एमाओवादी नेता हतियारसहित पक्राउ

Gunकाठमाडौं, ५ वैशाख । प्रहरीले एमाओवादीको नेवा: राज्य समितिका सदस्यसहित चार जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा ताक्लुङका २३ वर्षीय यमबहादुर थापा, गोरखा छाप्रोङ–१ का एलिसा गुरुङ, मोरङ लेटाङ–४ का २५ वर्षीय रुद्र दाहाल र बाँके नेपालगन्जका १९ वर्षीय पंकज मल्ल छन् । प्रहरीले उनीहरूको साथबाट मेड इन जर्मन लेखिएको अत्याधुनिक राइफल, दुईवटा म्यागजिन, ५३ राउन्ड गोली, मेड इन जर्मनी लेखिएको एउटा सिक्सर रिभल्वर र त्यसमा लाग्ने दुई २ राउन्ड गोली बरामद गरेको छ । त्यसका साथै उनीहरूबाट खुकुरी र चक्कु पनि प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मित्रनगरस्थित नयाँबसपार्क नजिकबाट मंगलबार साढे आठ बजे पक्राउ गरेको हो । अवैध हतियार राखेको सूचनाका आधारमा प्रहरीले थापाको कोठा छापा मारेको थियो । उनी नेवा: राज्य समिति सदस्य रहेको प्रहरीले जनाएको छ ।
चारतले घरको भुइँमा बस्ने थापाको कोठामा खनतलासी गर्दा ‘लो बेड’को सिरानतर्फको बक्सभित्र राइफल फेला परेको थियो । आकर्षक बक्सभित्र राखिएको राइफलसँगै त्यसमा फिट हुने म्यागजिन र ५३ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ । उनको अर्को कोठा खनतलासी गर्दा कपडाको चाङभित्र लुकाई राखिएको अवस्थामा रिभल्वर र त्यसमा लाग्ने दुई राउन्ड गोली फेला परेको हो ।
प्रहरीका अनुसार त्यो कोठा गुरुङले प्रयोग गर्दै आएकी थिइन् । गुरुङ थापाकी साली हुन् । उनीहरू पक्राउ गरेलगत्तै प्रहरीले सहयोगीको भूमिका निर्वाह गर्ने दाहाल र मल्ललाई पक्राउ गरेको हो ।
प्रहरीले हातहतियार तथा खरखजाना ऐनअन्र्तगत थापा र गुरुङलाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिसकेको छ । दाहाल र मल्ललाई भने सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
पक्राउ परेका थापाले उक्त हतियार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर राखेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको रकेर्डअनुसार उनले २६ वैशाख ०६९ मा २२ बोरको राइफल राख्न पाउने भनी इजाजत लिएको देखिन्छ । तर, उनकै कोठामा बरामद भएको माउजर र त्यसको गोलीको भने इजाजत लिएको देखिन्न ।
प्रहरीका अनुसार इजाजत लिइएको भनिएको हतियार नै जिप्रकाले दिएको इजाजत पत्रमा उल्लेख भएअनुसार छैन ।

अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार इजाजत पत्रमा सामान्य खालको राइफल राख्न पाउने भनी उल्लेख छ । तर, बरामद हतियार अत्याधुनिक छ । ‘इजाजतपत्रमा सामान्य खालको हतियार राख्न पाउने भनी लेखिएको छ । तर, बरामद हतियार अत्याधुनिक देखियो जुन, हतियार आर्मी–पुलिसले प्रयोग गर्दै आएका छन् । इजाजत नलिई राखिएको हतियार त झन् अवैध भइहाल्यो,’ उनले भने ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार थापाले उक्त राइफल २६ वैशाख ०६९ मा सदिक्ष शेरचनको नामबाट नामसारी गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले उक्त हतियार नामसारी गरेको नभई नयाँ लिइएको बताए । ‘उनले नयाँ हतियारकै निम्ति आवेदन दिएका हुन् । नामसारी गरेको होइन,’ उनले भने । सिडिओ शर्माका अनुसार उनले ०६८ पुसतिर हातियारका लागि आवेदन दिएका थिए ।
विशेष स्रोतका अनुसार थापाले इजाजत लिएका र नलिई राखेका हतियार गलत धन्दामा प्रयोग गर्थे । विशेष गरी ठेक्कापट्टा, गुन्डागर्दीमा हतियार प्रयोग भएको स्रोतको दाबी छ । ‘कतिपय धन्दा त उनले सुपारी लिएरै गर्थे । चर्चित डन चरी भनिने दिनेश अधिकारीलाई उनले यही हतियार प्रयोग गरी गोली हानेका थिए । केही दिनअघि धादिङमा भएको हत्याकाण्डमा पनि उक्त हतियार प्रयोग भएको थियो,’ स्रोतले भन्यो । कतिपय स्थानमा सहयोगी परिचालन गरिए पनि धेरै स्थानमा थापा आफँ जाने गरेको स्रोतले बतायो ।
अपराधी धन्दामा उक्त हतियार प्रयोग भएको अपुष्ट जानकारी प्रहरीबाट आए पनि प्रमाण भने फेला पर्न सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले भने, ‘उक्त हतियार अवैध धन्दामा प्रयोग हुने गरेको अपुष्ट जानकारी छ । त्यस विषमा हामी अनुसन्धान गर्दै छौँ ।’
प्रजिअ शर्माले पनि उक्त हतियार अवैध धन्दा प्रयोग भएको सूचना आफूले पाएको बताए । ‘उक्त हतियार अवैध धन्दामा प्रयोग हुने गरेको भन्ने मैले पनि सुनेँ । इजाजत नलिएको हतियार बरामद भएको भन्ने पनि सुनेँ । यदि हो भने दुवै गैरकानुनी छ,’ उनले भने ।

प्रतिक्रिया