विद्युत् लाइनबिनै गिम्दी झलमल्ल

काठमाडौं १ बैशाख । राजधानीमा दैनिक १२ घन्टासम्मको विद्युत्भार कटौती भइरहँदा केन्द्रीय लाइन जडानसमेत नभएको गिम्दी भने रातमा पनि झलमल भइरहेको छ ।

राजधानीकै कर्णालीका रूपमा परिचित गिम्दीमा केन्द्रीय लाइन जडान नभए पनि त्यहाँका ८० घरधुरीले रातमा अँध्यारोको सामना गर्नुपरेको छैन । केन्द्रीय विद्युत् लाइनका लागि निकै वर्ष पहिले नै खम्बा, तार र ट्रान्समिटर जडान गरिएको भए पनि हालसम्म यस क्षेत्रमा विद्युत् प्रसारण भने हुन सकेको छैन ।
स्थानीयवासीकै सक्रियतामा यस गाविसमा केन्द्रीय लाइन जडान नभए पनि रातमा उज्यालै रहन सम्भव भएको हो । गाविसका युवाकै सक्रियतामा ०५४ सालमा लघुजलविद्युत् सञ्चालनमा ल्याइएपछि भने यो गाविसले अँध्यारोमा बस्नु परेको छैन ।
स्थानीय युवा पशुपति ज्ञामेमगरका अनुसार गाविसस्थित खहरे खोल्सामा तटबन्ध निर्माण गरी लघुजलविद्युत् सञ्चालन गरिएको हो । यसअघि गोटीखेल गाविसमा पनि यसरी नै विद्युत् उत्पादन गरिएको देखेपछि गिम्दीवासीले यसलाई अपनाउने सोच बनाएको हो । स्थानीयवासी लालकाजी बलको अथक प्रयासपछि विद्युत् उत्पादन गर्न सफल भएको हो । यसका लागि आवश्यक रकममध्ये दुई लाख गाविसले उपलब्ध गराएको भए पनि बाँकी रकम भने स्थानीयवासीबाटै उठाइएको थियो । त्यतिबेला संकलन गरिएको करिब आठ लाख रुपियाँबाट कोषसमेत स्थापना गरिएको छ ।
सो रकमबाट पानी घट्टसमेत सञ्चालनमा ल्याइएको छ । दिउँसो घट्ट सञ्चालन गर्ने र साँझको समयमा बिजुली बाल्ने गरिएको छ । हाल यसबाट चार किलोवाट विद्युत् उत्पादन गरिएको छ ।
घट्टमिलबाट मासिक रूपमा चार हजारदेखि पाँच हजार रुपियाँसम्म संकलन हुने गरेको छ । यदि, विद्युत् उत्पादनका क्रममा कुनै मेसिन बिग्रिए वा घट्टमिलका लागि नयाँ मेसिन ल्याउनु परे सोही रकमबाट ल्याउन सकिने गरी रकम जम्मा भइसकेको गाविसका कर्मचारी सुरेन्द्र थापामगरले बताए ।
त्यति मात्र होइन हाल कोषमा रहेको रकमले स्थानीयवासीलाई आवश्यक परेका बेला न्यूनतम ब्याजमा ऋणसमेत उपलब्ध गराउने गरिएको छ । उत्पादित विद्युत्ले त्यस गाविसमा साँझ ५ देखि राति १० बजेसम्म बिजुली दिने गरिएको अर्का युवा अमिरकुमार थापामगर बताउँछन । अन्य कुनै आकस्मिक समय, विवाह, व्रतबन्धका बेलामा रातभर नै बिजुली दिने गरिएको पनि उनले बताए । त्यस्तै, बालबालिकाको परीक्षाका बेलामा पनि अतिरिक्त विद्युत् लाइन दिने गरिएको छ ।
फ्रिज तथा कलकारखाना चलाउन र टिभी हेर्न भने यो लाइनबाट पुग्दैन । यहाँका अत्यन्त कम घरमा मात्र टिभी रहेको छ । तैपनि, बालबालिका तथा वृद्धको मनोरञ्जनका लागि कहिलेकाहीँ टिभी पनि सञ्चालन गर्ने गरिएको छ । पहिले मट्टितेल वा तेलबाट टुकी नबाली नहुने अवस्था थियो । अहिले बिजुली बत्ती बाल्न पाएकामा स्थानीय महिला जानकी थापामगर दंग छिन् । उनका अनुसार खाना पकाउने बेलामा होस् वा केटाकेटीलाई पढाउने बेला बत्ती नभएर साह्रै दु:ख हुन्थ्यो तर अब भने बिजुली बत्ती भएकाले ढुक्क भएको छ ।
प्रतिपरिवार ४० वाटसम्म बत्ती बाल्न पाउने व्यवस्था गरिएको छ । त्यसबापत प्रतिमहिना २५ रुपियाँको दरले महसुल तिर्नुपर्छ । दक्ष प्रविधिज्ञलाई ल्याएर अझ अनुसन्धान गराउन सकिए यस गाविसमात्र नभई अन्य गाविसमा समेत विद्युत् प्रसारण गर्न सकिनेछ । यसो भए कलकारखानासमेत सञ्चालनमा आई यस क्षेत्रका मानिस आर्थिक रूपमा समेत आत्मनिर्भर हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया