टेलिभिजनको आधिकारिक अभिलेख

TV_Book_Coverनेपालमा आमसञ्चार तथा पत्रकारिताको उच्च तहमा अध्यापन हुन थालेको लामो समय भैसकेको छ । तर, पनि मौलिक पाठ्यसामग्रीको अभाव सबैले भोग्ने आम समस्या नै हो । यसै अभावलाई सम्बोधन गर्न पछिल्लो समयमा केही जागरुक अध्येताद्वारा मौलिक पाठ्यसामग्रीको लेखन तथा प्रकाशन गर्ने प्रचलन बढ्न थालेको छ । यसै मेसोमा दुई दशकदेखि टेलिभिजन पत्रकारिताको अनुभव र एक दशकभन्दा लामो अध्यापनको अनुभव सँगालिसकेका टंक उप्रेतीले हालै ‘नेपालमा टेलिभिजन विकास र बहस’ पुस्तक सार्वजनिक गरेका छन् ।
भृकुटी एकेडेमिक पब्लिकेसनले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालमा टेलिभिजन स्थापना पूर्वको नेपालीहरूको टेलिभिजन अनुभव, टेलिभिजन स्थापनार्थ भएका बहस र नेपालमा टेलिभिजनको क्रमिक विकासलाई समेटिएको छ । दशवटा परिच्छेदमा संरचित यस पुस्तकको पहिलो परिच्छेदमा पुस्तकको सन्दर्भ, संरचना र सीमाबारे उल्लेख गरिएको छ भने दोस्रो परिच्छेदमा नेपालमा टेलिभिजन प्रसारण सुरुहुनु पूर्वको नेपालीहरूको टेलिभिजन अनुभवलाई समेटिएको छ । नेपालमा पहिलोपटक एन्टेनामार्फत भारतीय टेलिभिजन दूरदर्शनको प्रसारण प्राप्त गर्न सफल कृष्णदास श्रेष्ठ र पहिलो डिस एन्टेना निर्माण गरी नेपालमा केबल टेलिभिजनको सुरुआत गर्ने हरिशरण श्रेष्ठका व्यक्तिगत अनुभव रोचक र रोमाञ्चक छन् ।
तेस्रो र चौथो खण्डमा नेपालमा टेलिभिजनको आवश्यकता बोध र यसका पक्षमा भएका बहसलाई समेटिएको छ । नेपालमा टेलिभिजनको इतिहासको चर्चा गर्दा कतिपय लेखकहरूले छैटौँ योजना (२०३६–२०४२) मा पहिलोपटक टेलिभिजन भन्ने शब्दको प्रयोग भएको जिकिर गर्ने गरेको पाइन्छ । तर, उक्त योजनामा कहीँ कतै टेलिभिजनको उल्लेख नगरिएको तर ०२८ सालको राष्ट्रिय सञ्चार सेवा योजनमा पहिलोपटक टेलिभिजन शब्दको प्रयोग भएको उल्लेख गर्दै लेखक नेपालमा टेलिभिजनको बहसको अवधिलाई बढाउन सफल भएका छन् । त्यसैगरी दरबारभित्र र बाहिर टेलिभिजनको पक्ष र विपक्षमा भएको राजनीति र बहस रोचक लाग्छन् ।
नेपालको सामुदायिक रेडियो अन्तर्राष्ट्रिय रूपमै उदाहरणीय छ । त्यसैगरी पछिल्लो समयमा आएर सामुदायिक स्तरमा टेलिभिजनको स्थापना गरी जनसहभागितामा कार्यक्रम उत्पादन र प्रसारण गर्ने प्रचलन बढ्दै गएको छ । कानुनी रूपमै सामुदायिक सञ्चार माध्यमलाई व्यवस्थित गर्न बाँकी रहे पनि सामुदायिक स्तरमा सञ्चारमाध्यमको स्थापना र सञ्चालन बढ्दै जानुले यस क्षेत्रलाई अब अध्ययनको दायरामा ल्याउनुपर्ने आवश्यकता अनुरूप नै यस पुस्तकको आठौँ परिच्छेदमा सामुदायिक टेलिभिजनसम्बन्धी चर्चा र नवौँ परिच्छेदमा सञ्चारमाध्यम सञ्चालनको आधार विज्ञापन व्यवसायको चर्चा गरिएको छ । यसबाट नेपालको सन्दर्भमा टेलिभिजन विज्ञापनको संक्षिप्त ऐतिहासिक जानकारी र वर्तमान अवस्थाबारे जान्न सकिन्छ । अन्तिम परिच्छेदमा पुस्तकको निचोडलाई निश्कर्षको रूपमा प्रस्तुत गर्दै नेपाली टेलिभिजनको भावि दिशा संकेत गर्न खोजिएको छ ।
सञ्चार अनुसन्धाताको पहिचान बनाइसकेका लेखकले पुस्तकलाई सकेसम्म अनुसन्धानात्मक बनाउन खोजेका छन् । द्वितीयक स्रोतमा निर्भर नभई प्राथमिक स्रोतबाट नै जानकारी लिइनुलाई पुस्तकको सवल पक्ष मान्न सकिन्छ । नेपालमा टेलिभिजनको स्थापना र अभ्याससँग सम्बद्ध २५ जना व्यक्तिसँग प्रत्यक्ष सम्वाद गरी प्राप्त जानकारीमाथि पुस्तकलाई आधारित गर्नुले यसमा प्रस्तुत तथ्यहरूलाई आधिकारिकता दिएको छ । यसअगाडि कतै प्रकासित नभएका दुर्लभ तस्बिरहरू र दस्तावेजहरूले पुस्तकलाई थप संग्रहणीय बनाएको छ । त्यसैगरी पुस्तकको अन्तिममा सम्मिलित नेपाली टेलिभिजनको समय रेखाले नेपाली टेलिभिजनका बारेमा सामान्य ज्ञान हासिल गर्न मद्दत गर्छ ।
लेखक स्वयं पत्रकार भएका हुनाले हुनसक्छ, वाक्यहरू छोटा र सरल छन् । १२८ पृष्ठको उक्त पुस्तकको मूल्य १९५ रुपियाँ छ । समेटिएका जानकारी, कागज र छपाइको गुणस्तर हेर्दा मूल्य अस्वाभाविक लाग्दैन । पुस्तक आकारमा सानो भए पनि खँदिलो छ ।
एउटै पुस्तकबाट सम्पूर्ण कुराको अपेक्षा गर्न सकिँदैन । तर, टंक उप्रेतीले नेपाली टेलिभिजनको इतिहासलाई अभिलेखन गर्ने सन्दर्भमा यस पुस्तकको प्रकाशनका माध्यमबाट एउटा दरिलो जग हाल्ने काम गरेका छन् र यसमा इटा थप्ने काम समयसँगै हुँदै जानेछ ।

प्रतिक्रिया