कुनै पनि हालतमा मंसिरमा चुनाव : खनाल

इलाम, ३१ चैत । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसिरभित्रै संविधानसभाको निर्वाचन गराउनुपर्ने बताएका छन् । गृहजिल्ला इलामको इरौटार–८ स्थित बहुवन माध्यमिक विद्यालयको रजत महोत्सवको शुक्रबार उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।

‘असारमा चुनाव गराउन पर्याप्त समय छैन, त्यसैले मंसिरभित्र जसरी पनि निर्वाचन गराउनुको विकल्प छैन,’ उनले भने । चाहेर पनि असारमा निर्वाचन गर्ने असम्भव भएको जिकिर गर्दै उनले भने, ‘असारमा निर्वाचन गर्नका लागि आवश्यक तयारीसमेत नभइसकेकाले मंसिरमा चुनाव उपयुक्त हुन्छ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले असारमै निर्वाचन चाहेकोतर्फ लक्षित हुँदै खनालले एमाओवादीले मात्र नभई सबै दलले असारमै निर्वाचन चाहेको दाबी गरे ।
खिलराज रेग्मी नेतृत्वको सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउनु रहेको बताए । ‘यो सरकार निर्वाचान गराउन गठन भएको हो,’ अध्यक्ष खनालले भने, ‘असारमा निर्वाचन गर्न अब सम्भव छैन । मंसिरमा पनि गर्न सकिएन भने सरकारको आयु लम्बिन्छ र देश ठूलो भड्खालोमा पर्छ ।’ निवार्चनको विरोध गरिरहेका दलहरू वार्तामा आए संवादबाट निकास निकाल्न सकिने उनले बताए ।
अध्यक्ष खनालले अन्य दलसँग एमालले संविधान निर्माणमा सहमति र सरकार निर्माणमा प्रतिस्पर्धा गरेर अघि बढ्ने जानकारी दिए । मुलुक संविधानसभाको निर्वाचनमा होमिइसकेकाले अब हुने संविधानसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि दाबी गरे ।

प्रतिक्रिया