस्किन खोज्छ । त्यस बेला उनको मुहार क्रोधले उन्मत्त भइरहेकी महाकालीको जस्तो देखिन्छ । मानौँ, न्याय नपाएको रन्कोमा उनी आपैँm अपराधीको छातीमा त्रिशूल गाड्न उद्यत हुनेछिन् । तर, यथार्थ यही हो, उनी एउटी निरीह नागरिक मात्रै हुन्, उनीसँग आवाजको हतियारबाहेक अरू केही छैन । फेरि फर्किन्छिन्, आफ्नै वेदनाको संसारमा अनि पिरोलिन थाल्छिन् ।
ओखलढुंगाको पोकली गाविस–२ सावित्रीको घर हो । लामो समय दिदी सावित्रीसँगै काठमाडौं बसेका उज्जन बुबा बिरामी भएपछि घर फर्किएका थिए । मिल चलाउन थालेका थिए । विवाहित भए पनि उनको गाउँकै ब्राह्मण युवतीसँग प्रेमविवाह भयो । त्यही आरोपमा बालकृष्ण ढुंगेलको नेतृत्वमा उज्जनको हत्या भयो ।
घरबाट पाँच मिनेटको बाटोमा हाट हिँडेका भाइलाई बिहान चार बजे निर्ममतापूर्वक हत्या गरिएको थियो । ‘घाइते बनाएपछि हात रगतमा डुबाएर हत्केलाको छाप भित्तामा लगाउन लगाएछन्, अनि हत्या गरेछन्’, सावित्रीको हिक्का बढ्यो, सम्हालिँदै थपिन्, ‘भाइले पटकपटक सपनामा आएर भन्थ्यो, दिदी मैले माफी मागेँ । नमार भनेर बिन्ती गरेँ, मानेनन् । खुकुरीले हानीहानी आफ्नै साथीले मारे ।’ उज्जनको लास भेटेनन्, उनका परिवारले । प्रहरीको अनुरोधमा काजकिरिया गरेको सावित्रीले बताइन् । त्यही रगत लतपतिएको हातको पञ्जा हेर्दै सावित्रीको परिवारले उज्जनको काजकिरिया सकेको १४ वर्ष पूरा भइसकेको छ । सावित्री र उनका परिवारलाई भने यो १४ वर्ष पुरानो पीडा १४ घन्टाको आलो घाउभन्दा बढी दुख्छ ।
०००
०५९ मंसिर ६ गते, सावित्री परिवारको दोस्रो शोक । भाइको हत्यापछि दाजु गणेश श्रेष्ठले न्यायको बाटो खोजे । हत्याराको नामै किटेर जिल्ला अदालतमा मुद्दा हाले । तर, कानुनको बाटो रोज्दा जीवनको अन्त्य गरियो गणेशको पनि । भाइको हत्यारामाथि काराबाही माग गर्दै न्याय खोज्न अदालत गएपछि पटकपटक आएको धम्की सहन नसकेर काठमाडौं आएका गणेश चार वर्षपछि घर फर्किएका थिए । साँघुटारमा रहेको घरबाट केही पर खेतमा धान थन्क्याउने चटारो थियो, त्यो दिन । घरमा गणेशकी छोरी रञ्जना खाजा बनाइरहेकी थिइन् ।
एक हुल केटाहरूले रञ्जनासँग उनका बुबा गणेशलाई चिनाइदिन अनुरोध गरे । उनले तिनीहरूसँग सोधखोज नै नगरी खेतमै पुर्‍याइन् । अनि बुबालाई चिनाइन् । तर, ती किशोरीले चिनाउनासाथ गणेशमाथि गोली हानियो । बाबुको मृत्युको कारण आपैँm बनेको ठानिन् रञ्जनाले । सावित्री भन्छिन्, ‘बालकृष्ण ढुंगेलले नै लगाएर दाइको पनि हत्या गराएको हो, आफ्ना विरुद्ध अदालत जानेलाई छोड्दै छोड्दिनँ भनेर उसले घोषणा नै गरेको थियो ।’
