जितेन्द्र क्वार्टरफाइनलमा

काठमाडौं : दोस्रो सिटिजन बैंक टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका आत्माराम कार्की क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा उनले प्रणय कार्कीलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । पुरुष एकलकै एक पक्षीय खेलमा श्रीयन्स कार्कीले इसुप विक्रम सिंहमाथि ६–० र ६–० को सहज जित हात पारे । उनले क्वार्टरफाइनतलमा आत्मरामसँग खेल्नेछन् ।
सिटिजन बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको अन्य खेलमा छेवाङ लामा, कमल भण्डारी, सन्तोष खत्री, राजु श्रेष्ठ, दावा शेर्पा र जितेन्द्र परियारले पनि आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । छेवाङले कुलदीप सिंहलाई ६–२ र ६–० को सोझो सेटले पराजित गरे भने कमलले गणेश कार्कीमाथि ६–१ र ६–० को सहज जित हात पारे । एक पक्षीय खेलमा सन्तोषले सन्तोष न्यौपानेलाई ६–१ र ६–१ को सोझो सेटमा रोके भने राजुले एपिएफका ऋषिराम सिग्देलमाथि ३–६, ६–४ र ६–४ को कठिन जित निकाले । त्यसैगरी दावाले सक्षम कार्कीलाई ६–३ र ६–२ ले निराश पारे भने अभय गौचनबाट वाकओभर पाएपछि जितेन्द्रले क्वार्टरफाइनलमा छेवाङसँग प्रतिस्पर्धा गर्ने भएका छन् । अन्य क्वार्टरफाइनलमा सन्तोष खत्रीको भेट दावा शेर्पा र कमलको भेट राजु श्रेष्ठसँग हुनेछ ।
अखिल नेपाल लङटेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथिको फाइनलमा डा. सिंहबहादुर बस्नेत र भिक्टरी शमशेर राणाबीच प्रतिस्पर्धा हुने भएको छ । ब्याडमिन्टन, टेबलटेनिस र टेनिसका पूर्वराष्ट्रिय च्याम्पियन ज्येष्ठ खेलाडी ७२ वर्षीय सिंहबहादुर बस्नेतले डा. इन्द्रजित राईमाथि एकपक्षीय नतिजा निकाल्ने क्रममा ८–० ले निराश पारेका थिए भने राणाले मोहनबहादुर शाहीबाट वाकओभर पाएका थिए ।

प्रतिक्रिया