सेयरमा आसाबीच निरासा

nepseसेयर बजार आशाभन्दा बढी निराशावादी रहेको छ । ०६९ साललाई फर्केर हेर्दा सेयर बजारमा लगानी कर्ताले अर्बांै रुपियाँ गुमाएका छन् । ०६८ को वैसाखमाा यो ३ सय ६६ अंकमा थियो । ०६९ वैशाखमा यो ३ सयमा सीमित रह्यो भने अहिले ५ सय २० को हाराहारीमा रहेको छ । यसअघि ०६६ को पहिलो दिन अर्थात २ वैसाखमा नेप्से ६ सय ६२ अंकमा पुगेको थियो । १ वैसाख ०६७ वैशाखसम्म आउँदा नेप्से ४ सय ४९ दशमलव शून्य ४ मा झरेको थियो ।

यसले सेयर कारोवार लामो समयदेखि बियरिस ट्रेन्डमा गएको देखाउँछ । तैपनि, अघिल्लो वर्षको चैत मसान्तको तुलनामा चालु आवको चैत मसान्तमा नेप्से २ सय अंकभन्दा केही बढनुले सेयरमा आशाको त्यान्द्रो अझै बाँकी रहेको देखाउँछ ।
यो समयमा लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुन सकेनन् । तर, एकीकृत माओवादी नेतृत्व सरकारको अन्तिममा आएर सेयर बजारमा केही सकारात्मक सुधार नआएका भने होइनन् । डा.बाबुराम भट्टराई नेत्रृत्वको सुरुमा सेयर बजार बियरिस ट्रेन्डतर्फ गए पनि अन्तत: एमाओवादीको बहिगर्मनले पनि सेयरमा खासै परिवर्तन आएन । ५ सय ५० अंक पुगेको नेप्से परिसूचक अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारसँगै घटेर अहिलको अवस्थामा झरेको हो ।
नेपालको राजनीतिमा अघिल्लो वर्ष अकल्पनीय घटना घट्यो । राजनीतिक दलविनाको सरकार गठनले सेयरमा खासै उत्साह थप्न सकेन । चार राजनीतिक दलले देश चलाउन नसकेर कर्मचारी संयन्त्रलाई जिम्मा लगाए । यो मुलुकका लागि ठूलो दुर्भाग्य बन्न पुर्‍यो । किनकी, आम नागरिकको पिर, व्यथा, गुनासो सुनाउने निकाय नभएपछि एक किसिमको अन्योलता मुलुकमा देखिएको छ । अहिलेको सरकार भनेको जनताको सरकार होइन । त्यसैले यस्तो सरकारले आम नागरिकलाई कुनै राहत देला भनेर कल्पनासमेत गर्न सकिँदैन । यस्को केही प्रभाव हाम्रो सेयर बजारमा पनि पर्न जानुलाई सबैभन्दा ठूलो दुखद पक्षका रूपमा लिन सकिन्छ ।
अबको दिनमा पनि लगानीकर्ता बजारप्रति विश्वस्त हुने अवस्था देखिँदैन । तैपनि, यो सरकारले निर्वाचनका लागि १४अर्ब रुपियाँ विनियोजन गरेर आगामी दिनमा निर्वाचन गर्नसक्ने प्रमाण देखाएकोले राजनीतिक स्थायित्व आउन सक्ने आँकलन गरिएको छ । लामो समयदेखी सेयर लगानीकर्ता बजारमा सुधार आउला की भन्ने आसमा रहेका छन् । तैपनि, बजारले कोल्टे फेर्न सकेको छैन । तैपनि, सेयर बजारको भविष्य भने उज्वल रहेको विश्लेषकहरूको भनाइ छ । देश नै असफल भयो भने मात्रै सेयर बजारको भविष्य नहुने हो । नत्र त यसको भविष्य उज्वल नै रहने ती विश्लेषकहरूको ठम्याई छ । सरकारले केन्द्रीय निक्षेप प्रणाली (सिडएस), क्रेडिट रेटिङ तथा बजार निर्माता र म्युचियल फन्डको अवधारण लागू गरिसकेको छ । यो भनेको सेयर बजार सुधारको बाटोमा गइरहेको छ भन्नु हो ।
