संघर्षका दिन बिर्सन सक्दिनँ

Pragya-Joshiएक समय यस्तो थियो, कलाक्षेत्रमा लाग्छु भन्ने एकरत्ति पनि संकेत मभित्र थिएन । आज लाग्छ– म कला अनि अभिनयकै लागि जन्मिएकी रहेछु । जिन्दगीमा अनायासै आइपर्ने मोडहरूले सबैलाई सही गन्तव्यमा पुर्‍याउँछन् भन्ने छैन तर मेरो हकमा चाहिँ कलाक्षेत्रतर्फको टर्निङ प्वाइन्ट फलिफाप नै साबित भएको छ ।
०५१ सालका ती दिन म नर्सिङमार्फत भविष्य बनाउने सुरमा थिएँ । त्यसैअनुसार अध्ययन अघि बढाइरहेकी थिएँ । अध्ययनकै सिलसिलामा एउटा सामाजिक प्रोजेक्टमा इन्भल्भ हुने मौका मिल्यो । त्यही प्रोजेक्टमा हुनुहुन्थ्यो, कलाकार सपना श्रेष्ठ र निर्देशक तीर्थ थापा पनि । उहाँहरूसँग मेरो चिनजान झांगियो । यसै कारण दुई महिना अवधिको त्यो प्रोजेक्ट सकिइसकेपछि पनि हामी मित्रताको लामो सूत्रमा बाँधिइरह्यौँ । भेटघाट चलिरह्यो । तीर्थ दाइले एक दिन सडकनाटकमा अभिनय गर्न अफर गर्नुभयो । मैले पनि सहजै स्वीकारेँ । नाटकको नाम त अहिले बिर्सिएँ तर त्यसमा मेरो अभिनय देखेपछि सबैले मलाई कलाक्षेत्रमै लाग्न सुझाव दिनुभयो । तीर्थ दाइको हौसला र प्रेरणाले मलाई पनि यतैतिर मोडिदियो । अब मेरो भविष्यको कल्पनाभित्रको नर्सिङमोहलाई कलाकारिताले विस्थापित गरिसकेको थियो ।
कलाकारिता सुरु गरेको प्रारम्भिक दिनमै टेलिशृंखला अभिनयको प्रस्ताव आउन थाले । यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु, मैले कलाक्षेत्र प्रवेशका लागि उति धेरै संघर्ष गर्नु नपरेकै हो । तर, यसलाई निरन्तरता दिने क्रममा फेस गरेका संघर्षचाहिँ कम्ती कठिन थिएनन् । निर्देशक सुवास गजुरेलसँग भेट भएपछि मेरो टेलिशृंखला यात्रा सुरु भयो । उहाँले ‘उखान–टुक्का’ नामक सिरियलमा अभिनय गराउनुभयो । मैले पहिलोचोटि क्यामेरा फेस गरेको त्यही बेला हो । त्यसमा अभिनय गरेपछि कलाक्षेत्रमा म पनि चिनिन थालेँ । सुवास दाइले लगाउनुभएको त्यो गुन म कहिल्यै बिर्सन सक्दिनँ ।
मलाई अभिनयमा स्थापित गरेकोचाहिँ ‘चेतना’ सिरियलले हो । ‘उखान–टुक्का’मा अभिनय गरेपछि निर्देशक लय संग्रौला दाइले मलाई ‘चेतना’ मा निकै राम्रो भूमिका दिनुभयो । टेलिभिजनबाट निकै वर्ष प्रसारण भएको त्यो सिरियलमा अभिनयपछि दर्शकहरूले मेरो नाम सोधीखोजी गर्न थाले । चेतनाको त्यो भूमिका नपाएको भए सायद म यति छिटै यति अगाडि आइपुग्दैनथेँ होला । त्यसपछि सिरियलबाट त अफर आइरहे नै, चलचित्रले पनि मलाई पत्याउन थाल्यो ।
चलचित्र र टेलिचलचित्रमा लामो संलग्नतापछि अब म पनि कलाक्षेत्रभित्रका जोडघटाउ धेरथोर बुझ्ने भइसकेकी थिएँ । यसैलाई पेसा बनाइसकेकी थिएँ । अठोट थियो– ‘अब जे गर्छु, कलाकारिताबाटै गर्छु ।’ आफूलाई अभिनयमा मात्रै सीमित राख्नु उचित लागेन । निर्माणतिर पनि हात हालेँ । यसो हुँदा व्यावसायिक प्रयोजनले पनि आफ्ना लागि मार्गप्रशस्त गर्न सकिने ठाउँ देखँे । लय दाइसँग सल्लाह गरेर ‘सिन्दूर’ नामक सिरियल बनाएँ । ०६१ सालतिरको कुरा हो यो । फेमिली ड्रामा टाइपको यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको केही समयमै त्यति बेलाको लिस्टमा नम्बर १ मा पर्‍यो । यसका कुल ७८ वटै भागले दर्शकको मन जिते । कतिपय दर्शक यस्ता पनि पाएँ, जसले भने– ‘तपाईंले हिन्दी सिरियलभन्दा पनि राम्रो सिरियल बनाउनुभयो ।’ सुमन सिंह यसै सिरियलबाट कलाकारका रूपमा स्थापित भए भने योगेश घिमिरेले निर्देशनयात्राको प्रारम्भमै सफलता हात पारे ।
निर्मात्रीका रूपमा सानो पर्दामा सफल भएपछि म पनि कम्ती उत्साहित थिइनँ । जोस अझ बढेको थियो । अब ठूलो पर्दाको चलचित्र बनाउने आँट पलायो । योगेशसँग सल्लाह गरेँ । हामी दुवैले खुब मेहनत गर्‍यौँ, अनि तयार भयो चलचित्र ‘सपूत’ । प्रदर्शनमा त आयो तर यसपालि हामीले सोचेजस्तो भएन । निर्माता र निर्देशकका रूपमा दुवै जना नयाँ भएकाले होला, यो चलचित्रबाट पाँच लाख घाटा बेहोर्नुपर्‍यो । मेहनत त गरेकै थियौँ तर खोइ के पुगेन † चलचित्रमा डिजिटल प्रविधि भित्रिइसकेको त्यो बेला मैले चाहिँ सुपरसिक्स्टिनमै बनाएकी थिएँ । त्यसै कारणले पो हो कि ? हुन त त्यसै चलचित्रबाट छायाकारका रूपमा उद्योगमा छिरेको पुरुषोत्तम प्रधान आज स्थापित छायाकार बनिसकेका छन् । पचासौँ चलचित्र खिँचिसके । ‘सपूत’ मा घाटा लागे पनि महिला निर्माताको खडेरी रहेका बेला मेरो आगमनलाई सबैले स्वागतै गरे । अग्रजहरूले मेरो साहसको प्रशंसा गरे । अनि हौस्याए– ‘यस्तै हो, बिजनेसमा नाफाघाटा त भइहाल्छ । एकचोटि घाटा लाग्यो भन्दैमा छोड्नु हुँदैन ।’ फेरि, मैले जानेबुझेको क्षेत्र पनि त यही मात्र न थियो । द्विविधैद्विविधाका बीच फेरि योगेशलाई नै लिएर अर्को चलचित्र बनाएँ– ‘सम्झना ।’ यसले उति धेरै फाइदा नदिलाए पनि पुरानो चलचित्रको घाटा भने पूर्ति गरिदियो । जे होस् यसपालि घाटा बेहोर्नु नपरेपछि आशाका किरणहरू देखिन थाले । ढिला नगरी अर्को चलचित्र ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बनाएँ । यसले पनि ठिकठिकै व्यवसाय गर्‍यो ।
यस्ता थुप्रै उतारचढाबभित्र उनिएर मैले बनाएको चौथो चलचित्र ‘नोटबुक’ अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यसमा पनि निर्देशक योगेश नै छन् । पहिलो चलचित्रदेखि नै सुरु भएको हाम्रो सहकार्य अहिलेसम्मै जारी छ । अघिल्ला चलचित्रमा देखिएका कमिकमजोरी सकेजति सुधारेका छौँ हामीले ‘नोटबुक’ मा । परिणाम– यसले व्यापार पनि उत्साहजनक गरिरहेको छ । उपत्यकाबाहिरका कुनैकुनै स्टेसनमा त यसअघिका रेकर्ड नै तोडेको सुनेकी छु । यसमा हामीले मेहनत त गरेका थियौँ नै, दर्शकको चाहना बुझेर चलचित्रलाई त्यसैअनुसार ढाल्ने प्रयास पनि गरेका थियौँ । प्राविधक रूपले पनि कमजोर नहोस् भन्नेमा विशेष सजग थियौँ । आज आफ्नो प्रयास सफल भएको अनुभूति हुँदै छ । ‘नोटबुक’ विगत चलचित्रका तुलनामा अझ राम्रो बनाएको म आपैँmलाई पनि लाग्छ । त्यसैले त यसको ‘गाला रातै’ र ‘मायाको भुलभुलैया’ गीत चलचित्र प्रदर्शनअगाडि नै हिट भइसकेका थिए । यो सफलताका पछाडि मिडिया र दर्शकको पनि हात रहेको मलाई लाग्छ । नत्र एउटा साधारण कलाकारका रूपमा आएको मान्छे यसरी निर्माताका रूपमा अघि बढ्न कहाँ सजिलो थियो र †
अभिनयको कुरा गर्दा मैले दुई सय हाराहारीका टेलिशृंखला र तीन दर्जनबढी चलचित्रमा काम गरेकी छु । अभिनयमा कहिल्यै भूमिका नेगेटिभ वा पोजिटिभ भनेर तौलिइनँ । बस, कलाकारको काम त अभिनय गर्ने न हो । हरेक भूमिकालाई वास्तविक अभिनयमार्फत न्याय गर्न सक्नु नै सच्चा कलाकारको पहिचान हो, मैले बुझेकी छु । त्यसैले सबैखाले भूमिकामा सफल पनि भएकी छु । सफल नभएकी भए यति धेरै चलचित्र, टेलिचलचित्रमा अभिनय गर्न कहाँ पाउँथेँ र ?
म जहिल्यै पोजिटिभ सोच राख्ने मान्छे हुँ । कसैलाई पनि नेगेटिभ सोचले हेर्न जान्दिनँ । यसै कारण पनि होला, मैले निर्माण र अभिनय दुवैमा सबैको साथ पाएको । अरूले कलाक्षेत्रमा लागेर यो वा त्यो गुमाएँ भनेको निकै सुन्छु, म । तर, मैले त यसमा लागेर केही गुमाएकी छुइनँ, पाएकै छु । गुमाएकी हुन्थेँ त आज यो अवस्थामै हुन्नथेँ । जे पाएकी छु, सबै यसै क्षेत्रबाट पाएकी हुँ । नामकै आधारमा मलाई धेरैले चिन्न सक्ने बनाइदिएको छ, यो क्षेत्रले । दुई दशक कलाकारितामा लाग्न र एकपछि अर्काे चलचित्र बनाउन सक्ने क्षमता पनि यसै क्षेत्रको देन न हो । होला, व्यस्तताका कारण कहिलेकाहीँ परिवारलाई यथेष्ट समय दिन पाइँदैन । त्यो बेग्लै कुरा हो ।
कति मानिस एउटा–दुइटा चलचित्र निर्माण गरेर हराउने गरेका छन् । तर, म त्यो वर्गमा पर्दिनँ । अझै निकै समय यसै क्षेत्रमा लगानी गर्ने सोच राखेकी छु । दर्शकको साथ रहुन्जेल आफूलाई कलाक्षेत्रमा समर्पित गराइरहन्छु, निर्माणमार्फत होस् वा अभिनयमार्फत । जीवनभर यसै क्षेत्रलाई कर्मथलो बनाउनेछु । किनकि, हिजोका दिनमा मैले दु:ख पनि निकै गरेकी छु । मानिसहरूले के–के पो भन्न बाँकी राखेनन् । स्ट्रगल पिरियडमा धेरैका धेरै थरी भनाइ खेप्नुपर्दाको पीडा अझै बिर्सिएकी छुइनँ । कतिले नराम्रो गरे कतिले राम्रो । कतिले राम्रो भने कतिले नराम्रो । ती सबै प्रतिकूलतालाई चिर्दै अगाडि बढेकाले नै आज यो स्टेजमा आइपुगेकी हुँ । अब ती कुरा सम्झिएर आफूलाई अल्झाइरहन्नँ । बरु, ती संघर्षबाट थप प्रेरणा बटुलेर अगाडि बढ्छु । ती सुरुआती संघर्षहरू मेरा लागि चलचित्र अध्ययनको गतिलो पाठशाला बनिरहेका छन् ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया