अधिकांश सहकारी निस्क्रिय बन्दै

कालीकोट, २८ चैत । गाउँगाउँमा स्थापना भएका यहाँका अधिकांश सहकारी संस्था निस्क्रिय रहेका छन् । डिभिजन सहकारी कार्यालय जुम्लाका अनुसार प्रभावकारी अनुगमनको संयन्त्र नहुँदा कालीकोटका ग्रामीण इलाकाका सहकारी संस्थाहरू निस्क्रिय बनेका हुन् ।

वर्षको एकपटक मात्र जुम्लाबाट डिभिजन सहकारी कार्यालयको टोलीले अनुगमन तथा व्यवस्थापनका लागि आउँदा तालिम दिने गरेका कारण संस्थाहरूले के गर्ने र कसरी अघि बढ्ने भन्ने स्पष्ट योजनासमेत बनाउन नसकेको नवज्योति बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक कर्णप्रसाद बरालले बताए ।
आफू सहकारीबारे जति नै स्पष्ट भए पनि स्थानीयस्तरमा सदस्यहरूको जीवन व्यवहारमा प्रत्यक्ष प्रभाव नपार्दा सहकारी संस्थाहरूलाई अगाडि बढाउन नसकिएको उनी बताउँछन् । अधिकांश सहकारी संस्थाले अहिलेसम्म पनि आर्थिक वर्ष ०६८/६९ को वार्षिक लेखा परीक्षण तथा साधारणसभासमेत नगरेको पाइएको छ ।
डिभिजन सहकारी कार्यालय जुम्लाका प्रमुख टेकबहादुर बुढाथापाले भौगोलिक विकटताका कारण प्रादेशिक कार्यक्षेत्र कर्णालीका पाँच जिल्ला पारिनु र जनशक्तिको अभावमा अनुगमन तथा नियमन नगर्नुले समस्या आएको बताए । अहिले सहकारी संस्था स्थापनाका लागि जुम्लालाई अनुमति नदिँदा सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यता छ र त्यहाँ जाँदा धेरै खर्च लाग्छ । संस्था दर्ताका लागि सुर्खेतमा पुग्दा झन्डै एक लाख रुपियाँ खर्च भएको सूर्यमुखी कृषि तथा पशुपालन सहकारी संस्थाका उपाध्यक्ष भीमप्रसाद चौलागार्इंले बताए ।
सरकारले ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने नारा दिएर सहकारी सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि अहिले त्यस्ता सहकारी पसल छन् कि छैनन् भन्ने थाहा पाउनसमेत समस्या भएको बताइएको छ । सहकारी संस्थाको उचित व्यवस्थापनको अभावमा जटिलता थपिएको छ । गत वर्षको १५औँ जिल्ला परिषद्ले अनुदान पाएका सहकारी संस्थाहरूको अनुगमन गर्ने निर्णय गरेको एक वर्ष बित्दासमेत अनुगमन नभएको सहकारी संस्थाहरूले बताएका छन् । जिल्ला सहकारी संघ कालीकोटले अनुदान पाएका सहकारी संस्थाहरू सबैले रकम दुरूपयोग
नगरेको जनाएको छ । सदरमुकाममा सञ्चालनमा रहेका सहकारी संस्थाबाहेक ग्रामीण इलाकाका सहकारी संस्थाहरू ज्ञान र सीपको अभावमा निस्क्रिय हुन पुगेको बताइएको छ । बजारमा स्थापना भएका सहकारी संस्थाहरूले नाम पशुपालन राखेर दर्ता गरे पनि काम बचत तथा ऋणको गरिरहेका छन् । उद्देश्यअनुसार काम गर्न नसकेका सहकारी संस्थाहरूलाई डिभिजन सहकारी कार्यालय जुम्लाले तत्काल सुधारका कदम चाल्न अनुरोध गरेको छ ।
जिल्ला सहकारी संघ कालीकोटका कोषाध्यक्ष कालीबहादुर महताराले जिल्लाका विकास निर्माण तथा संस्थासँगको समन्वयमा काम गर्ने निकायको सहकारीप्रति हेर्ने बुझाइ गलत भएका कारण सहकारी व्यवस्थापनमा समस्या आएको बताउनुहुन्छ । कालीकोटमा अहिले एक सय १५ भन्दा बढी सहकारी संस्था स्थापना भएका छन् ।

प्रतिक्रिया