पूर्वाधार विकासमा चिनको सहयोग

काठमाडौं, २३ चैत । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले पूर्वाधार विकासमा सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।

उनले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थल, तातोपानीमा सुख्खा बन्दरगाह, रसुवाको केरुङमा सुख्खा बन्दरगाह र काठमाडौंमा चक्रपथ निर्माण लगायतका महत्त्वपूर्ण पूर्वाधारमा चीन सहयोग गर्न तयार रहेको स्पस्ट पारे ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले सो कुरा बताएका हुन् । सो अवसरमा राजदूत बुले व्यापार प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा चीनले सहयोग गर्नेमा जोड दिए ।
‘पछिल्लो ३० वर्षमा चीनको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ’ उनले भने, ‘अहिले चीन अमेरिका पछि विश्वमा नै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यो सबै नेपाललगायत मुलुकको सहयोगमा सम्भव भएको हो ।’
नेपालले चीनसँगको व्यापार घाटालाई प्रमुख रूपमा लिनुपर्ने सुझाव पनि उनले दिए । चीनले व्यापार विस्तारका लागि भंसाररहित सुविधामा नेपाली बस्तुको निर्यात खुला गरेको स्मरण गराए । नेपालको व्यापार प्रवद्र्धनमा संघले पुर्‍याएको योगदानको पनि उनले प्रसंसा गरे ।
संघका अध्यक्ष नीलकण्ठ चौलागार्इंले नेपालको व्यापार घाटा कम गर्न नेपालस्थित चिनियाँ दूतावासले सहयोग गर्नुपर्ने आग्रह गरे । उनले विगत लामो समयदेखि चिनियाँ दूतावाससँग सहकार्य गरेर नेपाली व्यवसायी अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा त्यसका लागि तयार रहेको जानकारी दिए ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष केशवबहादुर रायमाझी, उपाध्यक्ष कुमार कार्की, महासचिव ओमप्रसाद उप्रेती, वरिष्ठ सचिव भीमलाल पौड्याललगायत पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया