बाँझो भाग्य

niru-photoजन्मजात भाग्यमानी
मेरो भाग्यको भर्‍याङ हालेर
मेरै धुरी चढेका महान् योद्धाहरूले
मेरै आँगनमा मुत्दा पनि
आफ्नै भाग्यलाई सराप्ने
म हुतिहारा ।

पाकेको बालीमा पल्केका बाँदरले
मेरो भाउ नराखी बाली सखाप पार्दा पनि
एक पाइला नचाली
एक वचन नबोली
उभिइरहने सालिकजस्तै
म बुख्याँचा ।

सीप तिखारेर पहरामा
सुन फलाउनुपर्छ भन्थिन् आमा
म मरुभूमिको बालुवामा पसिना पोखेर
उमार्छु एक मुठो सपना
र, रोप्छु तिर्सनालाई
आफ्नो बाँझो भाग्यमा ।

सानो छँदा म, आमा लोरी सुनाउँथिन्
मेरो फराकिलो निधार हेरेर
गर्व गर्थिन् मेरो अथाह भाग्यमा
‘पुर्पुरो जोगाउनु पर्छ’
आमा यसै भन्थिन्
‘फुटेको पुर्पुरोबाट भाग्य भाग्छ’
आमाको आदेश मान्दै आएँ
फुट्न दिइनँ पुपुरो ।

आज सग्लो निधार छाम्छु
आमाको अर्ती सम्झन्छु
र, आमाको अवोधपनदेखि
दया लाग्छ भित्रैदेखि ।

आमा † किन सिकाइनौ
तिम्रा मुटुका टुक्राहरूलाई
भाग्य खोस्ने लुटेराबाट बच्न ?
जहाँ प्रत्येक युगमा जन्मन्छन्
हाम्रा कथित भाग्य विधाताहरू
र, लुटिरहन्छन् हाम्रा जन्मसिद्ध भाग्यहरू ।

प्रतिक्रिया