बुबाको हत्याको दृश्य आँखैअगाडि देख्नु, त्यसमाथि आपैँmले हत्यारालाई त्यहाँ पुर्‍याइदिएको पीडाले नराम्ररी बिथोलिइन् १४ वर्षीया रञ्जना । अपराधबोधले थिचिएपछि मानसिक समस्याले जकडिएकी उनले ०६३ सालमा आत्महत्या गरिन् । आठ वर्षको बीचमा एकै परिवारले तीन जनाको वियोग खेप्नुपर्‍यो ।
सावित्रीलाई कहिलेकाहीँ यी सबै घटना कुनै काल्पनिक कथा भइदिए हुन्थ्यो जस्तो लाग्छ । ‘८२ र ७८ वर्षका वृद्ध आमाबुबा त १४ वर्षयता बेहोसीमै जिइरहनुभएको छ’, काठमाडौंमा बसेर दुई छोरा र नातिनीको वियोगपीडामा छट्पटिरहेका बाबुआमाको मुहार देखेर सावित्री सोच्ने गर्छिन्, ‘कम्तीमा बालकृष्ण ढुंगेल र पुस्कर गौतमलाई पुलिसले पक्रेर जेल लगेको दिन मनमा अलिकति चैन हुनेछ र भाइ र दाइ सपनामा आएर पनि रुने छैनन् ।’ अदालतले अभियुक्त ठहर गरेका बालकृष्ण खुला संसारमै न्यायमाथि चुनौती दिँदै हिँडेकाले दाजुभाइको आत्माले शान्ति नपाएको, त्यसैले सपनामा आएर रुने गरेजस्तो लाग्छ सावित्रीलाई । ‘अदालतको फैसला कार्यान्वयन गर्ने विषय पीडित परिवारको मात्र नभएर सिंगै मुलुकको हो’, उनले भनिन्, ‘यो त न्यायालय र मानव सभ्यतामाथिकै प्रहार हो ।’
०५९ पछि न्यायका लागि परिवारको अगुवाइ गरिरहेकी सावित्री आफूलाई पनि पटकपटक ज्यान मार्ने धम्की आइरहेको बताउँछिन् । तर, न्याय ? सायद, धेरै टाढा । रगतको पोखरीमा मृत्युवेदनाले छट्पटिँदा दाजुभाइले गरेको चित्कार कति कारुणिक हुँदो हो ? सावित्रीले देखिनन्, सुनिनन् । तर, त्यो पीडाको बोध उनलाई आपैँmमाथि हतियार बज्रिएजसरी नै भइरहेको छ । मानौँ– उज्जन, गणेश र रञ्जनाको आत्मा सावित्रीभित्र प्रवेश गरेको छ अनि चिच्याई–चिच्याई भनिरहेछ– ‘हामीलाई न्याय देऊ ।’ त्यही आत्मिक ऊर्जा कारण हो, जसले सावित्रीलाई थाक्न दिएको छैन । उनी क्षणक्षणमा न्याय पाएको कल्पनाले लपक्कै भिज्छिन् । तर, सरकारले राजनीतिक अपराधको नाममा आममाफीको कुरा गर्दा उनको वेदना अझ बल्झिन्छ ।
‘म कानुनका पछाडि लागेकी हुँ । कानुन हातमा लिने दुष्प्रयास गरेको भए ढुंगेलको आपराधिक ताकतका अघि हामी कमजोर थिएनौँ । सरकारले कानुनको कार्यान्वयन गराउने आशामा अझै छौँ’, सावित्रीले भनिन्, ‘बालकृष्ण ढुंगेलले आममाफी पाए भने त्यो दिन सबै नेपालीले बुझ्नुपर्छ– राज्यले नै खुनको बदला खुन भन्ने जंगली सिद्धान्तको वकालत गर्दो रहेछ ।’

प्रतिक्रिया