हीराखानी बन्यो भूतबस्ती

Houseकुनै समय जर्मनीका कामदारहरूले नामिबियाको निम्ब मरुभूमिअन्तर्गतको कोल्मान्स्कोप क्षेत्रलाई गुल्जारमय बनाएका थिए । खनिज उद्योगमा काम गर्न आएका उनीहरूले बस्नका लागि आकर्षक घर र मन बहलाउनका लागि सुन्दर बगैँचासमेत तयार गरेका थिए । कोल्मान्स्कोप पुग्नेलाई कसैले यसको सुन्दर अतीतको कथा सुनायो भने पत्यार नलाग्न सक्छ ।
सयौँ जर्मन कामदार बसोबास गर्ने यो ठाउँ अहिले निर्जन छ, एकलास । बाँकी संसारबाट बिलकुल अलग । हिजो फूल फुल्ने ठाउँमा एकाध क्याक्टसका बोट होलान् । त्यहाँका घरमा अहिले मान्छे बस्दैनन्, बालुवाले घरभित्रै कब्जा जमाएका छन् ।
करिब असी वर्षअघि यहाँ मानवबस्ती थियो । जर्मन कामदारलाई मरुभूमिमा बस्ती निर्माण गरेर अन्त्यमा त्याग्न करिब चालीस वर्ष लाग्यो । त्यसयताका चार दशकमा बालुवा र क्याक्टसले यो ठाउँमा एकछत्र राज गरिरहेका छन् ।
हावाहुन्डरीका कारण यहाँका अधिकांश घर जीर्ण बनेका छन्, कति भत्किसकेका छन् । सयौँ मानिस बस्ने यहाँका घरमा अहिले पनि हजारौँ मानिस छिर्छन् तर बस्न नभई फोटो खिच्नका लागि मात्र ।
डी बिर्स नामक खनिज उद्योगमा काम गर्ने कामदारले बसाएको बस्ती संरक्षणको जिम्मा पनि यही कम्पनीले लिएको छ । सन् १९८० मा यो परित्यक्त क्षेत्रको संरक्षण तथा संवद्र्धनका लागि कम्पनीले यसलाई संग्रहालयका रूपमा विकास नगराएको भए यो ठाउँ उहिल्यै बिलाइसक्ने थियो होला †
भत्किएका कतिपय घर पुनर्निर्माण गरिएका छन् । भ्रमण गर्न आएका पर्यटकले फोटो खिचेर केही बेरका लागि तिनै घरमा थकाइ मेट्ने गरेका छन् ।
पहिलेपहिले यहाँका बालुवामा हीरा पाइने गथ्र्यो । यसबाट लोभिएर जर्मनीको खनिज कम्पनीले यहाँ उद्योग स्थापना गरेको थियो । सन् १९०८ मा त्यहाँ रेलमार्ग बिस्तार गर्ने क्रममा एक मजदुरले अनौठो चिज फेला पारे । फेला परेको वस्तु हीरा हो भन्ने पुष्टि भयो । त्यसपछि जर्मनबाट मानिस त्यहाँ ओइरिन थालेका थिए । केही वर्षमै त्यहाँ जर्मन नागरिकले सुविधासम्पन्न बस्ती बसाले । सन् १९२० मा जर्मनीका तीन सय वयस्क, ४० बालबालिका र आठ सय रैथाने यहाँ बसोबास गर्न थाले । अस्पताल, विद्युत् व्यवस्था, विद्यालय, बरफ उद्योग आदि स्थापना भए । यहाँका अस्पतालमा त्यतिबेलै एक्स–रे मेसिन जडान गरिएको थियो । पृथ्वीको दक्षिणी गोलाद्र्धमा जडान गरिएको यो पहिलो एक्स–रे मेसिन थियो ।
दोस्रो विश्वयुद्धपछि यो ठाउँका दुर्दिन सुरु भएका हुन् । युद्धपछि हीराको भाउ घट्यो । उन्नत खालका हीरा सबै समाप्त भएपछि सबैले यो ठाउँ छोडे । अहिले भूतका र थ्रिलर फिल्म छायांकन गर्न मात्र यो ठाउँ प्रयोग गर्न थालिएको छ । दक्षिण अफ्रिकी टेलिभिजन च्यानलले पनि यहाँ विभिन्न सिरियल छायांकन गर्ने गरेका छन् । ‘द किङ इज एलाइभ’ नामक हिट फिल्म पनि यहीँ छायांकन गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया