असारमा चुनाव नहुनु दु:खलाग्दो : दाहाल

पोखरा, ३० चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा संविधानसभा चुनाव नहुनु दु:खलाग्दो भएको बताएका छन् । ‘असार पहिलो साताभित्र संविधानसभा चुनाव हुन्छ भनेर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएका हौँ तर अहिले असारको पहिलो साता चुनाव नहुने अवस्था छ, यो दु:खलाग्दो अवस्था हो,’ अध्यक्ष दाहालले भने ।

पोखरामा बिहीबार क्रन्तिकारी पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले यस्तो कुरा बताएका हुन् । असार पहिलो साता चुनाव गर्नका लागि आफूहरूले सरकारको नेतृत्व छाडेको उल्लेख गर्दै उनले अहिले आएर प्राविधिक कारणले असम्भव हुने भनिएको भन्दै असन्तुष्टिसमेत जनाए । उनले आफूले बुधबार तत्काल चुनावको मिति तोक्नुपर्‍यो भनेर मन्त्रीहरूसँग भनेको र उनीहरूले पनि अब चाँडै प्रक्रिया मिलाएर मिति तोक्ने आस्वासन दिएको जानकारी दिए ।
चुनावको विरोध गरिरहे वैद्य पक्ष सिद्धिन्छन्
दाहालले परिवर्तनविरोधीको उक्साहटमा लागेर मोहन वैद्यनेतृत्वको नेकपा–माओवादीले चुनावको विरोध गरिरहेको आरोपसमेत लगाए । चुनावको विरोध गर्नु संघीयता, धर्मनिरपेक्षता र परिवर्तनविरोधी काम भन्दै वैद्यपक्ष नसुध्रिए सिद्धिने चेतावनी दिए । ‘हामीले उच्चस्तरीय राजनीतिक समितिमा आउनुहोस् भनेका छौँ र सबै विषयमा छलफल गर्न तयार छौँ, यसो भन्दा पनि उनीहरू मान्दैनन् भने भीरबाट खस्ने गोरुलाई रामराम भन्न मात्र सकिन्छ,’ उनले भने।
संविधानसभा चुनावलाई शाहीकालीन चुनावसँग नदाँज्न आग्रह गर्दै उनले भने, ‘यो संविधानसभा चुनाव हो । यसलाई शाहीकालको चुनावजस्तो भनेर कुतर्क नगरौँ ।’

प्रतिक्रिया