अब कम्प्युटराइज टीओडी मिटर

काठमाडौं, २० चैत । नेपाल विद्युत् प्राधिकरणको नियमावलीमा प्रत्येक ३/३ महिनामा टिओडी मिटर परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्थालाई निरन्तरता दिने भएको छ । १० वर्षसम्म पनि टिओडी मिटर परीक्षण नभएको अवस्थामा कम्प्युटराइज प्रविधिमार्फत परीक्षणका लागि प्राधिकरण तातेको हो ।

समयमै टिओडी मिटर परीक्षण नभएको कारण प्राधिकरणले करोडौँ रुपियाँ घाटा बेहोर्नुपरिरहेको पत्ता लागेपछि प्राधिकरण नयाँ प्रविधिमार्फत परीक्षण गर्नका लागि तातेको हो । टिओडी मिटर परीक्षण नगर्दा आर्थिक अनियमितता गर्न पाइने कारण प्राधिकरणले बेवास्ता गरिरहेको आरोप लगाइरहेको बेला देशभर सबै क्षेत्रमा टिओडी मिटर डाउनलोड प्रविधिमार्फत परीक्षणको व्यवस्थाका लागि प्राधिकरण सक्रिय भएको हो ।
‘३/३ महिनामा टिओडी मिटर परीक्षण गर्नुपर्ने व्यवस्था छ, त्यसका लागि आवश्यक जनशक्ति थिएन, अब कम्प्युटराइज प्रविधिमार्फत गर्न लागेका छौँ, यसका लागि तालिम भइरहेको छ’ प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने, ‘कम्प्युटराइज प्रविधिबाट परीक्षण गर्ने व्यवस्थापनका लागि यो तालिम दिएपछि अब कसैले बदमासी गर्न सक्दैन, गरे पनि तुरुन्तै थाहा हुन्छ ।’ पहिला समयमै मिटर परीक्षण नगर्दा बर्साैसम्म चुहावट भएको पत्ता नलागेको कारण अब भने प्राधिकरणले कम्प्युटराइजमार्फत टिओडी मिटर डाउनलोड प्रविधि राख्न लागेको हो । हालै टिओडी मिटरको रिडिङ समयमा नगर्दा शिक्षण अस्पतालको ८३ लाख रुपियाँ विद्युत् महसुल छुट भएको पत्ता लागेको थियो ।
प्रविधिबारे पहिलो चरणमा ग्राहक तथा वितरण शाखा पूर्व अन्तर्गतका औद्योगिक क्षेत्रका प्राधिकरणका १६ इन्जिनियरहरुलाई ६ दिने तालिम दिइएको प्राधिकरण तालिम केन्द्रका प्रमुख गोविन्दराज खरेलले जानकारी दिए । उनका अनुसार, विराटनगर, नेपालगञ्ज, पोखरा, हेटौंडालगायतका क्षेत्रमा समेत क्रमश: तालिम दिइन लागिएको छ । ‘टिओडी मिटर भएका क्षेत्रमा प्रविधिबारे तालिम दिनु अनिवार्य र अपरिहार्य भएकोले तालिम दिन लागेको हौँ’ उनले भने । ५० केभीभन्दा माथि विद्युत् खपत गर्ने उद्योग व्यवसायमा टिओडी मिटर दिइन्छ । प्राधिकरणका अनुसार, नेपालमा करिब ४ हजार उद्योग, व्यवसायले टिओडी मिटर लिएका छन् ।

प्रतिक्रिया