‘सुप बुद्धिचाल’मा वसन्तको एकल अग्रता

महेन्द्रनगर, ३० चैत । नेपालका वसन्त रावलले सुदूरपश्चिम खुल्ला बुद्धिचाल प्रतियोगितामा एकल अग्रता हासिल गरेका छन् । प्रतियोगिताको दोस्रो दिनसम्म पाँच चरणका खेल सम्पन्न भएका छन् । पाचौँ चरणको समाप्तिमा वसन्तको ५ अंक भएको छ । उनले तेस्रो चरणको खेलमा स्थानीय कृतबहादुर जोरालाई पराजित गरे भने चौथो चरणमा भारतका मुकेशचन्द्र जोशीलाई हराए । चौथो चरणसम्म समान अग्रता बनाएका बाँकेका तीर्थबहादुर विक पाचौँ चरणमा वसन्तसँग हार्न पुगेपछि दोस्रो स्थानमा ओर्लिन पुगे । विकसँगै प्रकाश नेपाल, मुकेशचन्द्र जोशी, टेकेन्द्रराज पाठक, जगतबहादुर थापा, जयबहादुर कार्की तथा भारतका अनरेटेड अशोक कुमारको समान ४ अंक रहेको छ ।

धनबहादुर बोगटी, ताजुलहक हलुवाई, भीमदत्त पाण्डे, राजन सिं सिजापती, खडकबहादुर तथा भारतीय जितेन्दरकुमार जोशीको ३ दशमलव ५ अंक रहेको छ । प्रतियोगितामा नेपाल र भारतका २००० मुनि रेटिङ समूहका कूल ५६ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता स्विस लिग प्रणालीअनुसार ९ चरणसम्म चल्नेछ । प्रतियोगिताअन्र्तगत बिहीबार छैटौँ, सातौँ तथा आठौँ चरणका खेल सञ्चालन हुनेछन् ।

प्रतिक्रिया