पाँचथरमा दुईदिने बृहत् साहित्यिक महोत्सव हुने

पाचथर, ५ बैशाख । पाँचथरमा दुईदिने बृहत् भाषा तथा साहित्यिक महोत्सव हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग र नौलो साहित्यिक प्रतिष्ठान पाँचथरको सदरमुकाम फिदिममा महोत्सव आयोजना गर्न लागिएको हो । आगामी २० र २१ गते सो महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेची अञ्चलका चार जिल्लालाई मुख्य केन्द्र बनाइएको यस महोत्सवमा विभिन्न झाँक्रीसहित कविता प्रतियोगिता, उच्चमाध्यमिक तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमा पर्यटन विकाससम्बन्धी सिर्जनात्मक प्रतियोगिता, लिम्बू तथा राई भाषामा कविता प्रतियोगिता र विशिष्ट स्रष्टा सम्मानका साथ मनाउने कार्यक्रम रहेको प्रचार–प्रसार उप–समितिका संयोजक गिरिराज बाँस्कोटाले बताए ।
कार्यक्रममा कला साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने पाँचजना स्रष्टालाई सम्मान र नौलो साहित्य बिहान प्रतिष्ठानले स्थापना गरेको पाँच हजार राशिको ज्ञान दिलदास पुरस्कारअन्तर्गत एक जनालाई सम्मान गरिनेछ । पहिलो दिन धामीझाँक्रीसहितको बजार र्‍याली, दोस्रोदिन समसामयिक साहित्यिक अन्तरंग छलफल, कवि गोष्ठी आयोजना गरिने आयोजकले जनाएको छ ।
सो महोत्सवको अन्य आकर्षणमा फोटो तथा चित्र, विभिन्न जातजातिका बाजागाजा, आदिवासी चलचित्र, पुस्तक विमोचन तथा चेनतामूलक एकांकी नाटक प्रदर्शन रहेको छ । केन्द्रका विशिष्ट साहित्यकारको समेत महोत्सवमा सहभागिता रहने कार्यक्रममा ४३ सदस्यीय मूल आयोजक समिति र ११ सदस्यीय उप–समिति बनेको छ ।

प्रतिक्रिया