शाहीकालीन निर्वाचन होईन ‘कु’ तर्क नगरौं

Puspakamal-Dahalपोखरा, २९ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीले निरार्वाचन र परिवर्तन विरोधीको उकसाहटमा लागेर चुनाव विरोध गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
उनले नेकपा–माओवादीको विरोधका क्रियाकलाप जनताले अधिकार पाउन गरेको प्रयासमा ब्यवधान मात्रै भएको टिप्पणी गरे । विहीबार विहान पोखरामा क्रन्तिकारी पत्रकार संघ कास्कीको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले निर्वाचनको विरोधन गर्नु परिवर्तनको विरोध हुने बताए ।
‘निर्वाचनको विरोध गर्नु भनेको संघीयता, धर्म निरपेक्षता र समग्रमा परिवर्तनको नै विरोध गर्नु हो,’ उनले भने, ‘बैद्य पक्षको माओवादीमा सुधार नभए स्वयं सक्किने छन् ।’
‘हामीले उच्च स्तरीय राजनीतिक समितिमा आउनुहोस । सवै विषयमा छलफल गर्न तयार छौं,’ उनले भने, ‘यसो भन्दा पनि उनीहरु मान्दैनन् भने भिरबाट खस्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ ।’
अध्यक्ष दाहालले अहिले प्राविधिक कारणले असारमा निर्वाचन असम्भव हुने भनिएकोमा असन्तुष्टि ब्यक्त गरे । ‘असार भित्र निर्वाचन हुन्छ भनेर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न सहमत भएका हौं,’ उनले भने, ‘तर अहिले असारको पहिलो हप्ता निर्वाचन नहुने अवस्था छ, यो दुख लाग्दो अवस्था हो ।’
उनले अहिले पुनः संविधानसभाको निर्वाचन गर्न लागेको भन्दै शाहीकालीन निर्वाचनसँग नदाज्न आग्रह गरे । ‘यसलाई शाहीकालको निर्वाचन जस्तो भनेर ‘कु’ तर्क नगरौं,’ उनले भने ।

प्रतिक्रिया