इँटा उद्योगको चार करोड बक्यौता

बारा: राजस्व नतिरेका बारा र रौतहटका उद्योगबाट उत्पादित इँटा बिक्री वितरणमा आन्तरिक राजस्व कार्यालयले रोक लगाएको छ ।
बिक्रीका लागि काठमाडाँैलगायत विभिन्न स्थानमा लैजाँदै गरेको १५ ट्रक इँटा पथलैयामा रोकिएको छ । महालेखा परीक्षकले यस क्षेत्रका इँटा उद्योगबाट चार करोड रुपियाँ राजस्व उठ्न बाँकी रहेको देखाउँदै सबै उद्योगलाई मूल्य अभिबृद्धि कर(भ्याट)मा दर्ता गरी चुहावट नियन्त्रणका लागि गत फागुनमा विभागले परिपत्र पठाएपछि कारबाही थालेको हो ।
भ्याट नतिरेको र वार्षिक नवीकरण नगरेको उद्योगबाट उत्पादित इँटा रोकेको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कृष्णप्रसाद पराजुलीले बताए । केही इँटा उद्योग भ्याटमा दर्ता भइसकेकोले एकरूपता ल्याउन सबै उद्योग भ्याटमा दर्ता हुनुपर्ने अन्यथा कारबाही गरिने पराजुलीले बताए ।
सस्तो मजदुर ज्याला र भाडाको जमिन अवैध रूपमा काठको प्रयोग लगायतका कारणले गर्दा नेपालमा सबैभन्दा धेरै इँटा उद्योग रहेको यस क्षेत्रका उद्योगीहरू बढी फाइदाका लागि भ्याटमा दर्ता गर्न नचाहेको आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । यी जिल्लाहरूमा रहेका एक सय ८२ उद्योगमध्ये ५३ वटाले मात्र राजस्व बुझाएको कार्यालयले जनाएको छ ।
भ्याटमा दर्ता हुनुपर्ने सरकारी नीतिको इँटा व्यवसायी संघले विरोध गर्दै आएको छ । माटोको काम भएकाले यसमा भ्याट लाग्न नहुने तर्क संघको रहेको छ ।

प्रतिक्रिया