सफलताको बेलीविस्तार

rajkumar-baral_505x600विनोद चौधरीको आत्मकथा ‘विनोद चौधरी’ सफलताको अभिलेखका रूपमा बजारमा आएको छ । यस कृतिमा ताज होटल छिर्न नपाएको विनोददेखि ताजकै हिस्सेदार बनेको विनोदको कथा समेटिएको छ । सडकपेटीदेखि स्विटरुमसम्मको कथा पनि हो यो कृति । त्यसो त ‘मुनीम’ शैलीको व्यवस्थापनबाट कपोरेट संस्कार हुँदै बहुराष्ट्रिय कम्पनी स्थापनाको बेलीविस्तार पनि हो । भुरामल लुनकरणदास चौधरी ब्यानरबाट चौधरी गु्रप स्थापना र विस्तारलाई समेटिएको छ यस कृतिमा ।
BC_3D_bookअसफलतालाई सफलतातर्फ बढ्ने मार्गनिर्देश र ‘उच्च इच्छाशक्ति’लाई सफलताको कडी ठान्ने चौधरी आफूलाई सफल उद्यमीका रूपमा उभ्याउन पाएकोमा हर्षित देखिन्छन् । कृतिमा उनले व्यवसायलाई गल्फ खेलको रणनीतिसाग तुलना गरेका छन् । स्टीभ फिजराल्डको व्यावसायिक गुरुमन्त्रबाट प्रभावित उनी ‘क्षमता भनेको त आवश्यकताअनुसार तिखार्दै लग्ने कुरा हो’ (पृ. २९) भन्छन् ।
१९ औँ शताब्दीमा भारतको राजस्थानबाट फैलिएको मारवाडी समुदायमध्ये चार परिवारलाई वीर शमशेरले ‘निस्सापत्र’ पठाएर नेपालमा व्यापार गर्न निम्तो दिएका थिए । वि.सं. १९९० को भुइँचालो उनीहरूका लागि जग बसाल्न सहयोगी बनेको कृतिमा उल्लेख छ । पृष्ठ २५ मा लेखिएको छ, ‘जुन भुइँचालोले साह्रा देश हल्लाइदियो, त्यसैले चौधरी गु्रपको जग राख्यो ।’
उनी सरकारप्रति निक्कै आक्रामक देखिएका छन् । बाग्मती फोहोर भएर आमाको आत्मालाई गंगाजल अर्पण गर्न नपाउँदा उनी भक्कानिएका छन् । प्रधानमन्त्रीलाई खुला पत्र लेखेर अनुरोध गरेका छन्–‘कुनै अर्को पुत्रलाई आफ्नी जननीको अन्तिम संस्कार गर्न जाँदा मजस्तै पीडा महसुस गर्न नपरोस्’ (पृ. ७०) । त्यस्तै ऊर्जाको चरम संकट हुँदा पनि सरकारले प्रोत्साहनको सट्टा ‘कृत्रिम अप्ठेरा सिर्जना गरी लगानीकर्तालाई हर किसिमले हतोत्साही गर्ने क्रम’ (पृ. २०३) प्रति उनी रुष्ट देखिन्छन् ।
विदेशबाट आउने उपहारमा भन्सार नलाग्ने परिप्रेक्षमा विभिन्न कम्पनीका नाममा हजारौँ पार्सल आउँथे । व्यापारीलाई माल ल्याउन जहाजमा ठाउँ हुन्थेन । उनी लेख्छन् ‘दबाई दुइटा थिए— कि चाकडी गरेर खुसी पार्नुपर्‍र्यो, नमाने घुस खुवाएर रिझाउनुपर्‍र्यो’ (पृ. ३७) ।
केही कुरा गुमेपछि चित्त बुझाउने चौधरीको तरिका गजब छ । त्यसैले होला उनी असफलतालाई पनि सफलताको सिाढी मान्छन् । ०५६ को आमचनावपछि एमालेले उनलाई माथिल्लो सदनमा प्रतिनिधित्व गराउन गरेको प्रयासका सन्दर्भमा उनी लेख्छन्, ‘त्यतिखेरै राजनीतिमा सक्रिय भएर लागेको भए, चौधरी गु्रपको अन्तराष्ट्रिय विस्तारमा धेरै काम सायद अधुरै रहने थिए’ (पृ. १७९) । ०५२ मा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको चुनावमा पद्म ज्योतिसँगको हारलाई जितको अर्को ढोका खोलिएको उनको बुझाइ छ । ‘त्योबेला चुनाव नहारेको भए, सायद म अझैँ महासंघको राजनीतिमा अल्झिएर बसेको हुन्थे । वा, आन्तरिक उद्योग धन्दामा सीमित रहन्थे’ (पृ. २४२–४३) ।
यस कृतिमा केही तर्क विरोधाभाषपूर्ण देखिन्छन् । उनको विवाहको प्रसंगमा ‘म ईश्वरीय चमत्कारमा विश्वास राख्ने मान्छे त होइन’ (पृ. ५५) भनेका छन् तर उनको यो तर्कलाई बुबाको जिव्रोको क्यान्सर साइबाबालाई भेटेपछि निको भयो भन्ने तर्कले काटेको छ । ‘राजनीतिमा जे पनि चल्दोरहेछ’ (पृ. १७७) भन्ने उनी आफू पनि राजनीतिको मैदानमा होमिनुले उनको राजनीतिप्रतिको दृष्टिकोण अस्पष्ट देखिन्छ ।
केही अभिव्यक्ति कृतिमा उल्लेख नगरेको भए राम्रो हुने थियो । पृष्ठ २२ मा लेखिएको छ, ‘त्यतिखेर हाम्रो स्थायी पसल थिएन । दोकान बोकेर हिड्ने–जहाँ ग्राहक भेटियो, त्यही पसल थाप्ने । अहिले बजारमा बग्रेल्ती भेटिने डुलुवा व्यापारीजस्तो ।’ त्यस्तै पृष्ठ ३१४ मा छ, ‘ठूलो स्तरमा कारोवार फैलाउाछु अद्योगिक समूह स्थापित गर्छु वा अन्तराष्ट्रिय स्तरको प्रतिष्ठान वनाउँछु भन्ने लक्ष्य नलिने हो भने विजिनेसमा हात नहाले हुन्छ ।’ ‘बग्रेल्ती भेटिने डुलुवा व्यापारी’ भनेर त्यस्ता व्यापारीको पेसालाई अपमान गर्न खोजेजस्तो र साना तथा मझौला व्यापारीलाई लघुताभाषको महसुुस गराउन सक्छ ।

प्रतिक्रिया