प्रसूतिमा टेस्टट्युब बेबी पुन: सुरु गर्न मन्त्रीको निर्देशन

काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एकपटक सञ्चालनमा आएर असफल भएपछि थन्क्याइएको टेस्टट्युब बेबी
(आइभिएफ) प्रविधिलाई पुन: सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले निर्देशन दिएका छन् ।
बुधबार अस्पतालको आकस्मिक निरीक्षणमा गएका मन्त्री मल्लिकले सो सेवा सकेसम्म छिटो पुन: सञ्चालन गर्न अस्पताललाई निर्देशन दिएका हुन् । अस्पताल निरीक्षणका क्रममा उनले टेस्टट्युब बेबी जन्माउने प्रविधि सञ्चालनमा ढिलाइ हुनुको कारण, यसअघि सञ्चालनमा असफल हुनुको कारण र अब गर्न सकिने कामबारे लिखित रूपमा मन्त्रालयलाई जानकारी गराउनसमेत अस्पताललाई निर्देशन दिए ।
‘यो सेवा सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सहयोग गर्नेछ,’ मन्त्री मल्लिकले भने, ‘यसका लागि अस्पतालले मन्त्रालयलमा आर्थिक, प्राविधक र अन्य सहयोग के गर्नुपर्ने हो स्पष्ट रूपमा लेखेर जानकारी गराउनुपर्‍यो ।’ उनले निजी अस्पतालको तुलनामा निकै सस्तोमा टेस्टट्युब बेबी जन्माउने प्रसूतिको सेवालाई नेपालकै राम्रो सेवा बनाउन मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।
अस्पतालले झलनाथ खनाल प्रधानमन्त्री भएको समयमा टेस्टट्युब बेबी सेवाको औपचारिक सुरुवात गरेको थियो । तर, सोही वर्ष संकलन गरिएका सातवटा नमुनामा सबै फेल भएपछि दुई वर्षदेखि सेवा ठप्प भएको छ । अनुगमनका क्रममा मन्त्री मल्लिकले अस्पतालमा केही समयअगाडि भएको संक्रमणका विषयमा, अस्पतालको आकस्मिक सेवा, फोहोर–मैला व्यवस्थापन, नि:शुल्क प्रसूति सेवा, अस्पताल र कर्मचारीका समस्यालगायत विषयमा जानकारी लिएका थिए ।
यसैगरी, मन्त्री मल्लिकले बुधबार नै बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रको समेत आकस्मिक निरीक्षण गरेका थिए । निरीक्षका क्रममा मन्त्री मल्लिकले अस्पतालमा मुटुरोगको समस्या लिएर आउने बिरामीले पाइरहेका सेवा, अस्पतालका समस्या, डाक्टर तथा अन्य कर्मचारीको सेवा–सुविधा र दरबन्दीको अवस्था, अस्पतालले विस्तार गर्न लागेको सेवाका विषयमा जानकारी लिएका थिए । (सौस)

प्रतिक्रिया