सडक विस्तारलाई तीव्रता

काठमाडौं, ३ वैशाख । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उपत्यकामा विस्तारित सडकलाई तीव्रता दिनुपर्ने बताएका छन् । उनले सार्वजनिक यातायातका साधन, विदेशी पाहुना, पर्यटक र आम सर्वसाधारणले प्रयोग गर्ने मूल सडकलाई पहिलो प्राथमिकतामा राखी काम गर्न सोमबार निर्देशन दिएका हुन् ।

रेग्मीले भत्काउन तत्परता देखाएभैँm छिटो निर्माण गर्न पनि सम्वद्ध अधिकारीलाई निर्देशन दिए । काममा ढिला गर्ने निर्माण व्यवसायी उपर कठोर कारबाही गर्न पनि पछि नपर्नेमा पनि उनले जोड दिए । एकीकृत सोचका साथ कामलाई अगाडि बढाउन, सडक निर्माण भइसकेपछि तुरुन्तै पोल हटाउने व्यवस्था मिलाउन, रात–विरात निजी संरचना तोडफोड नगरी सर्वसाधारणलाई संझाइ/बुझाइगरी न्यून क्षति हुने गरी काम गर्नुका साथै यस सडक विस्तारको कामलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
रेग्मीले पुरातात्विक वस्तुको संरक्षण गर्न, अदालतको आदेशको पालना गर्न, काठमाडौं उपत्यकाभित्र हरियाली प्रवद्र्धन गर्न र प्रत्येक महिनामा नियमित समीक्षा बैठक गर्न पनि आग्रह गरेका छन् । बैठकमा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री छबिराज पन्तले गुणस्तरीय सडक निर्माणमा जोड दिए । उच्चस्तरीय अनुगमन समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले हाल करिब २ सय किमि सडक विस्तारितको क्रममा रहेको र यस आवको अन्त्य सम्ममा करिब ९० प्रतिशत काम सम्पन्न हुने जानकारी दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सचिव बास्कोटाले भत्काउँदा निस्किएको फोहोर तीन दिनभित्र हटाउने, सडक विस्तार हुने बित्तिकै पोल हटाउने, बत्ती, टेलिफोन र खानेपानीको तार र पाइप दायाँ र वायाँतर्फ निर्माण गरी जनतामा सेवा प्रवाह गर्न र बटुवाका लागि पेटी निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गरे । बैठकमा सचिव बास्कोटाले यस काममा सरकारी १० अर्ब र निजी क्षेत्रका तर्फबाट ३० अर्ब खर्च हुने जनाए । उनले प्रत्येक सडकमा होडिङ बोर्ड राख्नुपर्ने, संभव भएसम्मका स्थानमा अपांग मैत्री सडक निर्माण गर्ने, चौडा सडकमा साइकल लेन राख्ने, मूल सडकको अग्रभागमा पर्ने घरले व्युटिफिकेसन गर्नुपर्ने, ढिलो काम गर्ने ठेकेदारलाई कालो सूचीमा राख्नुपर्ने कुरामा जोड दिए ।
बैठकमा संयोजक बास्कोटले गुणस्तरीय सडक निर्माण गर्ने, यात्रु ओराल्ने र झार्ने गरी बिसौनी निर्माण गर्ने, सालिक र मन्दिरलाई व्यवस्थित गर्ने तथा कूटनीतिक नियोगका संरचनालाई पनि व्यवस्थित गर्न पहल भइरहेको बताए । उनले बहुतले भवनको अवधारणमा जानुपर्ने, ठाउँ–ठाउँमा पुल थप्नु पर्ने, फ्लाई ओभर ब्रिज निर्माण गर्नुपर्ने, काठमाडौंमा मेट्रो सञ्चालन गर्नुपर्ने, यथासक्दो छिटो रिङरोड पनि चौडा गर्नुपर्ने र सडक विस्तारको काममा साधन र स्रोतको अभाव हुन नहुने कुरामा जोड दिएका थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौला, गृहसचिव नविन घिमिरे, सूचना तथा सञ्चार सचिव ध्रुव शर्मा, सहरी विकास सचिव किशोर थापा, पररास्ट्रसचिव दुर्गा भट्टराई, ऊर्जासचिव हरिराम कोइराला, अर्थसचिव शान्तराज सुवेदी र काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त केशव स्थापितलगायतले सडक विस्तारको क्रममा देखिएको विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया