ईश्वरको हत्यारा !

Netra-Acharya-(3)‘तँ काँप्दैछस् ? मुर्दार !
तँ अझ कति काँप्दोहोस्,
यदि तँलाई मैले कहाँ लैजादै छु भन्ने थाहा हुँदो हो त ।’
नित्सेले मान्छेलाई कहाँ लैजान खोजेका थिए ? नित्सेका पुस्तक पढ्दा पाठकलाई कुनै अज्ञात आतंकको हुरीले हुत्याउँदै लगेजस्तो भान हुन्छ । सुख, शान्ति र चैनको छनक पनि पाइँदैन । नित्से पढ्नु मानाँै एक प्रकारको उडान हो, कहिले भरोसालाग्दो कहिले अत्यासलाग्दो ।
हामी देखिनसहने मानिसलाई मारिदिन सक्दैनौँ । नित्सेले ‘सर्वशक्तिमान’ भनिएको ईश्वर मरेको घोषणा गरिदिए । हामीलाई गोपालप्रसाद रिमालले भनेभैँm यो पसारो, बेथिति र अलमल नै प्यारो छ । हामी भ्रान्तिहरूलाई क्रान्ति भन्दै यथास्थितिमा बाँचिराखेका छौँ । नित्से महामानव बन्न सक्नु मात्र जीवनको सार हो भन्दै चिच्याइरहे । हामी बाँच्नका लागि संघर्ष गरिराखेका छौँ, नित्सेले शक्तिका लागि पो संघर्ष गर्नु त भनेर हामीलाई गिज्याइरहे ।
हामीले हाम्रो भाग्य वा नियतिलाई सराप्छौँ, नित्सेले चाहिँ आफ्नो नियतिलाई सहर्ष स्वीकार्नु मात्र होइन, प्रेम गर्न सक्नुपर्छ भने । हामी कुनै छुद्र मान्छेले सतायो भने क्रोधले भित्रभित्रै जलिराख्छौँ । नित्सेले त्यस्ता व्यक्तितिर केबल पिठ्यूँ फर्काइदिनुपर्छ भने । हामी यो असल र त्यो खराब भनेर पूर्वाग्रह पालेर बसिराख्छौँ, नित्सेले यी दुवैकुराबाट पर सोच्नुपर्छ भनेर झल्याँस्स ब्युँझाइदिए ।
नित्से को हुन् ? कलमले होइन हथौडाले दर्शन लेख्ने यी जुँगामुठे दार्शनिकका बारेमा विख्यात नाटककार जर्ज बर्नार्ड शाले भनेका छन्, ‘छिटै तपाईं या त नित्सेको बारेमा कुरा गर्न सक्ने हुनुपर्छ या समाजबाट रिटायर हुनुपर्छ । अब त्यो दिन धेरै टाढा छैन ।’
Nietzsche1‘अरूले दशवटा किताबमा लेख्न नभ्याउने कुरा मैले एउटै किताबमा लेखिदिन्छु । अरूले दश वटा वाक्यमा व्यक्त गर्न नसक्ने कुरा म एउटै वाक्यमा अभिव्यक्त गरिदिन्छु ।’ नित्सेलाई आफ्नो कुशाग्र लेखनशैली र त्यसको प्रभावी सघनता थाहा थियो । ‘मेरा विचारहरू पचाउन पाठकको पाचनशक्ति अलि बलियै हुनुपर्छ,’ उनी भन्थे ।
अघिल्लो शताब्दीका प्रसिद्ध आख्यानकार फ्रान्ज काफ्काले पढ्ने बानी हुनेहरूलाई भनेका थिए, ‘त्यही पुस्तक पढ जसले डस्छ ।’ फ्रेडरिक नित्सेका पुस्तक पढ्दा पाठकलाई त्यस्तै अनुभव हुन्छ । उनका उत्तेजक विचारहरू पाठकलाई डस्न आउँछन् । नित्सेका एक दर्जनभन्दा बढी पुस्तक सनसनीपूर्ण विचारले भरिएका छन् । अझ नित्से आफ्ना विचारलाई ‘डाइनामाइट’ भन्न रुचाउँछन् जुन कहीँ पनि, कुनै पनि बेला बिस्फोट हुन सक्छन् ।
