३० हजारमा सिम किनेँ २० हजारमा सेट

Deepak-Malhotraदुई दशकअघि नेपालमा अहिलेजस्तो मोबाइल फोनको सुविधा थिएन । ल्यान्डलाइन फोन भएको ठाउँमै जतिखेरै बसिरहन सहज पनि थिएन । कामका सिलसिलामा कहिले कता, कहिले कता पुगिरहनुपर्ने । सूचना र सञ्चार मानवजीवनको महत्त्वपूर्ण अंग बनिसकेको छ अहिले । व्यस्त मान्छेका लागि भरपर्दो सहयोगी पनि हो सञ्चारसाधन । व्यवसायको व्यस्तताबीच थुप्रै काम फोनमार्फत गर्नुपर्ने हुन्छ । आवश्यक सबै व्यक्तिसँग भेटेरै कुरा गर्न सम्भव पनि हुँदो रहेनछ । यस्तो बेलामा मोबाइल फोन वरदानसरह भएको छ, मेरा लागि पनि ।

त्यसो त सेलफोन आइनसक्दा कर्डलेस फोनले पनि केही सजिलो पारेको थियो । तर, लामो दूरीमा त्यसले काम गर्दैनथ्यो । घर वा अफिसवरिपरि त्यसैले काम चलाउँथ्यौँ । ल्यान्डलाइन फोनको तुलनामा सुविधायुक्त भए पनि यो ठूलो आकारको अनि भद्दा हुन्थ्यो । लाग्थ्यो– कतै टाढा पुग्दा पनि सम्पर्क हुन सक्ने सानो आकारको छरितो फोन गोजीमा राखेर हिँड्न पाए † कहिले आउला त्यस्तो दिन ?
मैले सोचेजस्तो त्यो सुविधा सन् १९९८ मा नेपाल भित्रियो, मोबाइल फोनका रूपमा । सुरुमा साहै्र थोरै मान्छेको पहुँचमा थियो यो । जो पायो त्यसले प्रयोग गर्न पाउँदैनथ्यो, आर्थिक रूपले पनि निकै महँगो थियो । अहिलेजस्तो गोजीमा नागरिकता बोकेको भरमा सजिलै पाइँदैनथ्यो । जति महँगो परे पनि किन्छु भन्दा पनि अनेकतिरबाट पावर लगाएर मात्र लिन सकिन्थ्यो । मैले पनि बल्लबल्ल पाएँ । म नेपालमा मोबाइल प्रयोग गर्ने २१औँ व्यक्ति बनेछु, त्यतिखेर ।
सुरुमा पोस्टपेड मोबाइल आयो । हामीजस्ता अविकसित देशका नागरिकका लागि मोबाइल भित्रिँदा कुनै चामत्कारिक वस्तु फेला पारेजस्तो आश्चर्य थियो । चर्चा पनि त्यस्तै– ‘लौ खल्तीमा हालेर हिँड्न मिल्ने फोन आयो रे †’ त्यस्तै सुविधाको कल्पना गरेर बसेको मेरा लागि चाहिँ यो साँच्चै नै खुसीको कुरा थियो । म पनि सिमकार्ड लिन गएँ । साहै्र कठिन भयो । प्रक्रिया थालेको तीन दिनमा सोर्सफोर्स लगाएर भए पनि बल्लतल्ल सिम हात पारेँ । एउटा सिम लिन ३० हजार रुपियाँ खर्च भएको थियो । त्यो जमानामा यो निकै ठूलो रकम मानिन्थ्यो । बजारमा गएर मोबाइल सेट किनेर सिम हालिहालेँ । त्यति बेला बजारका सीमित पसलमा केही सेट मात्रै पाइन्थे ।
पहिलो कल श्रीमतीलाई गरेँ, सिमकार्ड पाएको जानकारी गराएँ । बहादुरी देखाएर कुनै ठूलै कुरा हात पारेजस्तो † सीमित मान्छेको मात्र पहुँचमा रहेको प्रविधि उपभोग गर्न पाएकोमा गौरव लागिरहेको थियो । फेरि मोबाइल चलाउन पनि अहिलेजस्तो सजिलो कहाँ थियो र ? खर्चालु पनि उत्तिकै थियो । कल गर्दा मात्रै होइन, रिसिभ गर्दा पनि पैसा काटिन्थ्यो, रोमिङ चार्जका रूपमा ।
सुरुमा एरिक्सनको ब्ल्याक एन्ड ह्वाइट सेट प्रयोग गरेँ । सिम लिनजस्तै गाह्रो थियो सेट पाउन पनि । बजारमा प्रतिस्पर्धा नभएकाले निकै महँगो पथ्र्यो । त्यो सामान्य सेटलाई पनि त्यस बेला २० हजार रुपियाँ पर्‍यो । अहिले त्यो सेट बजारमा एक हजारमा पाइँदो रहेछ । २० हजारमा त थुप्रै सुविधा भएको रंगिन सेटै पाइन्छ । त्यसपछि क्रमश: नोकिया, मोटरोलाका सेट बोकेँ । सन् ००१ मा म आफैँ सामसुङको आधिकारिक बिक्रेता भएँ । त्यसयता लगातार सामसुङकै मोबाइल बोकिरहेको छु । हालसम्म करिब पन्ध्रवटा मोबाइल नम्बर फेरिसकेँ । पचास वटाभन्दा बढी सेट फेरीफेरी बोकेँ । अहिले मसँग साथमा दुईटा मोबाइल हुन्छन्, पोस्टपेड नम्बरका । बीचमा एकचोटि प्रिपेड पनि बोकेँ ।
