एमाओवादी मंसिरमा पनि चुनाव चाहँदैन : नेपाल

Madhav Nepalनुवाकोट, ३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले चुनाव नचाहेको बताएका छन् । असारमा चुनावको वातावरण बने पनि आफ्नो अनुकूल नहुने देखेपछि एमाओवादीले माहोल बिगारेको आरोप उनले लगाएका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको आयोजनामा भएको चिम्टेश्वर पदयात्राको समापन कार्यक्रममा सहभागी हुन नुवाकोटको देवीघाट आइपुगेका नेता नेपालले सोमबार यस्तो आरोप लगाएका हुन् । अबको चुनावमा एमालेले बहुमत ल्याउने देखेपछि डरले एमाओवादीले मंसिरमा समेत चुनाव गर्न नचाहेको उनको कथन छ । एमाओवादी र कांग्रेस दुबै दललाइ डोहोर्‍याएर चुनावमा लैजाने जिम्मेवारी एमालेको काँधमा आएको जिकिर उनले गरे ।
कार्यक्रममा उनले पर्यटनको माध्यमबाट ग्रामीण क्षेत्रको विकास गर्न सकिने बताए । आन्तरिक पर्यटनको विकासले युवा पलायन रोक्न सकिने बताउँदै नेता नेपालले पुरातात्विक वस्तु इतिहास भएकाले यसको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरे ।
नुवाकोटको पर्यटन विकासका लागि रानीपौवादेखि चिम्टेश्वर क्षेत्र हुँदै देवीघाटसम्मको बृहत् पदयात्रामा विभिन्न क्षेत्रका स्वदेशी र विदेशी गरी तीन सयको संख्यामा पदयात्री सहभागी थिए । पदयात्रामा पर्यटक, पर्यटनविद, ट्ेरकिङ एजेन्सी, संस्कृतिविद, राजनीतिक, पेसाकर्मी, समाजसेवीलगायतको सहभागिता रहेको स्थानीय समाजसेवी नारायणप्रसाद खनालले बताए । एमाले नेता केपी ओली, प्रदीप ज्ञवाली, रघुजी पन्त, अमृत बोहरा, महेन्द्रबहादुर पाण्डे, इन्सेक अध्यक्ष सुवोध प्याकुरेल, पूर्व संस्कृतिमन्त्री मिनेन्द्र रिजाललगायत पनि पदयात्रामा सहभागी थिए । कार्यक्रममा संगठनका अध्यक्ष चन्द्र रिजालले शान्ति र सम्वृद्धिका लागि पदमार्गलाई पर्यटकीय अघि बढाउन बृहत् पदयात्रा गरिएको बताए ।

प्रतिक्रिया