सपनाको दूरी पछ्याउँदै सञ्जय सगरमाथातिर

Sanjaya-Panditभनिन्छ– प्राप्तिभन्दा अघि सपना देख्न जान्नुपर्छ । तर, सपना देख्ने केही मात्र गन्तव्यसम्म पुग्छन् । कोही सपना मात्र देख्छन्, कोही त्यसलाई पछ्याउँदै गर्दा थाकेर बीचमै अडिन्छन् । लक्ष्यको थोरै अंश आत्मसात् गर्दा पनि आत्मसन्तुष्टिको चरम उचाइ अनुभूत गर्छन् । प्युठानका सञ्जय पण्डित जिन्दगीको पोल्टामा आइपुगेका केही सफलताबीच आत्मसन्तुष्टिको स्वाद चाख्दै छन् हिजोआज । प्युठानबाट सपनाको भारी बोकेर काठमाडौं खाल्डो छिर्दा सम्मानित र परिचित जीवन बाँच्ने इच्छा सलबलाइरहेको थियो उनीभित्र । तर, उच्चशिक्षाका लागि काठमाडौं प्रवेश गरेको दुई वर्ष बितिसक्दा पनि करियरको ‘बाटो’ पहिल्याइसकेका भने थिएनन् ।

०६३ सालतिर सञ्जयमा एक्कासि खेलाडी बन्ने भूत चढ्यो । ‘कक्षा १२ को परीक्षा दिएर स्वयम्भूबाट फर्किरहेको थिएँ, बाटामा दीपक विष्ट र राजेन्द्र भण्डारीलाई रथारोहण गराइएको देखेँ । भीड उनीहरूको पछि दौडिरहेको थियो । म पनि ती खेलाडीको सम्मानले लोभिएँ । सोचेँ– सफल खेलाडी बन्न सके मैले पनि यस्तै इज्जत पाउने रहेछु’, सञ्जय करियरका आरम्भिक दिन सम्झन्छन्, ‘त्यसपछि प्रतिज्ञा गरेँ– म पनि खेलाडी बन्छु ।’ १०औँ सागका पदकविजेता खेलाडीको सम्मानमा गरिएको थियो, सञ्जयले देखेको त्यो रथारोहण । दुईवटा स्वर्ण जितेका धावक राजेन्द्रको जताततै हाइहाइ थियो ।
स्कुल स्तरका प्रतियोगिता दौडिएर धेरैपटक मेडल जिते पनि व्यावसायिक खेलाडी बन्ने सोच त्यसअघि कहिल्यै पलाएको रहेनछ सञ्जयमा । ‘बुबाले दौडिन प्रोत्साहित गर्नुहुन्थ्यो । खेलाडी नबने कम्तीमा स्वस्थ त बनिन्छ, भन्नुहुन्थ्यो’, दौडमा भिज्नुको आधार खोतल्छन् ।
त्यसपछि सडकमा रातदिन मेहनत गर्न थाले उनी । एकपटक दौडिएर पाटनदेखि गौशाला पुगेछन्, बाटै भुलेछन् । विस्तारै उनलाई प्रशिक्षक र अन्य खेलाडीसँग चिनजान गर्नुपर्छ भन्ने लाग्न थाल्यो । दशरथ रंगशालाको ट्रयाकमा पाइला राख्न सुरु गरे । अब त उनको रासोबासो नै रंगशाला हुन थाल्यो । कुनै बेला दिनैभरि रंगशालाको ट्रयाकमा दौडिरहे । उनले सोचेजस्तै प्रशिक्षक र ठूला खेलाडीसँग उनको भेट हुन थाल्यो । ‘उहाँहरूलाई देख्नेबित्तिकै ठूलै ठाउँमा आइपुगेजस्तो लाग्थ्यो’, सुनाउँछन् । त्यसपछि उनी फस्ट ओपन इन्टरनेसनल काठमाडौं म्याराथनमा सहभागी भए, करिब एक सय प्रतिस्पर्धीबीच १८औँ स्थान ल्याए । सबैभन्दा बढी खुसी उनी आफूले म्याराथन दूरी पूरा गरेकोमा भए । ‘यत्रो दूरी पूरा गर्छुजस्तै लागेको थिएन, फिनिसिङ टचसम्म पुग्नुलाई नै ठूलो सफलता सम्झिएँ । आत्मविश्वास बढ्यो ।’ लगत्तै भक्तपुरमा आयोजित क्रसकन्ट्रीमा छैटौँ भए, जसले उनको मनोबल थप बढायो ।
एक दिन कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले सञ्जयसँग भनेछन्, ‘म ०४५ सालमा काठमाडौंदेखि खासासम्म दौडिएको थिएँ । त्यसयता त्यो दूरी कसैले दौडिएका छैनन् । कुनै माइकालालले पनि यो गर्न सक्तैनन् ।’ सञ्जयलाई वैकुण्ठको चुनौतीले निकै छोएछ । भित्रभित्रै प्रण गरे– ‘म गरेर देखाउँछु ।’
अब उनी लामो दूरीको तयारी गर्न थाले । चक्रपथ परिक्रमा गर्न थाले, करिब २७ किलोमिटर दूरी तीन घन्टामा पूरा गरे । भक्तपुरमा बस्थे उनी, दौडिएरै साँगा छिचोल्थे । अनि, ०६५ सालमा उनी पनि हान्निए खासातिर, ११ घन्टामै दूरी पूरा गरे । वैकुण्ठले १४ घन्टा लगाएका थिए । फर्किएपछि उनैले सञ्जयसँग भनेछन्– ‘तिमी दौडमा धेरै राम्रो गर्न सक्छौ, मेहनत गर ।’
वैकुण्ठको सुझावमा उनी एकैछिन घोत्लिए, ‘प्रतियोगितात्मक दूरीभन्दा लामो दूरीमा दौडिएर पनि खेलाडीले नाम कमाएका छन्, परिचय बनाएका छन् र सफल पनि भएका छन् ।’ उनलाई लाग्यो– ‘लङ डिस्टेन्सको दौडमा नाम छ । मानिसहरूले चाँडै चिन्छन् किनभने यो काम गाह्रो हो ।’ उनलाई नाम र इज्जतको गहिरो भोक लागिरहेकै थियो । ट्रयाकबाट मोडिएर सडकमा उत्रिन थाले । त्यसो त रंगशालामा दौडँदा उनलाई धेरैले खिसी गर्थे रे, ‘पाँच/छ घन्टासम्म लगातार दौडन्थँे । मसँग प्रशिक्षक थिएनन् न त सुविधा । जे गर्थें सबै आफ्नै मेहनतमा । खेलाडीहरू मलाई खिसी गर्थे, कसैले पागल पनि भने । तर, म मेरो गन्तव्यप्रति दृढ थिएँ, अझै छु ।’
यसपछि उनले विभिन्न ठाउँमा गरी २,२१० किलोमिटर दूरी पूरा गरेका छन् । र, अहिले राष्ट्रिय स्तरमा चर्चित अल्ट्राधावक (एकपटकमा एक सय किलोमिटरभन्दा धेरै दौडने) का रूपमा स्थापित भइसकेका छन् । ‘रंगशालामा हिजो मलाई हेप्नेहरू अहिले मसँग निहुरिन्छन्’, गर्व गर्छन् उनी ।
परिचयलाई यतिमै सीमित राख्न सञ्जयको मनले मानेन । आफ्नो सपनाको आयतनभित्र यो उपलब्धि निकै कम लागेछ उनलाई । अब उनीभित्र अर्को सपनाले बास गरिसकेको थियो– सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने । अध्ययन गरे– अहिलेसम्म कुनै पनि खेलाडीले सगरमाथा आरोहण गरेका रहेनछन् । प्रेरणा थप बढ्यो । बाटो पहिल्याउन थाले । नेपाल पर्वतारोहण संघले दिने प्रशिक्षणमा पुगे । तर, प्रशिक्षणका लागि नाम निकाल्न सहज थिएन । तीन वर्षको अथक प्रयासपछि १८ दिने बेसिक इन्डक्टरी ट्रेनिङमा बल्ल नाम निकाले । आरोहणसम्बन्धी ज्ञान लिए ।
त्यो सीपलाई उनले सन् २०११ मा आइल्यान्ड पिक चढेर तिखारे । त्यसपछि जन्मथलो प्युठानको स्वर्गद्वारी पुगेर घोषणा गरे– अब सगरमाथा चढ्छु । स्वर्गद्वारी पुगेरै घोषणा गर्नुका पछाडि उनको आफ्नै कारण रहेछ– ‘स्वर्गद्वारी ऐतिहासिक र पर्यटकीय क्षेत्र भएर पनि यसले प्रचार पाउन सकेन । अब यसलाई आफ्नो आरोहणमा सामेल गरेर सगरमाथा चढ्छु ।’ यसैकारण उनको घोषणामा सारा प्युठानबासीले साथ दिए ।
