शुक्लाफाँटामा बाह्रसिंगे गणना सुरु

Jarayoमहेन्द्रनगर, ३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सोमबारदेखि बाह्रसिंगे गणना सुरु गरिएको छ । १८औँ वन्यजन्तु सप्ताहको अवसर पारी आरक्ष कार्यालयले विश्वमै दुर्लभ मानिएको बाह्रसिंगेको गणना थालेको हो ।

केही वर्ष यता वन्यजन्तु सप्ताहको अवसरपारी आरक्षमा नियमित रूपमा वैशाख पहिलोसाता दुर्लभ वन्यजन्तुमा सूचीकृत बाह्रसिंगेको गणना हुँदै आएको छ । यस वर्षको वन्यजन्तु सप्ताहको नारा ‘मानव–वन्यजन्तुवीचको द्वन्द्व न्यूनीकरणका लागि सहकार्य गरौँ’ रहेको छ ।
सोमबारदेखि सुरु भएको गणना तीन दिनसम्म चल्ने आरक्ष प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । बाह्रसिंगेको प्रमुख वासस्थान रहेको आरक्षको शुक्लाफाँट घाँसे मैदानमा तीन दिनसम्म ‘हेड काउन्टिङ’ प्रविधिका आधारमा बाह्रसिंगे गणना गरिनेछ ।
‘गणनामा खटिने प्राविधिकहरूले चारैतिरबाट बाह्रसिंगेलाई एकत्रित गरी बथानमा टाउका गणना गर्छौं,’ संरक्षण अधिकृत रेग्मीले भने, ‘सबै तथ्यांकलाई समेटेर बाह्रसिंगेको संख्या निर्धारण गरिनेछ ।’
वासस्थानको उचित व्यवस्थापन, चोरिसिकारी नियन्त्रण र सिमसार व्यवस्थापन आदि कारणले यस वर्ष बाह्रसिंगेको संख्यामा वृद्धि हुन सक्ने बताए । गत वर्षको तथ्यांकअनुसार शुक्लाफाँटामा एक हजार आठ सय २५ बाह्रसिंगे छन् । यो अघिल्लो वर्षभन्दा बढी हो । आरक्षमा विगतमा गरिएको गणनाअनुसार सन् २००९ मा एक हजार सात सय १५, २०१० मा एक हजार सात सय ३७ र २०११ मा एक हजार सात सय ४३ बाह्रसिंगे फेला परेका थिए ।
ठूलो झुन्डमा देखिने बाह्रसिंगेका लागि सहज चरन र पानीको व्यवस्थापनका लागि आरक्ष कार्यालयले केही वर्ष यता घाँसे मैदान व्यवस्थापन र कृतिम तालहरूको समेत व्यवस्था गरेको छ । बाह्रसिंगेको मुख्य वासस्थान शुक्लाफाँटमा करिब आधा दर्जन कृतिम ताल निर्माण गरिएका छन् । जसमध्येका दुई तालमा सोलार प्रविधिबाट मोटर जडान गरी पानी भर्ने गरिएको छ ।

प्रतिक्रिया