तर, यसलाई मात्रै आधार मानी हाल्ने अवस्था भने छैन । २ वैशाखबाट सिडिएस आउने भने पनि इन्टरनेट बेसको कारोवार हुन नसक्नु, नियामक निकायले बजार अनुसार नीति नियम परिमार्जन गर्न नसक्नु तथा बजार निर्माण बारे ठोस पहल हुन नसक्नु जस्तो कारणले ०६९ मा सेयर बजारमा सुधार आउन नसकेको हो । समग्रमा भन्नुपर्दा सेयर बजारमा आशाभन्दा निराशा बढिरहेको छ । यो वर्ष सेयर बजारमा निराशाजनक अवस्था नै कायम रहयो । सेयरको इतिहासमा हेर्ने हो भने पनि पनि ०५२/५३, ०५७/५८ तथा ०६४/६५ देखि हालसम्मको अवधि सबै निराशाजनक नै रहेको छ । ०६८ मा त नेप्से ३ सयभन्दा तल झर्‍यो । तर, अहिले भने नेप्से ५ सय पुगेकाले सेयरलाई कालोरात भनिहाल्न नमिल्ने तर्क पनि लगानीकर्ताहरूको छ ।
विडम्बना नेपालको इतिहासमा ठुल्ठुला घटना घटे । सेयर बजारमा त्यसको प्रभाव खासै परेन । तर, एमाओवादी नेतृत्वमा सरकार बनेपछि भने सेयर बजारमा एक किसिमको ‘स्लो पोइजन’ देखा पर्‍यो । माओवादी व्यवहारले उद्योगपति त्रसित भए । उनीहरूले सेयर बजारको रकम निकाल्न थाले । सोही कारण ठूलो रकम पलायन भयो । यस्तो अवस्थामा पुन: माओवादी नेतृत्वकै सरकारले दोस्रोपटक पनि राज्य सञ्चालन गर्‍यो । ०६५ साउनको अन्ततिर माओवादीले आफ्नो नेतृत्वमा सरकार गठनगर्दा नेप्से १ हजार १ सयको हाराहारीमा थियो । त्यसको केही दिन पछि १५ भदौमा परिसूचक १ हजार १ सय ७५ दशमलव ३८ अंकमा पुग्यो । त्यही दिन बजार पुँजीकरण ६ खर्ब १२ अर्ब ५४ करोड रुपियाँ रहेको थियो ।
तर, अहिले नेप्से ५ सयको आसपासमा रहेको छ । बजार पुँजीकरण ५ खर्बभन्दा केही बढी रहेको छ । यो अवधिमा लगानीकर्ताले १ खर्ब रुपियाँ गुमाएको तथ्यांकले पुष्टि गर्छ । नेपालको जस्तो सानो पुँजी बजारमा १ खर्ब गुमाउनु भनेको सेयर बजारका लागि अभिशाप बनेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका अर्थमन्त्री वर्षमान पुनले आफूलाई निजीक्षेत्र र लगानीमैत्रीका रूपमा जतिसुकै प्रस्तुत गरे पनि अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्न सकेन । यस्तो अवस्थामा रेग्मी नेतृत्वको सरकारको काम गराइ हेर्न बाँकी छ ।
यो सरकारले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, बिमा संस्थान, बिमा कम्पनी, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फन्ड तथा अन्य लगानी गर्ने कम्पनीलाई बजारतर्फ आकर्षित गर्ने वातावरण सिर्जना गर्न सके बजारमा सुधार आउने निश्चित छ । बजार मुल्याकंन गर्दा अहिले नै आश मारी हाल्नुपर्ने अवस्था भने छैन । सेयरको लगानी बालुवामा पानी भन्ने अवस्था अझै आएको छैन । अहिलेको अवस्थामा सरकार, निजी क्षेत्र, साना लगानीकर्ता, नियमक संस्था सबैले बजारको मनोबल बढाउनुपर्छ । पुँजी बजारलाई देशको ऐना मानिन्छ, यसको वास्तविक विकासले मात्र अर्थतन्त्रको सही तस्बिर दिन सक्छ । जबसम्म देशमा उद्योग सञ्चालन गर्ने वातावरण र रोजगारीको अवसर सिर्जना हँुदैन तबसम्म सेयर बजारमा सोचे जस्तो सुधार भने आउँदैन ।

प्रतिक्रिया