उजुरीपेटिका बन्यो माकुराको घर

Spider Jaloसुर्खेत, ३ वैशाख । दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय, सुर्खेतको उजुरीपेटिका खोल्दा सात वटा मात्र उजुरी भेटिए । पछिल्लो समय १५/१५ दिनमा उजुरी पेटिका खोल्दा बढीमा तीन वटासम्म उजुरी परेको पाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर बताउँछन् ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासनको उजुरी पेटिकामा परेको उजुरीको संख्याले कार्यालयमा राखिएका उजुरी पेटिका लगभग प्रयोगविहीन जस्तै भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा छिटफुट रूपमा उजुरी परे पनि जिल्लाका अन्य सरकारी कार्यालयहरूमा राखिएका उजुरी पेटिका भने पूर्ण रूपमा प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेपछि अधिकांश कार्यालयका उजुरी पेटिका माकुराको वासस्थानमा परिणत भएका छन् । प्राय: सबै कार्यालयका उजुरी पेटिकामा माकुराले जालो लगाएको छ । केही कार्यालयमा उजुरी पेटिका नै राखिएका छैनन् भने भएकाभित्र पत्रपत्रिकाका च्यातिएका टुक्रा, प्रचार पोस्टर र माकुराको जालो मात्रै छन् ।
जनतासँग प्रत्यक्ष र नियमित सरोकार राख्ने जिल्ला प्रहरी, जिल्ला विकास समिति, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा हालसम्म कुनै उजुरी र सुझाव नपरेको कार्यालयका कर्मचारीहरू नै बताउँछन् । कुनै पनि कामका लागि कार्यालयमा आउने सेवाग्राही सिधै सम्बन्धित फाँट वा कार्यालय प्रमुखसँग पुग्ने गरेका छन् । यसरी सानो काममा पनि सेवाग्राहीहरू कार्यालय प्रमुखसँग पुग्दा कार्यालय प्रमुखका अन्य महत्त्वपूर्ण कार्यमा समस्या उत्पन्न हुने गरेको छ ।
डिभिजन सिंचाई निर्देशनालय सुर्खेतका प्रमुख रमेशबन्धु अर्याल जनताहरू सोझै आफूकहाँ आउने गरेको बताउँछन् । उनले कुनै सानो गुनासो भए पनि उजुरी पेटिकामा उजुरी गर्नुको सट्टा कार्यालय प्रमुखकहाँ आउने गरेको जनाए । अर्यालले कतिपयलाई उजुरी पेटिकाका बारेमा जानकारी नै नभएको जनाए ।
जिल्ला प्रशासन कार्यालयले दुई वर्षपछि उजुरी पेटिका खोल्नुले पनि कार्यालयहरूले उजुरी पेटिकालाई वेवास्ता गर्ने गरेको स्पष्ट हुन्छ । तत्काल समाधान गर्नुपर्ने समस्या लिखित रूपमा उजुरी पेटिकामा हाल्दा तत्काल समाधान नहुने भएकाले सेवाग्राहीहरू सिधै कार्यालय प्रमुखसँग पुग्ने गरेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर सेवाग्राहीहरूलाई आफ्ना समस्या लेखेर उजुरी पेटिकामा हाल्नुभन्दा कार्यालय प्रमखसँग भेटेर गुनासो राख्न सहज हुने भएकाले उजुरी पेटिकाको प्रयोग कम भएको बताउँछन् । उनले सबै सेवाग्राहीहरूलाई उजुरीपेटिकाबारे ज्ञानसमेत नभएको बताए ।

प्रतिक्रिया