नयां बजेट पनि निजी क्षेत्र केन्द्रित हुन्छ

Shankar-Koiralaकाठमाडौं, २९ चैत । अर्थमन्त्री शंकर कोइरालाले आगामी बजेट पूर्ण रुपमा नीजि क्षेत्र केन्द्रित रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले सरकारले मुलुकको विकास निर्माणको गतिलाई तिब्रता दिने विषयमा नीजि क्षेत्रमाथि सरकारले विश्वास गरेको बताए । ‘सरकारले अर्को पूर्ण बजेटको तयारी गरिरहेको छ,’ उनले भने, ‘नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी उनीहरुसंगको सहकार्यमा बजेट ल्याउंछौं ।’
उनले अहिलेको बजेट थोरै समयका लागि भए पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकको विग्रदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफूहरुले अहिलेकै बजेट देखि काम थालेको बताए ।
उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले तीन महिने बजेटले सरकारले नीजि क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले बर्तमान सरकारसंग निजी क्षेत्रको अपेक्षा र विश्वास धेरै रहेको बताए ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकको अर्थतन्त्र अवरुद्ध हुने अवस्थामा पुगेका बेलामा आएको बजेटले राहत प्रदान गरेको बताए । उनले ट्रान्समिसन लाईन निर्माण गर्ने, कृषिको विकासका लागि मलको अनुदानलाई दोब्बर बनाउने, निकासी अभिबृद्धि गर्न आवश्यक ब्यवस्था गर्नु, नयां औद्योगिक क्षेत्रको विकास गर्ने कुरा बजेटका सकारात्मक पक्ष भएको बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले तीन महिने बजेटले निजी क्षेत्रलाई सवल बनाउने दिशामा सहयोग मिल्ने विश्वास लिए ।
महासंघका पूर्व अध्यक्ष दिवाकर गोल्छाले आशा लाग्दो बजेट आएको भन्दै एकीकृत औद्योगिक पद्धतिको विकास गर्न सुझाव दिए । उनले निर्यात हाउस निर्माणको आवश्यकता औल्याए ।

प्रतिक्रिया