सानैदेखि नित्सेले देखे–भोगेको कुरा लेखेर राख्ने गर्थे । किशोरावस्था नपुग्दै उनले दैनिकी लेखेर कैयौँ नोटकापी भरेका थिए । सानै उमेरदेखि लेख्ने बानी बसेको हुँदा छिटै उनको लेखन कौशल माझियो । उनका डायरीमा प्रयोग भएको जर्मन भाषाको सटिक अभिव्यक्ति देख्ता शिक्षकसमेत चकित हुन्थे । क्रमश: नित्सेलाई आफूले भोगेकोभन्दा लेखेको जीवन ज्यादा जीवन्त लाग्न थाल्यो ।
कुनै पनि दिन डायरी लेख्न छुट्यो भने उनको मन खुल्दुलिन्थ्यो । दिनभरिको दौडधूपपछि साँझ घरमा फर्केर उनी डायरी लेख्न बस्थे । यसरी बस्दा मध्यरात भइसकेको पनि पत्तै हुँदैनथ्यो । लेखिरहँदा उनलाई जीवनमा सबैभन्दा ज्यादा सन्तुष्टि अनुभूति हुन्थ्यो । उनले धेरै पछि ‘द ट्विलाइट अफ द आइडोल’ लेख्दा एक ठाउँमा भनेका छन्, ‘एउटा लेखकले विचार, शब्द र कलमसँग नाच्न सिक्नुपर्छ ।’
शास्त्रीय भाषा र साहित्य पढेका कुशाग्रबुद्धि नित्से डिग्री पूरा नहुँदै बसेल विश्वविद्यालयका प्राध्यापक बनिसकेका थिए । हेगेल, सोपेनहावर, कान्टजस्ता दार्शनिकहरूको देश जर्मनीमा नित्से एक फरक सोच र ओजका साथ उदाउँदै थिए । प्लेटो, सुकरात, अरस्तुलगायत ग्रिक दार्शनिक, सोफोक्लिजजस्ता नाटककार, गेटे, इमर्सनजस्ता उत्कृष्ट लेखकका कृतिहरूको अध्ययनले उनमा जीवनप्रति गहन दार्शनिक चेतना भरिदिएको थियो । नित्सले ‘द बर्थ अफ ट्रेजिडी,’ ‘ह्युमन अल टु ह्युमन,’ ‘अनटाइम्ली मेडिटेसन’ जस्ता गहकिला कृतिहरू एकाध वर्षको अन्तरमा प्रकाशित गरिसकेका थिए ।
जिन्दगी ठीकठाक चलिरहेको थियो । केबल नित्से अलि बढी एक्लोपना अनुभव गर्दैथिए । आफ्ना विचारहरू बुझिदिने, तिनलाई लेख्न मद्दत गरिदिने र घर गृहस्थी पनि चलाइदिने कोही जीवनसाथी भइदिए हुन्थ्यो भन्ने नित्सेको मनमा हुँदो हो ।
नित्सेका संगीतज्ञ साथी रिचार्ड वाग्नरले नित्सेको बिहे गरिदिन सुयोग्य युवती खोज्दै थिए । यस्तैमा एक दिन नित्सेलाई साथी पल रीको पत्र प्राप्त भयो । पत्रमा री र उनकी घरबेटीले नित्सेलाई रोममा बोलाएका थिए । पत्रको बेहोरामा भनिएको थियो– यहाँ हामीसित एउटी रसियाली सुन्दरी छिन्, यी जर्नेलकी छोरी लाउ सलोमी अत्यधिक बौद्धिक प्रकृतिकी छिन् । सलोमीको बौद्धिक उत्कण्ठा र जीवनप्रतिको उत्सुकता एवं उत्साह अचम्मलाग्दो छ । सलोमी र तिम्रो बौद्धिक वार्तालाप खुब जम्नेथियो भन्ने हामीलाई लागेको छ ।
नित्से हौसिँदै रोमतिर हिँडिदिए । बाटोमा के सुर चल्यो कुन्नि, एक दिन मेसिना भन्ने सहरमा रोकिए । यता पल री भने कतिखेर नित्से आइपुग्लान् भनेर पर्खिबसेका थिए । ‘यो रसिएन ठिटी तिमीलाई भेट्न व्यग्रतापूर्वक आतुर छे’ रीले फेरि नित्सेलाई चिठी पठाए ।
आखिर नित्से र सलोमी रोममा भेट भए । पहिलो भेटमा नित्सेको मुखबाट निस्किएका शब्द थिए, ‘हामी दुई यहाँ भेट हुन कुन ताराबाट खसेका थियौँ ?’
नित्से–सलोमीको बौद्धिक संवाद अनुपम रह्यो । नित्से आफ्ना दार्शनिक कुरामा रुचि राख्ने र तिनलाई राम्ररी बुझ्ने ठिटी फेला पार्दा चकित थिए । सलोमी जीवनका गहनतम रहस्यहरू एउटा दार्शनिकका मुखैबाट सुन्न पाएकोमा मन्त्रमुग्ध थिई । नित्सेलाई लाग्थ्यो, सलोमी सौन्दर्य र बौद्धिकताकी प्रतिमूर्ति हो । सलोमीलाई लाग्थ्यो, नित्से कालान्तरसम्म मानिसलाई उत्कृष्ट जीवन बाँच्ने बाटो देखाउने प्रबुद्ध दार्शनिक ।
नित्से र सलोमी जंगली बाख्रा हिँडडुल गर्ने डाँडातिर घुम्न गइरहन्थे । सलोमी विस्मित हुँदै भन्थी, ‘हाम्राबीचमा भएका वार्तालाप कोही सुन्दो हो भने दुई जना शैतान कुरा गर्दैछन् भन्ने सोच्दो हो हगि !’ फोक्सोको समस्या भएकी सलोमीलाई डाक्टरहरूले केही वर्ष मात्र बाँच्छेस् भनिदिएका थिए । उसलाई जतिसक्दो छिटो जीवनको रहस्य थाहा पाउनु थियो, जति सक्यो त्यति धेरै जीवनका खुसीहरू भोग्नु थियो ।
नित्सेको मनमा यस्ती चुलबुले तर कामकाजी युवतीलाई आफ्नै बनाउने धुन सवार भइसकेको थियो । मानौँ सलोमी नित्सेका लागि स्वप्नसुन्दरी थिई जसलाई कुनै पनि हालतमा गुमाउनु उचित थिएन । निर्भीक स्वभावका नित्सेले रोमको कुनै पहाडतिर डुलिरहेका बखत सलोमीसित बिहेको प्रस्ताव राखे । सलोमीले आर्थिक कारणले आफू बिहे गर्न असमर्थ रहेको जनाई । बरु, नित्से, ऊ स्वयं र पल री मिलेर एउटा घर भाडामा लिने, सामूहिक जीवन बिताउने र बौद्धिक संवाद एवं लेखनलाई अगाडि बढाउने प्रस्ताव राखी । नित्से सलोमीको प्रस्तावमा राजी भए । एउटा सुन्दर अध्ययन कक्ष, प्रचूर मात्रामा पुस्तकले भरिएका दराजहरू र प्रबुद्ध एवं रसिक साथीहरूको चहलपहल सलोमीको जीवनभरिको सपना थियो ।
मन्टे स्याक्रो नामको लेकतिर घुम्न गएका बेला सलोमी र नित्से सायद शारीरिक रूपले पनि नजिकिए । त्यो दिन खासमा के भएको थियो सलोमीले विस्तारमा कहिल्यै लेखिनन्, उनले आफ्नो आत्मकथामा यत्ति लेखेकी छिन्, ‘मन्टे स्याक्रोमा मैले नित्सेलाई चुम्बन गरेँ कि गरिनँ भन्ने समेत मलाई थाहा छैन ।’ नित्सेले सम्झँदै लेखेका छन्, ‘त्यो दिनको यात्रा भव्य रह्यो, दिनभर एक—आपसमा प्रतिज्ञाहरू गरिए भलै ती कहिल्यै पूरा भएनन्, तर हामी दुवैलाई थाहा छैन त्यो दिन मन्टे स्याक्रोमा वास्तवमै के भएको थियो ।’
ज्युरिकमा फेरि एकपटक यो बौद्धिक जोडी सुनसान पाखाहरूमा घुमघाम गर्दैथियो । फेरि एकपटक नित्सेले बिहेको प्रस्ताव राखे । फेरि सलोमीले अस्वीकार गरिन् । नित्सेलाई गहिरो धक्का लाग्यो सायद । नित्से झन् आहत त त्यतिखेर भए जब उनले थाहा पाए उनलाई रोम बोलाउने साथी पल र सलोमीबीच धेरै पहिलेदेखि प्रेम चलिरहेको छ भनेर । नित्सेलाई इटाली बोलाउँदा पलले यो सम्बन्ध किन लुकाएको ? तिनीहरूले नित्सेलाई कुन चक्करमा परेको देख्न चाहेका थिए ? यो नित्सेले बुझ्न सकिरहेका थिएनन् ।
नित्सेले यो घटनाबाट आझ्नो मनमा जमेको तीतो पोख्दै पल रीका भाइलाई एक पत्र लेखे, ‘यो ख्याउटी फोहोरी नक्कली स्तन भएकी दुर्गन्धित बादर्नी– उफ कस्तो दुर्घटना !’ कुन्नि किन हो, यो पत्र नित्सेले पठाएनन् ।
नित्से मानव जातिकै लागि उज्यालो भविष्य खोज्दै थिए । घरमा भने उनलाई साथ दिने, उनका वैचारिक उद्गारहरू सुन्ने र तिनलाई लिपिबद्ध गरिदिने समेत कोही थिएन । नित्सेले लामो सुस्केरा हाले, ‘मेरो आत्माले यसको खोल गुमाएको छ, यसो भनौँ, मेरो आत्माले सम्पूर्ण प्राकृतिक सुरक्षाकवचहरू गुमाएको छ ।’
आफ्नै भनेको साथीले गुमराहमा राखे पनि, आफ्नै ठानेकी युवतीबाट अस्वीकृत भए पनि नित्से हतोत्साहित वा चिन्तित हुने व्यक्ति थिएनन् । उनले यस्तो अनुभव गरे मानौँ उनको मस्तिष्कका तमाम जीवकोषहरू चिसो पानीमा नुहाएर तरोताजा बनेका छन् । जीवनभरिको अलमल र धरमरबाट अब मुक्ति मिलेको छ, सबै कुरालाई नयाँ ढंगले हेर्ने र नयाँ रंगमा संरचना गर्ने बाटो खुलेको छ ।
‘मैले यस्तो अनुभव गरेको छु मानौँ चट्याङ परेर बिजुली खसेको छ, निमेषभरका लागि म पञ्चतत्त्वमा परिणत भएको छु, जाज्वल्यमान प्रकाशमा नुहाएको छु । र, अब सब कुरा बदलिइसकेको छ । प्रसवपीडा सकिएको छ ।’
नित्सेले अब हरेक घटना, विचार र वस्तुहरूलाई बेग्लै आँखाले देख्न थालेका थिए । जंगलमा एउटा बूढो सन्त ईश्वरको भजन गाएर बसिरहेको थियो । यो देखेर नित्सेको जराथुस्त्रलाई आश्चर्य लागिरहेको थियो, ‘ईश्वर मरिसकेको बारे मानिसहरूले अझै थाहा पाएका छैनन् कि क्या हो ?’
हामी सबैले ईश्वरलाई मारिसकेका हौँ । हामी नै हौँ ईश्वरका हत्यारा । उहिल्यै एउटा पागल झलमल्ल घाम लागेको बेला लालटिन बालेर सडकमा ईश्वर खोज्दै हिँडेको कसैले देखेन कि क्या हो † हामीले ईश्वरको हत्या गर्‍यौँ । हामी अझै रंगेहात उभिइरहेका छौँ । उफ्, हाम्रा हातमा लागेको रगत पो कसले पुछिदेला †
महामानवले हाम्रा हातको रगत पुछिदिने छ । महामानव जन्मँदै छ ।
जराथुस्त्रले भन्यो– आओ ! म तिमीहरूलाई महामानव बन्न सिकाउँछु । मानिस त त्यो अवस्था हो जसलाई अतिक्रमण गरिनुपर्छ । तिमीभित्रको मानिसलाई अतिक्रमण गर्न तिमीले के गर्‍यौ ?
मानवभन्दा माथि उठ्न तिमीले के गर्‍यौ ? गाईले दूध दिएजस्तै, मौरीले मह बनाएजस्तै सृष्टिका सबै प्राणीले आफूभन्दा उत्कृष्ट वस्तु सिर्जना गरेका हुन्छन् । मानिसले पनि आफ्नो सुन्दर व्यक्तित्व सिर्जना गर्नुपर्छ । महामानव मानिसको आपैँmभन्दा उच्चतर सिर्जना हो । मानिस दूषित नदीनाला हो भने महामानव अदूषित महासागर हो । त्यो महासागरमा दूषित खोलानाला प्रवेश गर्न सक्छन् तर महासागर उस्तै निर्मल रहिरहन्छ । ठीक त्यसैगरी महामानवमा घृणा र क्रोधजस्ता भावना सहजै विलीन हुन्छन् ।
जीव विकासको क्रममा मानिस त संक्रमणकाल हो । मानिस जनावर र महामानवका बीच टाँगेको डोरी हो; जनावरबाट विकसित हुँदै मानिससम्म आइपुगेको प्राणी । ऊ उन्नतितिर लम्कँदै महामानव बन्नसक्छ र अवनतितिर खस्कँदै पशु बन्न सक्छ । दुवै सम्भावना छन् मानिसभित्र । कुन सम्भावनालाई परिष्कार गर्ने भन्ने निर्णय हरेक व्यक्तिको हातमा हुन्छ । आत्मानुशासन, आत्मनियन्त्रण र आत्मोन्नति गर्दै मानिस महामानव बन्न सक्छ ।
महामानव बन्न शक्तिको आकांक्षा गर । नियतिलाई स्वीकार मात्र होइन, प्रेम गर । असल र खराबभन्दा माथि उठेर सोच । खतरामा बाँच्न सिक । खतरामा बाँच्नु र सृजनशील भइरहनु अस्तित्वगत धर्म हो । जीवन यस्तो बाँच ताकि हरेक पल जस्ताको तस्तै पुनरावृत्ति हुँदा पनि बाँच्न उत्तिकै उत्साह होस् ।
भनिन्छ, उनको चिहानमा कसैले लेखिदिएका छन्–
‘ईश्वर मरिसकेको छ ।’ –नित्से
त्यसको ठीक तल फेरि कसैले यस्तो लेखिदिए–
‘नित्से मरिसकेको छ ।’ –ईश्वर

प्रतिक्रिया