वैशाखमा नेपाल बैंकको हकप्रद सेयर

काठमाडौं : नेपाल बैंकले आफ्नो पुँजी वृद्धि योजना अन्तिम चरणमा पुगेको बताएको छ । काठमाडौं क्षेत्रका शाखा प्रबन्धकको गोष्ठीको समापन कार्यक्रममा बैंक व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले आगामी वैशाखमा हकप्रद सेयर निस्कासन गर्न विवरणपत्र प्रकाशित गर्ने योजना रहेको बताए । बैंक व्यवस्थापनको समयावधी आगामी पुष मसान्तसम्म थप गरिएको छ ।
संयोजक श्रेष्ठले बैंकका प्रत्येक शाखालाई नाफामा लैजान शाखाप्रबन्धकले व्यवसाय विस्तार तथा ग्राहकसेवा गुणस्तरमा सुधार एवं सञ्चालन तथा व्यावसायिक जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने बताए । संस्थागत सुशासन राम्रो भएमा मात्रै व्यावसायिक संस्थाको शाख वृद्धि हुने बताउँदै बैंकलाई सबै वर्गका सेवाग्राहिहरूको पहिलो रोजाइको बैंक बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापकीय सुधार गर्न बैंक व्यवस्थापन प्रतिबद्ध रहेको बताए ।
बंैकले आफ्ना शाखा प्रबन्धकको सहभागितामा रणनीति योजना तथा बजेट तर्जुमासम्बन्धी क्षेत्रीय गोष्ठी सम्पन्न गरेको छ । क्षेत्रगत रूपमा पश्चिमाञ्चल, मध्य तथा सुदूरपश्चिमाञ्चल, पूर्वाञ्चल तथा मध्यमाञ्चल क्षेत्रका शाखा प्रबन्धकहरूसँग बैंकको रणनीति योजना र चालु आर्थिक वर्षको बजेट समीक्षा तथा आव ०७०/७१ बजेट तर्जुमासम्बन्धी गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा महाप्रबन्धक किरणकुमार श्रेष्ठले समयको परिवर्तन संँगसँगै सूचना प्रविधिमा भएको विकास र बैंकमा भइरहेको व्यवस्थापकीय सुधारका कारण शाखाहरूको समस्या तथा सवालहरू पनि परिवर्तन हुँदै गइरहेको बताए । महाप्रबन्धक श्रेष्ठले कर्मचारी व्यवस्थापन, पुँजी योजनाको सफल कार्यान्वयन, नयाँ अन्तर्राष्ट्रिय बैंकिङ सफ्टवयरको खरिद तथा सफल कार्यान्वयन नै बैंकको प्रमुख चुनौतीका रूपमा रहेकोले यी चुनौति तथा सवालहरूलाई सम्बोधन गर्न व्यवस्थापनले सरोकारवालहरूको सहभागितामा पाँचवर्षे रणनीति योजना तयार गरी कार्यान्वयनको क्रममा जानकारी दिए ।

प्रतिक्रिया