अहिले सामसुङको ग्रान्ड ग्यालेक्सी एसथ्री बोक्दै छु । मैले प्रयोग गरेकामध्ये अहिलेसम्मकै सबैभन्दा महँगो सेट । मैले सुरुमा लिँदा यसको मूल्य ६९ हजार रुपियाँ थियो, अहिले घटेर ५६ हजार भएको छ । सामसुङले बजारमा ल्याउँदै गरेको ग्यालेक्सी एसफोर पनि भर्खरै हातमा परेको छ । नयाँ आएकाले कम्पनीले पठाइदिएको । अब यही प्रयोग गर्ने तयारी गर्दै छु । यो अझ महँगो छ, सुविधा पनि त्यहीअनुसार ‘एड्भान्स’ छन् । बजारमा आउने हरेक नयाँ मोडल कम्पनीले एक थान मलाई प्रयोग गर्न दिन्छ । उपहारका रूपमा आउने भएकाले मैले किन्नुपर्दैन । व्यक्तिहरूबाट चाहिँ मैले अहिलेसम्म उपहारका रूपमा मोबाइल सेट पाएको छैन । आफूले चाहिँ साथीभाइलाई उपहारका रूपमा कहिलेकाहीँ मोबाइल सेट दिएको छु ।
पहिल्यैदेखि म नचिनेका नम्बरबाट आएका कलचाहिँ हत्तपत्त उठाइहाल्दिनँ । उति बेला मोबाइलमा अरूका अनावश्यक गुनासो सुन्दा आफ्नो पैसा पनि सकिँदै जाने अवस्था थियो । समयको पनि बर्बादी हुन्थ्यो, त्यसैले सोचविचार गरेर मात्र रिसिभ गर्थें । नचिनेका नम्बर उठाउँदा नाफाभन्दा बढी घाटा बेहोरेको छु । त्यसैले आवश्यक र चिनेको नम्बर सेभ गरेर राख्छु, रिसिभ गर्न सजिलो होस् भनेर ।
सुरुमा आउँदा मोबाइलबाट कुरा गर्न मात्र मिल्थ्यो । अहिले त फोटो खिच्न, एफएम वा गीत सुन्न, नेट चलाउन पनि मिल्छ । समयसँगै सुविधा थपिएका छन्, प्रयोगशैली एड्भान्स हुँदै छ । फरक प्रयोजनका लागि फरकफरक सामग्री बोकिरहनुपर्ने झन्झट एउटै मोबाइलले अन्त्य गरिदिएको छ । कोही सोखले प्रयोग गर्छन् त कोही आवश्यकताले । जुन प्रयोजनले बोके पनि मोबाइल सबैका लागि अनिवार्य संस्कारजस्तो भइसक्यो ।
पहिलेपहिले नोटबुक र क्योमरा छुट्टै बोक्थेँ, अहिले मोबाइल बोके पुग्छ । सफ्टवेयर अपडेट पनि मोबाइलबाटै गर्छु । मोबाइलमा उपलब्ध हरेक सुविधा सकेजति उपभोग गर्छु, इन्टरनेट यसैमा चलाउँछु । लामो यात्रामा त झन् यो सबैभन्दा भरपर्दो सहयोगी बन्ने गरेको छ । दुनियाँ सामान किनेर झन्झट बेहोर्नुभन्दा एउटा मोबाइलमा खर्च गर्‍यो, टेन्सनै साफ ।
मोबाइल निकै जतन गर्छु म । आजसम्म जम्मा एउटा सेट हराएको छु । करिव डेढ वर्षअघि एउटा कार्यक्रमका सिलसिलामा बैंकक पुग्दा पहिलोचोटि मेरो मोबाइल हरायो । एउटाचाहिँ खसेर फुट्यो । मैले अहिलेसम्म फेरेका सेटहरू सबै हराएर वा फुटेर नयाँ लिइएका होइनन् । बजारमा आएका नयाँनयाँ प्रविधिका सेट रहरैले फेरेको हुँ ।
मेरो मोबाइलमा ब्लफ वा मिस कल कमै आउँछ । करिब दश वर्ष पहिला एउटा कल आयो । नचिनेको नम्बर थियो, तैपनि उठाउन मन लाग्यो । उताबाट आवाज आयो– ‘शरतसिंह भण्डारीलाई पाउँm न ।’ मेरो मोबाइलमा फोन गरेर अरूलाई मागेको देख्दा म त अचम्मै परेँ । फोन गर्ने व्यक्ति तत्कालीन प्रहरीप्रमुख अच्युतकृष्ण खरेल रहेछन् । मैले उनलाई आफू शरतसिंह नभएको जानकारी गराएँ, आफ्नो परिचय दिएँ । उनले किन मेरो नम्बरमा फोन गरेर शरतसिंहलाई मागे, मैले थाहा पाइनँ । सायद झुक्किएका थिए होलान् । त्यसयता यस्तो घटना दोहोरिएको छैन ।
म मोबाइलमा आवश्यक कुरा मात्र गर्न रुचाउँछु । हाईहेलो वा के खायौ, के पाक्यो भन्नका लागि फोन प्रयोग गर्दिनँ । त्यो त प्रविधिको दुरुपयोग हो । प्रविधिलाई उपयोग गरे जीवन सरल र सहज हुन्छ । दुरुपयोग गर्दा घाटा मात्र लाग्छ । राति दशदेखि बिहान आठ बजेसम्म मोबाइल अफ गर्छु । हरेक सामान कहाँ कसरी प्रयोग गर्ने भन्ने राम्ररी ज्ञान हुनुपर्छ । छ भन्दैमा जहिले र जहाँ पनि चलाउनुहुँदैन ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया