प्राधिकरणद्वारा विद्युत् विकास विभागलाई अटेर

काठमाडौं, २० चैत । नेपाल विद्युत् प्राधिकरणले विद्युत् विकास विभागलाई समयमै तीन आयोजनाको दस्तुर नतिरेर अटेर गरेको छ ।

अध्ययन गरिरहेका आयोजनाको विभागले अनुमतिपत्र नदिएको आरोप लगाइरहेको प्राधिकरणले तोकिएको दस्तुर नतिरेर र पठाएको पत्रसमेत बेवास्ता गरेर विभागले अटेर गरेको हो । विभाग र प्राधिकरण दुवै ऊर्जा मन्त्रालयअन्तर्गतका निकाय हुन् ।
प्राधिकरणले १५ चैतभित्रै आयोजनाको वृद्धि दस्तुर ६ सय ६० मेगावाटको कालीगण्डकी दोस्रोको १ करोड २० लाख, ३ सय मेगावाटको उत्तरगंगा आयोजनाको १ करोड तथा १ सय ८० मेगावाटको आँधीखोलाको एक करोड रुपियाँ दस्तुर बुझाउनुपर्नेमा पुरानै दस्तुर मात्र बुझाएको विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्थले जानकारी दिए । उनका अनुसार पुरानो दस्तुरबापतको ३० लाख रुपियाँ भने दिइसकेको छ । आँधी खोला आयोजनाबारे पत्र नै लेखेर र अन्य आयोजनालाई समेत ३५ दिनभित्र वृद्धि दस्तुर बुझाउन भनिएको र त्यो म्याद १५ चैत्रमा सकिएको छ । पुरानो दस्तुर र प्रगति प्रतिवेदन बुझाएको प्राधिकरणले बढेको दस्तुर नतिरेकाले कारबाही प्रक्रियाबारे छलफल भइरहेको विभागले जनाएको छ । प्राधिकरणले भने आँधीखोलाको पत्र पाएर वृद्धि दस्तुर तिर्ने प्रक्रिया अघि बढेको र अन्य आयोजनाबारे बढेको दस्तुर तिर्न कुनै पत्र नआएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । विभागका अधिकारीले भने पटकपटक प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई भनेको र उनले तुरुन्तै गर्ने भए पनि अहिलेसम्म अटेर गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया