सौर्य ऊर्जाबाट खानेपानी आयोजना

solarइलाम, २ वैशाख । पश्चिमी इलामको बाँझोमा जिल्लामै पहिलोपटक सौर्य ऊर्जाको प्रयोगबाट खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

बाँझो–६ स्थित माङमालुङ बजारमा माङमालुङ ग्रामीण सौर्य खानेपानी आयोजना निर्माण भएको हो । करिब दुई हजार मिटर उचाइमा अवस्थित माङमालुङ बजारलाई लक्षित गरेर सोलार पम्पिङमार्फत आयोजना सञ्चालन गरिएको छ ।
आयोजनाबाट बाँझोका माङमालुङ बजारसहित स्थानीय बस्तीका एक सय ५३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । आयोजना निर्माणपछि त्यहाँका बासिन्दाले घन्टौँ टाढा धाएर डोकोबाट पानी बोक्नुपर्ने बाध्यता हटेको छ । अहिले उनीहरूले काकाकुलको जीवनबाट उन्मुक्ति पाएको महसुस गरेका छन् ।
करिब साढे १९ लाख रुपियाँको लगानीमा सोलार पम्पिङबाट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । जसमध्ये वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १० लाख, स्थानीयबासिन्दाको आठ लाख र जिल्ला विकास समितिको एक लाख १५ हजार पाँच सय ८५ रुपियाँ लगानी भएको खानेपानी तथा सरसफाइ उपभोक्त महासंघका अध्यक्ष किरण राईले बताए ।
उनका अनुसार माङमालुङ बजारमा रहेको रिजर्भ ट्यांकीमा पानी तान्न ८० बाट क्षमताको १६ वटा सोलार प्यानल जडान गरिएको छ । उक्त सोलार प्यानलबाट उत्पादन हुने विद्युत्को प्रयोग गरेर पानी तान्ने व्यवस्था मिलाइएको छ । घाम लाग्नेबित्तिकै एक हजार एक सय मिटर तलबाट सोलारबाट गएको करेन्टले मोटर चलेपछि पानी तानिन्छ । बादल लाग्दै गएपछि पुन: पानी आउन छाड्छ ।
मुहानदेखि तानिएको पानी पहिले इभाङस्थित चित्रेमा राखिएको नौ हजार लिटर क्षमताको ट्यांकीमा संकलन गरिन्छ । ‘त्यसपछि सोलार मोटरले पाइपको माध्यमबाट माथिल्लो भेगमा बनाइएको अर्काे १५ हजार लिटर क्षमताको ट्यांकीमा झारिन्छ,’ अध्यक्ष राईले भने ‘उक्त ट्यांकीमा संकलित पानी बजार र आसपासका गाउँमा वितरण गरिएको छ ।’
यसअघि यहाँका बासिन्दाले ५ किलोमिटर टाढा साकफाराबाट ल्याइएको सानो खानेपानी आयोजनामार्फत कष्टकर जीवनयापन गर्दै आएका थिए । त्यस आयोजनाबाट पानीले नपुग्ने भएकाले त्यहाँका बासिन्दालाई घन्टौँसम्मको बाटो धाएर पानी बोक्नुपर्ने बाध्यता थियो । उनीहरूलाई एक त टाढाको बाटो धाउनुपर्ने बाध्यता थियो भने अर्को समस्या धारामा पानी भर्न घन्टौँसम्म लाइन नै लाग्नुपर्दथ्यो । ‘मानिसलाई खानका लागि मात्र होइन, वस्तुभाउहरूलाई समेत बोकेकै पानी खुवाउनुपर्दा यहाँका धरै महिलाको आधा जीवन पानी बोक्दैमा बित्यो’ स्थानीय सुनीता राईले भनिन्, ‘हामीले कल्पना पनि गरेका थिएनौँ यसरी सोलारबाट पानी आउँछ भनेर, तर सोलारबाट पानी तान्न थालेपछि हामीलाई स्वर्ग पुगेको महसुस भएको छ ।’ यसअघि त्यहाँका बासिन्दाले सम्बन्धित निकायमा हारगुहार गर्दा पनि सुनुवाइ भएको थिएन ।
माङमालुङ बजार क्षेत्रमा एक दशकअघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खानेपानीको प्रबन्ध गरिदिएको भए पनि पछिल्लो समय जनसंख्यामा भएको वृद्धिले सो आयोजनाबाट पानी पुग्न छाडेकाले पानीको हाहाकार हुँदै आएको थियो ।

प्रतिक्रिया