देश विकासका लागि १० लाख स्वयंसेवक परिचालन गरिने

lila-mani-poudelचितवन, ३ वैशाख । मुख्यसचिव लीलामणि पौडेलले देश विकासका लागि १० लाख स्वयंसेवक परिचालन गर्न लागिएको बताएका छन् । पूर्वी चितवनको टिकौली चौरमा जारी नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीको समापन समारोहलाई संबोधन गर्दै पौडेलले सोमबार यस्तो बताएका हुन् ।

अघिल्लो सरकारले अगाडि सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि अगाडि बढाउन लागेको बताउँदै मुलुकको विकासका लागि विदेशीको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्नेमा पौडेलले जोड दिएका छन् । चैत २८ गतेदेखि सुरु भएको नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीमा आठ विदेशी समूह र नेपालका ५९ जिल्लासहित गरी करिब पाँच हजार पाँच सय ९९ स्काउट विद्यार्थीहरूको सहभागिता थियो ।
२६ वर्षपछि चितवनको टिकौलीमा दोस्रो राष्ट्रिय ज्याम्बोरी आयोजना गरिएको हो । ज्याम्बोरीमा नेतृत्व विकास, सीप विकासलगायतका विभिन्न क्रियाकलापमा स्काउटकर्मीहरूले सहभागिता जनाउनुका साथै आ–आफ्ना देशको संस्कृतिसमेत आदानप्रदान गरेका थिए । ज्याम्बोरीको चैत्र २८ गतेबाट सुरु भए पनि चैत्र २९ गते चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले औपचारिक उद्घाटन गरेका थिए । पाँच रात ६ दिनसम्म चलेको ज्याम्बोरीमा करिब दुई करोड खर्च भएको नेपाल राष्ट्रिय स्काउटले जनाएको छ ।

प्रतिक्रिया