‘आँट्नुपर्छ, सबै हबी पूरा हुन सक्छन्’, समस्याहरू साना लाग्न थाले अब उनलाई । आरोहण सहज पक्कै छैन, खर्चालु पनि उत्तिकै छ । तर, अब आफू आर्थिक कारणले रोकिन्नँ भन्ने आत्मविश्वास उनीभित्र विशाल हुँदै गइरहेको थियो । सन् ०१२ को जुनमा पहिलोचोटि सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, हिमपहिरोका कारण ८६८५ मिटरभन्दा माथि उक्लन सकेनन् । अमिलो मन लिएर फर्किए । ‘पाखुरामा हिउँको टुक्राले लाग्यो । मेरो बाउला नै सोरिएर गयो । प्रकृतिसँग फाइट गर्न सजिलो रहेनछ । जीवन ठूलो कुरा हो, त्यही नै नरहेपछि के गर्न सकिन्छ र † छेउछाउमा चिनियाँ नागरिकको लास पनि देखिरहेको थिएँ’, उनले सम्झिए । आधारशिविरदेखि नै उनको मनले सगरमाथाको चुचुरो देखिरहेको थियो, सँगसँगै त्यसका लागि पार गर्नुपर्ने मृत्युसंघर्षको अनुभूति पनि हुँदै थियो । ‘हिँड्दा निकै गाह्रो भयो, आमालाई सम्झिएँ । भन्नुभएको थियो– पढेलेखेको छस्, जागिर खा बरु, किन यस्तो काम गर्छस् †’ उनी अगाडि त बढे । तर, यसपालि मौसम खुसी नभएकाले बीचैबाट फर्किनुपर्‍यो ।
त्यस बेला उनी असफलता बोकेर फर्किएका थिए । त्यसैले गुमनाम थिए । कहीँकतै केही चर्चा थिएन । ‘सगरमाथाबाट फर्किएपछि मैले यो भनाइको सार राम्ररी बुझेँ– इतिहास जित्नेहरूको मात्रै लेखिन्छ’, सम्झन्छन् । यद्यपि उनलाई आरोहण प्रयासमा सहयोग गर्नेहरूले त्यसपछि पनि हौस्याइरहे– ‘एकपटक असफल हुँदैमा हिम्मत हार्नु हुन्न ।’ यस्तै प्रेरणाको बलमा विश्वको आठौँ अग्लो हिमशिखर मनास्लु चढ्ने निर्णय गरे । ‘किलर माउन्टेन’ का नामले परिचित यो हिमालको उचाइ उनको अधीनमा आयो । यति बेला उनी सगरमाथाबाट फर्किएको दुई महिना मात्रै भएको थियो । मनास्लु चढ्नु केही दिनअघि मात्र त्यहाँ केही आरोहीको निधन भएको थियो । तर, उनी डराएनन् । दृढता सुनाउँछन्– ‘सपना पूरा गर्न संघर्ष पनि नितान्त अनिवार्य छ । संघर्ष र मेहनतविना गन्तव्यसम्म पुगिन्न । अलिकति इख पनि चाहिन्छ, जिन्दगीमा मैले धेरै दु:ख पाएको छु, सम्मानभन्दा बढी अपमान पाएको छु ।’
यसै साता पाटनको एक गल्लीमा उनै धावक सञ्जय फेरि सगरमाथालाई चुनौती दिने योजनासहित भेटिए । ‘मेरो ध्यान कसरी सफल हुनेमा मात्र केन्द्रित छ । जति बेला पनि सगरमाथाको शिखरमा मात्र आफूलाई देख्छु’, साहस अझ बढेको रहेछ । यसपटक उनले पारिवारिक र एकल प्रयासमा आर्थिक संकलन गरेछन् । ‘आइएमई, इन्भेस्टमेन्ट बैंक, कान्तिपुर कलेज, बर्नाड कलेजले सहयोग गरेका छन्’, उनी भन्दै थिए, ‘अन्तिम समयमा केही पैसा नपुगेर आरोहण नै रोकिने हो कि भन्ने तनाबमा थिएँ । अब त्यो टेन्सन हटिसकेको छ ।’ गत मंगलबार उनी लुक्लातर्फ प्रस्थान गरिसकेका छन् । ‘२५ मेसम्ममा समिट पूरा हुन्छ । ७० जनाको आरोहणदलमा तीन जना नेपाली छौँ । करिब डेढ महिनाको तयारीपछि हामी चढ्दै छौँ ।’ सगरमाथाको टुप्पो छुने अनि विश्वका अग्ला सात शिखरको आरोहण गर्ने सपना थपिएका छन् अहिले उनका योजनाभित्र । सुनाउँछन्, ‘प्रकृतिसँग लड्न त सकिन्न । हेरौँ, सक्दो प्रयास गर्नेछु ।’

प्रतिक्रिया